राजकीय सत्तामा खड्ग ओलीले मच्चाएका अराजकता र अत्याचार एवं संविधाान, कानुन, विधि–पद्धति तथा परम्परा र अभ्यासको बारम्बार गम्भीर उल्लंघन गर्दै ती सबैको हुर्मत लिने शैलीलाई ‘लाहाछाप’ लगाइदिएर रक्षाकवज बन्न पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीभित्र समेत ओलीले विघटित नेकपा र वर्तमान एमालेमा अँगालेकै शैली अँगाल्न थालेका छन् ।
पार्टीभित्र आफू अल्पमतमा परिसकेपछि आफ्ना मनलाग्दी र छाडा गतिविधिप्रति असहमति राख्ने र विरोध गर्नेहरुलाई संविधान, कानुन र पार्टीको विधानले कहीं–कतै नदिएका ‘अधिकार’ प्रयोग गरेर पार्टीबाटै हटाइदिने अनि आफ्नो खल्तीबाट मनपरी ढंगले मान्छे भर्ती गर्ने जुन शैली ओलीले अपनाउँदै आएका छन्, जसपा अध्यक्ष ठाकुरले पनि ठ्याक्कै त्यही सिको गरिरहेका छन् । निर्वाचन आयोगमा रेकर्ड रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको ठूलो बहुमत उपेन्द्र यादवको पक्षमा गएपछि ठाकुरले हास्यास्पद ढंगबाट २० जना सिनियर नेताहरूलाई पार्टीबाट हटाएको भन्दै खल्तीका २० जना मान्छेलाई नियुक्त गरेको दावी गरेका छन् ।
अर्का अध्यक्ष उपेन्द्र यादवलाई यसअघि नै पार्टीबाट हटाइसकेका अध्यक्ष ठाकुरले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता आफ्नो पक्षमा पार्ने प्रयासस्वरूप हालै मात्र महेन्द्र राय यादव, मृगेन्द्रकुमारसिंह यादव, नवलकिशोर साह, रामनरेश राय यादव, रमेशप्रसाद यादव, गज्जाधर रोहित यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, गंगानारायण श्रेष्ठ, रनध्वज लिम्बू, डम्बर खतिवडा, प्रकाश अधिकारी, इस्तियाक राई, प्रशान्त सिंह, भक्तबहादुर शाह र विजय यादवलाई पार्टीबाट हटाइएको दावी गरेका छन् ।
५१ सदस्यीय कार्यकारिणी समितिबाट ठाकुरले हटाएका २० जनामध्ये पूर्वराजपाका ६ जना छन् भने पूर्वसमाजवादीका १४ जना छन् । स्मरणीय छ कि निर्वाचन आयोगले यसअघि नै कुनै एकजना मात्र अध्यक्षको हस्ताक्षरबाट कसैलाई हटाउन वा थप्न नमिल्ने निर्णय गरी दुवै पक्षलाई पत्र थमाइसकेको छ ।
निर्वाचन आयोगबाटै त्यस्तो निर्णय भइसकेकाले आगोगको रेकर्डमा रहेका २०–२० जनालाई हटाएको र विवाद दर्ज भइसकेपछि त्यत्रो संख्यामा नयाँ मान्छे थपेर दिइएको जानकारीलाई आयोगले ‘नोटिस’ मा लिने र सुनुवाइ गर्ने कुराको कल्पनासम्म पनि कसैले गर्न सकिरहेका छैनन् ।