newskoseli.Com

प्रधानमन्त्री बन्ने ‘मौका’ पाउँदा किन डराउँदैछन् देउवा ? यस्तो छ भित्री कारण…

पाँच वर्ष पनि कुर्नै नपरीकन घुमिफिरी हातमा सत्ता आउन लाग्दा नेपाली कांग्रेस खड्ग ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ तर उसलाई डर छ, जनता समाजवादी पार्टीभित्रको पूर्व ‘मधेसवादी’ समूहसँग । कारण हो, ०५३ सालको झस्काइ । त्यसबेला ‘मधेसवादी’ नेताबाट जसरी एमालेले धोका खायो, त्यो धोका अहिले आफूमा आउला भन्ने चिन्ता छ कांग्रेसलाई ।

०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला प्रतिनिधिसभा विघटन गरी मध्यावधि सिफारिस भयो । भदौ १२ मा सर्वोच्चले प्रतिनिधिसभा ब्युँताइदिएपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । उक्त सरकार ढाल्नका लागि एमालेले पहिलोचोटि सद्भावना पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव लग्यो ।

त्यसबेला एमालेसँग रहेका केही सांसदका कारण प्रस्ताव पारित हुने निश्चित थियो । तर, सभापति गजेन्द्रनारायण सिंहले अन्तिममा आएर आफैंले ‘यसमा हाम्रो समर्थन छैन’ भनिदिए, एमाले र राप्रपाहरु हेरेका हेर्यै भए । धन्न अहिलेजस्तो, एकचोटि अविश्वासको प्रस्ताव दर्ता भएपछि एक वर्षसम्म अर्को प्रस्ताव दर्ता नहुने प्रावधान त्यसबेला थिएन ।

र, गजेन्द्रनारायणको धोकापछि राप्रपाको एउटा खेमालाई मनाएर एमालेले अविश्वासको प्रस्ताव पारित गरायो र ०५३ मै लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । अहिले कांग्रेसको झस्काइसँग त्यही घटना जोडिएको छ । कांग्रेसको बैठकमा यस्तो इतिहास सम्झने व्यक्ति हुन्, सभापति निकट रमेश लेखक ।

नेपालको समकालीन राजनीतिलाई सतही रुपमा बुझ्नेलाई लाग्छ– ओलीले भारतलाई यत्रो गाली गरे, त्यसकारण शेरबहादुर देउवाका लागि यो ‘मौका’ हो । तर, राजनीति बुझ्नेहरु भन्छन्– ‘यो बचकना सोचाइ मात्र हो ।’ किनभने, भारतको पहिलो उद्देश्य नेकपालाई क्षतविक्षत बनाउनु थियो, बन्यो । माओवादी फुटाउने प्रपञ्च पनि सफल भयो ।

अब एमालेको फुटलाई अझै संस्थागत गर्दै जाने कुरा स्वाभाविक तवरले भइरहेकै छ । यसका लागि पनि अहिले ओलीलाई भरथेग गर्नु नै भारतका निम्ति श्रेयष्कर हुन्छ । यही आधारमा शेरबहादुरले बुझेका छन्– ‘म पहिलो प्राथमिकता होइन ।’ वर्तमानको सत्ता छिनाझपटीको अन्तर्कथासम्बन्धी यो खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर