newskoseli.Com

ओलीले ‘ढोका बन्द’ गरिदिएपछि के गर्दैछन् माधव नेपाल ? (भिडियाेसहित)

एमाले अध्यक्ष खड्ग ओलीले पार्टीभित्र भिन्न मत राख्ने आफ्नै समूहभन्दा ठूलो शक्ति र जनसमर्थन रहेको माधव नेपाल पक्षसँग एकताका सबै सम्भावनाको अन्त्य गर्दै ‘ढोका बन्द’ गरिदिएका छन् । सोमबार आफ्नो समूहको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राख्दै अध्यक्षलाई ‘एकल तानाशाह’ बनाउने गरी विधान संशोधन गर्ने प्रस्तावसहित विधान अधिवेशन र पार्टी महाधिवेशनको कार्यसूची एकलौटी ढंगले अघि बढाउने ओली समूहले निर्णय गरेसँगै खनाल–नेपाल पक्षसँग एकताको ‘ढोका बन्द’ भएको हो ।

ओली समूह त्यसरी अघि बढ्न थालेपछि वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसै सिलसिलामा नेपालले सोमबार बेलुकीदेखि नै आफूपक्षीय स्थायी कमिटीका सदस्य र केन्द्रीय सदस्यहरुसँग निरन्तरजसो एक्लाएक्लै छलफल गरिरहेका छन् । आफ्नो समूहको केन्द्रीय कमिटीको बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेबारे एकमतले नभई भिन्न–भिन्न किसिमले मिश्रित सुझाव पाएपछि वरिष्ठ नेता नेपाल अझै केही दिन ‘पर्ख र हेर’ को अवस्थामा रहेका थिए । तर, ओली समूहले ‘पेलेरै जाने’ नीति अख्तियार गरेपछि अब भने नेपाल पक्ष पनि निर्णायक स्टेप लिने तयारीमा जुटेको छ ।

नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले एकताका लागि अन्तिम समयसम्म पहल जारी राख्ने निर्णय गरेलगत्तै बसेको ओली समूहको एकपक्षीय बैठकले महाधिवेशनकेन्द्रित गतिविधि अघि बढाएपछि हालसम्म दोधारमा रहेका वरिष्ठ नेता नेपालले एक–दुई दिन विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेर स्थायी कमिटीको बैठकमार्फत निर्णायक कदम अघि बढाउने तयारी गरेका छन् ।

खनाल–नेपाल पक्षका दोस्रो तहका भनिने केही नेताहरुले एकताकै पक्षमा जोड दिइरहे तापनि तेस्रो र चौथो तहका सबै नेताहरुले अब ओलीसँग मिल्नै नसकिने सुझाव दिएको अवस्थामा ओली पक्षले भने एकताबाट भाग्ने दिशातर्फ झनझन् तीव्र कदम चालेपछि निर्णायक स्टेप लिन वरिष्ठ नेता नेपालमाथि निकै ठूलो दबाव सिर्जना भएको छ ।

‘हामी अगाडि बढ्छौँ दृढताका साथ । शीर निहुराउने छैनौं, कसैको टाङमुनि छिर्ने छैनौँ,’ मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भनेका छन्– ‘अँध्यारो सुरुङमा जानेवाला छैनौं । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै, तिनलाई माथ गरेर नै अगाडि बढ्नेछौं ।’

नेपालका यिनै अभिव्यक्तिले समेत अब ओलीसँग मिल्न सक्ने सम्भावना सकिइसकेको संकेत गर्छन् । यसअघि ओली पक्षले नै महाधिवेसनसम्म समान हैसियतका दुई अध्यक्षको व्यवस्था गर्ने प्रस्ताव वरिष्ठ नेता नेपालसमक्ष ल्याएको थियो । तर, ओली समूह उक्त प्रस्तावबाट समेत एकाएक पछि हटेपछि खनाल–नेपाल पक्ष ओलीको ‘टाङमुनि नछिर्ने’ निष्कर्षमा पुगेको हो ।

‘तत्काललाई एमालेमै रहेर राजनीतिक र वैचारिक रूपमा ओलीका तमाम गलत कदमहरूको भण्डाफोर गर्ने, देशव्यापी समानान्तर संगठन निर्माण गर्ने तथा गतिविधि बढाउने र अन्तिम अवस्थामा नयाँ पार्टी गठन गर्नेसम्मका योजनासहित आन्तरिक संघर्ष गर्न’ नेता नेपालले आफूनिकट नेता–कार्यकर्ताहरूलाई आन्तरिक रुपमा निर्देशन दिइसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर