नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणाम अनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा. शेखर कोइरालाले १,१७८, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरूङले १५ मत प्राप्त गरेका समितिले जनाएको छ ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।