
रैनादेवी छहरा गाउँपालिका– १, सिद्धेश्वरमा आइतबार राती जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । लु १ ज २३७७ नम्बरको जीप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका हुन् ।
सो दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकामा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा– १, सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् ।
घाइते भएका जीप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।