काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले केन्द्रीय समाचार कक्षले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
२२३ मोटरसाइकल फेला
ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट हराएका २२३ मोटरसाइकल फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोशाकमा खटिएका प्रहरी टोलीले उपत्यकाका विभिन्न क्षेत्रबाट हराएका ती मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
सोही सिलसिलामा महाशाखाले आज २६ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले उपत्यकाका पशुपति, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो, कलङ्की, नयाँबसपार्क लगायतका स्थानबाट हराएका १७ मोटरसाइकल तथा ९ स्कुटर फेला पारेर सम्बन्धित धनीको जिम्मा लगाएको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईले एकान्त स्थानमा सवारी पार्किङ गर्दा हराउने गरेको जनाउँदै पार्किङ गर्दा ख्याल गर्न सवारी धनीलाई आग्रह गरे । विशेष सूचना तथा सुराकीका आधारमा महाशाखाले मोटरसाइकल खोज्दै आएको उहाँको भनाइ थियो ।
सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र सवारीसाधन राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध समेत गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा मोटरसाइकल चोरी कार्यमा सङ्लग्न ३२ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ । महाशाखाले सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरेको छ