एस वाई कन्सल्ट्यान्ट र दक्षिण कोरियाको सउल सिटीमा अवस्थित सइल युनिभर्सिटीबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । २०८२ मंसिर १५ गते काठमाडौंमा आयोजित एक विशेष समारोहमा दुबै देशका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौतापत्रमा सइल युनिभर्सिटीका तर्फबाट डा. चोई सुंग रो तथा एस वाई कन्सल्ट्यान्टका तर्फबाट अध्यक्ष राजीव भण्डारीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार दुबै संस्थाले शैक्षिक कार्यक्रमहरूको संयुक्त सञ्चालन, संयुक्त उपाधि (Joint Degree) सहितका प्राज्ञिक कार्यक्रम विकास, संस्थागत विकास तथा शैक्षिक प्रवर्द्धन, प्राज्ञिक रूपमा दक्ष जनशक्तिको आदान–प्रदान र विद्यार्थीहरूको अन्तरविश्वविद्यालयीय प्राज्ञिक तथा अतिरिक्त गतिविधिमा सहकार्य जस्ता बहुआयामिक क्षेत्रमा काम गर्ने छन्।
चार वर्षअघि स्थापना भई काठमाडौंमा संचालनमा आएको एस वाई कन्सल्ट्यान्ट नेपाल सरकार, बागमती प्रदेश हेटौंडास्थित सामाजिक विकास मन्त्रालयमा दर्ता भएको शैक्षिक संस्था हो। विशेषगरी दक्षिण कोरियामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई सफलतापूर्वक मार्गदर्शन तथा सहजीकरण गर्दै आएको यो कन्सल्ट्यान्टले विगत चार वर्षमा २५ सयभन्दा बढी विद्यार्थीको भविष्य सुनिश्चित गर्न सहयोग गरिसकेको छ । त्यसैगरी, दक्षिण कोरियाको सउल सिटीमा अवस्थित सइल युनिभर्सिटी विगत ५० वर्षदेखि उच्च शिक्षा क्षेत्रमा उत्कृष्टता सहित संचालित प्रतिष्ठित शैक्षिक संस्था हो ।









