newskoseli.Com

काठमाडौंमा पत्याउन छाडेपछि ‘सरकार ढल्दैन’ भन्दै गाउँतिर लागे प्रधानमन्त्री

आम चुनावअघि दुई ठूला ‘कम्युनिस्ट’ घटकबीच मोर्चाबन्दी हुँदा, त्यसपछि पार्टी एकताको चर्चा चल्दा र झन्डै दुईतिहाइ नजिकको चुनावी नतिजासहित ‘कम्युनिस्ट’ सरकार र ‘विकास तथा समृद्धि’ को कोकोहोलो मच्चाइँदा सत्ताधारी पार्टीका मतदाता, समर्थक, शुभचिन्तक, कार्यकर्ता र नेताले पत्याए । आम जनता र भिन्न राजनीतिक दलप्रति आस्थावानहरूले रौंजत्ति पनि आशा, भरोसा र विश्वास नगरे तापनि दोस्रो पटक सत्ताको नेतृत्वमा उक्लिएका खड्ग ओलीको सुरूआती शासनकाललाई ‘रामराज्य’ कै शैलीमा भजन–कीर्तन गराइयो ।

खड्ग ओलीको ढोंग, स्वाङ र नक्कली राष्ट्रवादको भजन–कीर्तनमा जनताको रगत–पसिना शोषेर बटुलिएको अर्बौंको राज्यकोष दोहन गरियो, उडाइयो । तर, हावा भरिएको बेलुन बिस्तारै खुम्चिँदै गए झैं क्रमशः ‘ओलीभ्रम’ उदांगिँदै गयो । यतिबेला भने खड्ग ओलीले बौद्धिक, शिक्षित र राजनीतिक चेतनाले ओतप्रोत नेता–कार्यकर्ता र जनसाधारणका अगाडि उभिएर ‘राष्ट्रवाद’, ‘विकास’, ‘समृद्धि’, ‘सुशासन’ र ‘सरकारको सफलता’ जस्ता कुरा बोल्न थाल्दा दुनियाँ हाँस्छ र सुन्ने धैर्यता समेत गुमाउँछ ।

जनमत र राज्यले सुम्पेको दायित्वप्रति गम्भीर घात गरिसकेका खड्ग ओली यतिबेला राजधानी बाहिरका ग्रामीण भेगमा आफ्नाे भाषण सुन्ने ‘अडियन्स’ खोज्दै भौंतारिन थालेका छन् । सामन्ती दम्भ र अहंकारले भरिएका ओलीलाई यो थाहा छैन कि उनले ठानेका राजधानीका ‘बौद्धिक’ भन्दा ग्रामीण भेगका जनता समय, समाज र राजनीतिप्रति झन् बढी सचेत र जानकार मात्र होइन, विज्ञ नै छन् ।

यसै मेसोमा सोमबार ताप्लेजुङ पुगेर प्रधानमन्त्री ओलीले देशलाई गलत बाटोमा जान नदिने ‘प्रतिबद्धता’ जनाए । आफूमाथि आइलागेको वर्तमानको संकटपूर्ण घडीमा प्रधानमन्त्री ओलीले विभिन्न ‘कदम’ चाल्न सक्ने अड्कलबाजी भइरहेको समयमा ‘मुलुकलाई सही ट्र्याकमा हिँडाउने’ उल्लेख गर्दै कुनै प्रकारका भ्रमको पछि नलाग्न समेत उनले आग्रह गरे ।

फक्ताङलुङ गाउँपालिका– ६, लेलेपको घुन्सामा स्थानीयलाई सम्बोधन गर्दै सरकारले गाउँदेखि सहरसम्मै ‘विकासको मूल फुटाउने’ दाबी प्रधानमन्त्री ओलीले गरे । सरकारको राम्रो काम देखेर केही पक्ष अत्तालिए पनि सरकार विचलित नभई मुलुकको प्रगति र समृद्धिमा अघि बढ्ने जिकिर उनले गरे ।

कहिले पार्टी अध्यक्षविरुद्ध र कहिले प्रधानमन्त्रीविरुद्ध सरकार ढलिहाल्छ भन्ने प्रचार गराएर मुलुकमा अस्थिरता सिर्जना गर्न खोजिएको भन्दै त्यस्ता प्रचारविरुद्ध सचेत रहन प्रम ओलीले आग्रह गरे । देशमा स्थिरता आउने भएर केही तत्त्वहरू आत्तिएको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार नढल्ने र गुमेका भूमि फिर्ता लिइने समेत दावी गरे । लिम्पियाधुरा, लिपुलेकजस्ता जमिन यो सरकारले फिर्ता ल्याउँछ र लोकप्रियता बढ्छ भनेर केही मानिस आत्तिएको बताउँदै देशलाई गलत बाटोमा जान नदिने र गुमेको भूमि फिर्ता गराएरै छाड्ने प्रतिबद्धता ओलीले जनाए ।

प्रधानमन्त्री ओलीले घुन्सा फाउन्डेसन भवनको उद्घाटन गरे; प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा (ज्याकेट) वितरण गरिन् र घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ प्रदान गर्दै प्रत्येक वर्ष १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अनुरोध गरिन् ।

स्थानीयवासीले राखेका सबै माग सरकारले पूरा गर्ने आश्वासन पनि प्रधानमन्त्री ओलीले दिए । उनले गलैंचा बुनाइको अवलोकन समेत गरे । भ्रमणमा ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्बाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईलगायत पनि सहभागी भएको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर