हालसम्मका सबै रेकर्ड तोड्दै शुक्रबार एकै दिन २,७२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो विवरणसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ८२,४५० पुगेको छ । यीमध्ये ५२० जनाको मृत्यु भैसकेको छ भने ६०,६९६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २१,२३४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १,२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ गरी १,६३८ सहित देशभर २,७२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १४,७३९ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमितको पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका थप ११ जनाको मृत्यु भएको छ भने ३,३०७ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यतिबेला कायम सक्रिय संक्रमितमध्ये ९,४७४ जना संस्थागत आइसोलेसनमा र ११,७६० जना होम आइसोलेसनमा रहेका छन् । यीमध्ये २१० जना आईसीयूमा र २९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।