newskoseli.Com

आत्मविश्वासका साथ ज्ञानको सदुपयोग गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उदमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । कास्कीको ढुङ्गेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीसँग आग्रह गरेका हुन् ।

‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ, बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन; तपाईंहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,’ कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने– ‘तपाईंहरु समाज र देशका लागि उपयोगी हुनुपर्छ, आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ; देश र समाजका लागि केही गर्नुस्, नागरिक सर्वोच्चताको गर्व तपाईंहरुमा होस् ।’

‘सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गरौं’– उनले भने । ‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन, हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस्, साहसी हुनुस्, दुःस्साहासी नहुनुस्,’ प्रधानमन्त्री ओलीले भने– ‘हामीसँग उर्वर भूमि छ, यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ; यस काममा विश्वविद्यालय लागोस्, सरकार विश्वविद्यालयको साथमा छ ।’

विश्वविद्यालयका विभिन्न सङ्काय र तहका गरी ७ हजार ८ सय ७२ विद्यार्थीलाई कुलपति ओलीले दीक्षित गराए । कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीलाई उनले पुरस्कृत पनि गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर