नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गरेको छ ।
साधारणसभाले आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित समेत गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि समेत छलफल गरी पारित गरिएको छ ।
सभामा सम्बोधन गर्दै कोष सञ्चालक समितिका अध्यक्ष प्राडा थापाले कोषका कार्यक्रमहरूको थप प्रवर्द्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषका कार्यक्रमहरुमा समावेश गर्दै लगिने बताए । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकामा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी उनले दिए ।
संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) गरी मानव संशाधन विकासलाई प्राथमिकतामा राखिने पनि अध्यक्ष प्राडा थापाले बताए । कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा उनले राखे ।
अध्यक्ष प्राडा थापा र कोषका कार्यकारी निर्देशकले साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञाशाहरुको जवाफ दिए । कार्यक्रममा सम्बोधन गर्दै कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको वस्तुस्थितिबारे प्रष्ट्याउँदै सेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत जानकारी गराए ।
कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता (एआई) को प्रयोगका सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको पनि कार्कीले बताए । आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको वर्तमान सन्दर्भमा समेत सेयरधनीहरुलाई तुलनात्मक रूपमा राम्रो लाभांश दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले उल्लेख गरे ।
साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ ।