newskoseli.Com

मिल्यो सरकारी भागबण्डा : कुन पार्टीलाई कुन मन्त्रालय ? (सूचीसहित)

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झण्डै तीन महिनापछि दलहरूबीच मंगलबार बल्ल भागबण्डा मिलेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार जुटेको सहमतिअनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५ र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपाले ४–४ मन्त्रालय पाउने भएका छन् ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, स्वास्थ्य, सञ्चार, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने भएको छ । हाललाई उद्योग, वाणिज्य तथा आपूर्ति र खानेपानी तथा सरसफाइ मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राख्ने भएका छन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, भूमि व्यवस्था, श्रम तथा रोजगार र शिक्षा मन्त्रालय सम्हाल्ने भएको छ ।

त्यस्तै, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पर्यटन तथा नागरिक उड्डयन, रक्षा, सहरी विकास र कानुन मन्त्रालय सम्हाल्ने भएको छ । अर्को सत्ता घटक जनता समाजवादी पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन, कृषि, भौतिक पूर्वाधार र वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएको छ ।

शीर्ष तहमा भएको समझदारीअनुरूप कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले थप एक–एक राज्यमन्त्री पाउने भएका छन् । जसपाले भने उपसभामुख पाउने भएको छ । सबै दलले बुधबार आ–आफ्नो पार्टीमा छलफल गरी मन्त्री बन्ने व्यक्तिहरुबारे टुंग्याएपछि बिहीबार (घटस्थापनाका दिन) सरकार विस्तार गरेर सपथ गराउने प्रधानमन्त्री देउवाको तयारी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर