newskoseli.Com

आदर्श सौलःमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम : अन्तर्क्रिया र कविगोष्ठी

बुङमतीस्थित छयासीकोटमा अवस्थित आर्दश सौलः युवक माविमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम अन्तर्क्रिया तथा कविगोष्ठीका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कायर्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साहित्य सिर्जनाको प्रारम्भिकविन्दु विद्यार्थीहरू नै भएको बताए । कविता, कथा, निबन्ध, गीत, नाटक र उपन्यास जस्ता विधा विद्यार्थीले अहिल्यैदेखि सिर्जना गरेमा भविष्यमा मुलुकको भाषा, साहित्य, संस्कृति आदिका क्षेत्रमा उनीहरूले उल्लेखनीय योगदान गर्न सक्ने उनले बताए । देशभरका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएको आफ्नो अनुभव सुनाउँदै यति ठूलो सङ्ख्यामा शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थी आफूले विरलै देखेको बताउँदै उनले तारिफ गरे ।

एउटा साधारण पाटीबाट पठनपाठन सुरु भएको यस विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेखनीय योगदान गरेकाले नै आकर्षणको केन्द्र बनेको उपकुलपति राईले बताए । ‘साहित्य भनेको ध्यान जस्तै साधना हो’, उनले भने– ‘अहिले कतिपय बिरामीलाई पोएट थेरापी र म्युजिक थेरापी आदिका माध्यमबाट समेत उपचार गर्ने गरिएको छ ।’ यस क्षेत्रमा लाग्ने व्यक्तिमा आचरण र नैतिकता उच्च हुने समेत उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले ‘विद्यालयमा कुलपति’ कार्यक्रमले शिक्षक, विद्यार्थी र अभिभावकमाझ प्रज्ञा–प्रतिष्ठान घुलमिल भएर रचनात्मक कार्य गर्न सक्ने बताए । जुनसुकै विषय अध्ययन गरेकाले पनि साहित्य सिर्जना गर्न सक्ने बताउँदै त्यसका लागि भाषामा भने अब्बल हुनुपर्ने उनले उल्लेख गरे । प्रज्ञा–प्रतिष्ठानको उद्देश्यबारे प्रकाश पार्दै प्राज्ञिक योगदानसहित आफ्नो पाठ्यपुस्तक लेखनको समेत अनुभव सुनाएका उनले पाठ्यपुस्तक पढेर उत्तीर्ण गर्ने विद्यार्थीले पाठ्यपुस्तक लेखकलाई समेत चिन्नुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रमका अर्का अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले ‘विद्यालयमा कुलपति’ कार्यक्रमले विद्यालय जस्तो शैक्षिक संस्थामा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञिक कार्यबारे परिचित गराउँदै शिक्षक र विद्यार्थीहरूलाई साहित्य लेखनमा प्रेरित गर्ने बताए । आफू यस विद्यालयको पूर्वअभिभावक समेत रहेको चर्चा गर्दै यो विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एक अब्बल विद्यालय भएको उल्लेख गरे । विद्यालयले नियमित रूपमा साहित्यिक र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने सुझाव समेत उनले दिए ।

कार्यक्रमका सभाध्यक्ष तथा आदर्श सौलः माविका प्रधानाध्यापक ज्ञानभक्त महर्जनले प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूलाई आफ्नो विद्यालयमै पाएकामा आभार व्यक्त गर्दै ‘विद्यालयमा कुलपति’ कार्यक्रमले विद्यार्थी, शिक्षक–शिक्षिका र अभिभावकबीच भाषा–साहित्य, संस्कृति र कलाको महत्त्वलाई उजागर गर्ने काम भएको बताए । कार्यक्रमले आफूहरूलाई यस क्षेत्रमा लाग्न थप प्रेरित गरेको उनले बताए । यसै विद्यालयबाट शिक्षार्जन गरेर प्रधानाध्यापकको भूमिकासम्म आउँदाका अनुभूतिहरूलाई उनले ‘म’ शीर्षकको कवितामार्फत प्रस्तुत गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी सदस्य मीरा शाहले प्रज्ञा–प्रतिष्ठानसँग सहकार्य र समन्वयबारे जिज्ञासा राखिन् । कार्यक्रममा बिहानी सत्रका सहायक प्रधानाध्यापक डिल्लीमान श्रेष्ठले प्रज्ञा–प्रतिष्ठानले भाषा–साहित्य र कलाको क्षेत्रमा काम गर्दै आएको आफूले थाहा पाए पनि यसको व्यापकताबारे आज मात्रै प्रष्ट भएको बताए । स्वरसम्राट नारायणगोपाललाई प्रज्ञा–प्रतिष्ठानमा पुगेर श्रद्धाञ्जली दिँदाका क्षणको भावुकता स्मरण गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति, सदस्य सचिव र प्राज्ञलाई आफ्नै विद्यालयको प्राङ्गणमा स्वागत गर्न पाउँदा गौरवबोध भएको उनले बताए ।

शिक्षक एवम् मानविकी तथा शिक्षा सङ्काय तथा शैक्षिक विभागका प्रमुख दिनेश खड्गाले कार्यक्रमको उदघोण गर्दै धार्मिक विसङ्गतिबारे आफ्नो कविता समेत वाचन गरे । ‘विद्यालयमा कुलपति’ कार्यक्रमले विद्यार्थीहरूलाई प्रज्ञा–प्रतिष्ठानबारे यथेष्ट जानकारी गराउनुका साथै साहित्य–संस्कृति तथा कला सिर्जनामा लाग्न समेत आफूहरूलाई अभिप्रेरित गरेको उनले बताए ।

कार्यक्रममा उक्त विद्यालयको अतिरिक्त विभागका प्रमुख एवम् शिक्षक निरोजकुमार श्रेष्ठले वाचित कविताको संयोजन गरे । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी करिष्मा घर्ती मगर, हरिमाया पाण्डे, प्रतिभा न्यौपाने, रेखा पोखरेल, पुजन केसी, जीवन सुनुवार, आदित्य जैसवाल, रञ्जना यादव, यशोदा थापा, सञ्जीव स्याङ्तान, आशिका लिम्बू र सीता बस्नेतले कवितावाचन गरे । यस विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर