नेकपा एमाले डडेलधुराका अध्यक्ष डा. तारा जोशीसहित ७५ प्रतिशत नेताहरुले उक्त पार्टी परित्याग गरेका छन् । डा. जोशी नेतृत्वको टोलीसहित अधिकांश एमाले नेता–कार्यकर्ता बुधबार एक समारोहबीच माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन् ।
डडेलधुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले उनीहरुलाई स्वागत गरे । एमाले अध्यक्ष खड्ग ओलीले सुदूरपश्चिमलगायतका केही स्थानमा दसबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट बनेका उनीहरु अन्ततः एमाले परित्याग गरी एसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशपछि कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्र, जनता, नेपाली कम्युनिस्ट आन्दोलन र दसबुँदे सहमति विपरीत गतिविधि गरेकाले सुदूरपश्चिम क्षेत्रका एमालेहरुमा तीव्र असन्तुष्टि रहेको डा. जोशीले बताए ।
डा. जोशी एमालेका निर्वाचित जिल्ला अध्यक्ष थिए । तर, एमाले ‘कब्जा’ गर्ने क्रममा ओली समूहले प्रकाश साउदलाई अध्यक्षको टीको लगाइदिएको थियो । जोशीसँगै प्रेस चौतारीलगायत दर्जनजति जनवर्गीय संगठनका कार्यकर्ता समेत एकीकृत समाजवादीमा प्रवेश गरेको जानकारी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य भानुभक्त जोशीले दिएका छन् ।