त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र अन्य पदाधिकारका अलगअलग भवन बन्ने भएका छन् ।
गत वर्षको विनाशकारी भूकम्पबाट कीर्तिपुरपस्थित उपकुलपतिको कार्यालय क्षतिग्रस्त भएपछि स्मृति भवन नजिकै उपकुलपतिको कार्यालय निर्माण प्रारम्भ भएको छ । यसअघि उपकुलपतिको कार्यालय रहेको भवनामा शिक्षाध्यक्ष, रजिष्ट्रार, सेवा आयोगका कार्यालय रहेकामा अब काममा सहजता ल्याउन अलगअलग कार्यालय बनाउन लागिएको हो । यसैगरी, शिक्षाध्यक्षको कार्यालय त्रिवि पाठ्यक्रम विकास केन्द्र नजिकै बन्ने भएको छ ।
नयाँ भवन नहुँदा पदाधिकारी, कर्मचारी प्रशासन र योजना महाशाखा तथा सूचना महाशाखा र डिनको कार्यालय हाल एकै ठाउँबाट सञ्चालित छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा विश्वविद्यलायले पुन : निर्माणका ९ अर्ब माग गरेकामा चालु आव ६५ करोड विनियोजना भएकाले नयाँ भवन बनाउने काम प्रारम्भ भएको शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले जानकारी दिइन् । रासस