पार्टी एकता र फुट पनि मौसमी हाटबजार जस्तो बनेको छ । अमुक पार्टीमा ‘विद्रोह’, अमुक पार्टीमा फुट, अमुक पार्टीको अमुक पार्टीसित एकता जस्ता रङ्गीविरङ्गी शब्दहरूले सामाजिक सञ्जाल भरिएको पाइन्छ ।
किन फुट भयो ? कसको लहडमा फुट भयो, कसलाई नेता बनाउन फुट भयो ? र, किन फेरि त्यही स्थितिमा ‘एकता’ भयो भन्ने कुराको उत्तरको कतै छेउटुप्पो पाइँदैन । फुटमा पनि लामो अन्तर्सङ्घर्ष चल्दैन । अनि केका लागि एकता गर्ने ? कस्तो सङ्ठन बनाउने ? यी सन्दर्भहरूसित वैचारिक राजनीतिक पक्ष, कार्यदिशा कार्ययोजना र नेतृत्व सबै गाँसिएर आउँछन् । तर, यस विषयमा चाहिँ खासै बहस हुँदैन ।
नेताको कामकारबाही र क्षमतामाथि अलिकति प्रश्न उठायो भने नेताले आफ्नो कुर्सी खतरामा परिहाल्याे भनिठानेर कार्यकर्तामाथि डन्डा बर्साउने र कार्यकर्तालाई पनि केही कुरामा चित्त बुझेन भने वरिपरिका दुईचार जनाको हाहाहुहु टोली बनाएर हिँडिहाल्ने गरेको पाइन्छ । वैचारिक पक्षले भन्दा ‘म कहाँ’ र ‘मलाई के’ भन्ने कुरा तलदेखि माथिसम्म प्रभावी बनेको देखिन्छ ।
पार्टी पार्टीजस्तो नभएर गँजेडीहरूको अड्डा बनेको देखिन्छ । न विगतको समीक्षा हुन्छ, न वर्तमानको विश्लेषण र संश्लेषण नै । सबै तदर्थमा चलेका हुन्छन् । समीक्षा र आत्मालोचनाको पाटो भएर अघि बढ्न कोही तयार हुँदैनन् । त्यसपछि रातारात एकता अनि रातारात फुटका शृङ्खलाहरू चल्न थाल्छन् ।
नेपालमा कम्युनिस्ट नाम टाँसेका नवप्रतिक्रियावादी, संशोधनवादी र क्रान्तिकारी प्रवृत्ति बोकेका गरी तीनथरी पार्टीहरू छन् । नेपाली समाजमा दसवर्षे महान् जनयुद्धको विरासतसित गाँसिएका र नेपाली समाजको अहिलेको विशिष्ट परिस्थितिमा मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर क्रान्ति सम्पन्न गर्न अगाडि सरेकाहरूको राम्रो उपस्थिति भए पनि यसले सङ्गठित रूपमा गति र दिशा लिन सकेको स्थिति छैन । क्रान्तिकारी भनिएका पार्टीहरूभित्रै समेत थरीथरीका स्कुलिङका उत्पादनहरू भरिभराउ छन् ।
विभिन्न मुहानबाट आएर आसन जमाएकाहरूका विभिन्न मानसिकताको प्रदूषणले क्रान्तिकारी भनिएका समूहहरू प्रदूषित छन् । कतिपय कार्यकर्ताहरू आफ्नो पार्टीको भताभुङ्ग र लथालिङ्ग स्थितिप्रति चिन्तित र गम्भीर पनि देखिन्छन्, तिनमा ‘पार्टी बिग्रियो’ भन्ने छटपटी पाइन्छ । तर, उनीहरूले समस्याको जड बुझ्न सकेका हुँदैनन् र/अथवा बुझेर पनि तिनलाई हल गर्न ‘साहसका साथ’ पाइला चाल्न सकेको पाइँदैन ।
समस्या विचारमा हो कि सङ्गठन परिचालनमा, अथवा नेतृत्वमा भन्ने कुरामा प्रस्ट हुनु आवश्यक हुन्छ । समस्या कार्यकर्तामा भन्दा पनि नेतृत्वपङ्क्तिमा छ भनेर बुझ्न नसक्नु नै अहिलेको प्रमुख समस्या बनेको छ । जनयुद्धको विसर्जन गरेर माओवादी पार्टी ‘शान्ति प्रक्रिया’ मा आएपछि थुप्रै फोहोरमैला भित्रिए । नेतृत्वमा रहेकाहरूले आफ्नो अनुकूलता र स्वार्थलाई ध्यान दिँदै एकताका नाममा थरीथरीकालाई मिसाउँदै गए ।
पार्टीमा फुट र विभाजनको स्थिति भएपछि त झन् चारै ढोका खुल्दा रहेछन् र प्रदूषित हावा सबै ढोकाबाट ह्वाह्वार्ती पस्तो रहेछ, पसाइँदो रहेछ । अनि पार्टीमा वैचारिक र भौतिक ढसमस्सताका साथ प्रदूषित हावाहरूकै राइँदाइँ चल्दो रहेछ । जनयुद्धकालका हत्याराहरू नै भए पनि ती रातारात ‘श्रद्धेय कमरेड’ मा फेरिँदा रहेछन् । अनि पार्टीमा विस्तारै क्रान्तिकारीहरू किनारा लाग्ने स्थिति बन्दो रहेछ । यो हामीले हेर्दै र भोग्दै आएको यथार्थ हो ।
प्रचण्डसित विद्रोह गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी–माओवादी, अनि एकतामा केही सङ्ख्या थपेर बनेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र अहिले एकताका नाममा केही व्यक्ति थप र घट भएर बनेको ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल’ को पार्टीयात्रा हेर्दा क्रमिक रूपमा यो पार्टी वैचारिक स्खलन र साङ्गठनिक विसर्जनको दिशामा गएको कुरा प्रस्ट हुन्छ ।
थपिनेले आफ्नो विरासत लिएर आउँछ नै । यसका पछाडि एकताका नाममा गरिने/गरिएको सम्झौतावादी प्रवृत्ति र नेताहरूमा निहित ‘हामीले जे गरे पनि हुन्छ, आफू सुरक्षित भए पुग्छ’ भन्ने केन्द्रीयतावादी–हैकमवादी प्रवृत्तिले काम गरेको छ । क्रान्तिकारी भनिएकाहरूबीच यताका दुई वर्षभित्र एकता र फुटका नाममा जे–जस्ता रमाइलो मेला देखिए, उदेकलाग्दो स्थिति उत्पन्न हुनु स्वाभाविक छ । तर, नेतृत्व तहमा रहेकाहरूले जिम्मेवारीबोध गरेर आत्मसमीक्षा गर्नु आवश्यक ठान्दा रहेनछन् । यो हाम्रो आन्दोलनको विडम्बनात्मक स्थिति हो ।
यथार्थतः जबसम्म मिलेराँवादी प्रवृत्ति र जातीयतावादी अतिवादी प्रवृत्तिहरू पार्टीहरूमा विद्यमान रहन्छन्, अझ माथिल्लो तहमै हावी हुन्छन्, खास पार्टीले मालेमा, नयाँ जनवादी क्रान्ति, सशस्त्र सङ्घर्ष र वैज्ञानिक समाजवाद जे–जे भने पनि ती पार्टीले क्रान्तिकारी दिशा र गति लिन सक्तैनन् । ती गोलचक्करमै रहन्छन्, अथवा बैठकदेखि बैठकसम्म र विमर्शदेखि विमर्शसम्म सीमित रहन्छन् । यसको अन्तिम परिणति भनेको विघटन र विसर्जन हुन्छ ।
संशोधनवादले मिलेराँवादी प्रवृत्ति बोकेकालाई सदैव उत्साहित र प्रोत्साहित गरिरहन्छ; आकासपाताल जोडेर नजिक ल्याउँन, आफ्नो बनाउँन खोजिरहन्छ, लोभ र प्रलोभनद्वारा आकर्षित गरिरहन्छ । ‘जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद ल्याउने’ कुरामा सहीछाप ठोक्नेहरू सोही विरासत बोकेर आउने कुरा अचम्मको कुरा भएन । ‘हामीले गलत सोचेछौँ र गलत गरेछौँ’ भनेर उहाँहरूले भनेको पनि कतै सुनिएन र पढ्न पनि पाइएको छैन ।
त्यसैगरी, क्रान्तिकारी पार्टीभित्र छिद्र खोज्दै साम्राज्यवादले जातीयतावादी अतिवादलाई मलजल गर्छ, आवेग र ‘पहिचानवाद’ को राजनीतिमार्फत क्रान्तिकारी धारलाई मिहिन पाराले शिथिल पारेर विर्सजन र भद्रगोलको स्थितिमा पुर्याउँछ । हामीले यसलाई व्यवहारमा देखिसकेका छौँ । गलत प्रवृत्तिहरूलाई साथ लिएर र फोहोरमैलासित सम्झौता गरेर भएका पार्टी एकताहरू दिगो र कामकाजी हुन सक्तैनन्, भएका छैनन् । क्रान्तिकारी भनिएको समूहमा भएको पछिल्लो फुटको शृङ्खलामा निहित यथार्थको एउटा पाटो यो पनि हो ।
पार्टीलाई जीवन्त बनाउने सही उपाय भनेको फोहोरमैलाको पहिचान र सरसफाइ नै हो । पार्टीलाई सही दिशातिर लैजाने प्रारम्भिक पाइला भनेको वैचारिक र सङ्गठनात्मक शुद्धीकरण नै हो । डुङ्डुङ्ती गन्हाउने फोहोरमाथि अत्तर छरेर हुनेवाला छैन । यसले धान्नेवाला छैन, तलदेखि माथिसम्म दुर्गन्धित छ भने सानोतिनो सरसफाइले पुग्ने स्थिति पनि हुँदैन । समस्या माथि छन्, तल डण्डा बर्षाउने प्रवृत्तिले निम्त्याउने भनेको त विभाजन र विसर्जन नै हो । वैचारिक शुद्धीकरण र सङ्गठनात्मक शुद्धीकरण एकअर्काका परिपूरक हुन् ।
प्रचण्डसित हुँदाको समयमा पालुङ्टार विस्तारित भेलाअघि कमरेड किरणले ‘अन्नपूर्ण’ दैनिकमा ‘म पनि फर्स्ट म्यान भएर पार्टी हाँक्न सक्छु’ भन्ने भावको अन्तर्वार्ता दिनुभएको थियो । प्रचण्डसितको विद्रोहपछिको समग्र स्थितिको अध्ययन गर्दा माओवादी आन्दोलनको नेतृत्वमा रहेका भ्रष्टहरूका बीचमा कमरेड किरण वैचारिक तहमा आधारभूत रूपमा सही पात्र हुनुहुन्छ । लेख्नेपढ्ने कुरामा पनि उहाँ कुशल हुनुहुन्छ । तर, यति मात्रैले पार्टी हाँक्ने र कुशल नेतृत्व दिने कुरा हुँदो रहेनछ । पार्टीमा मूल नेतृत्वको सन्दर्भमा उहाँ असफल भएको कुरा सही हो ।
कमरेड मोहन वैद्यभित्र नेतृत्व–कौशलको अभाव र गतिशीलताको समस्या रहेछ भनेर व्यवहारद्वारा सावित भएको यथार्थ हो । रुटिनबद्धता र अनुभववादले मात्रै पार्टी किन चल्दो हो र ! यो आत्मबोध र आत्मसमीक्षाको विषय हो । अहिले माओवादी आन्दोलन टुटफुट र विभाजनका साथै गम्भीर सङ्कट र विसर्जनको अवस्थामा पुग्नुका पछाडि मूल नेतृत्वसहित माथिल्लो तहको नेतृत्वदायी टिमभित्र रहेको समस्या नै प्रमुख कारक बनेको छ ।
… … … …
टिप्पणी गर्नुपर्ने थुप्रै विषय छन् तापनि यतिखेर मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्धहरू, दसवर्षे जनयुद्धको विरासतसित जोडिएका क्रान्तिका पक्षधर पार्टी, समूह र व्यक्तिहरूबीच आन्दोलनलाई कसरी नयाँ दिशा र गति दिने भन्ने विषयमा गम्भीर बहस–छलफल र गहन विचार–विमर्शको आवश्यकता छ । अत्मसमीक्षा सहितको व्यापक वैचारिक र राजनीतिक बहस–छलफलको अवश्यकता छ । कसरी एउटा क्रान्तिकारी केन्द्र बनाउने ? हाम्रो चिन्ता र चिन्तन यसैमा केन्द्रित हुनु आवश्यक छ । यो साझा चिन्ता हुनुपर्छ ।
पार्टीहरूभित्र मान्छेहरूको सङ्ख्या अलि बढी होला तर पार्टीबाहिर पनि क्रान्तिकारी विचारकहरूको गुणात्मक उपस्थिति छ भन्ने कुरा पनि सत्य हो । लिपपोत गर्ने र रङ्गरोगन गर्ने तथा एकताका नाममा दुईचार सङ्ख्या बढाउने कुराले खासै अर्थ राख्दैन । गुणात्मक छलाङको आवश्यकता छ र यो काम क्रान्तिकारी पुनर्गठनबाट मात्र सम्पन्न हुन्छ र गर्न सकिन्छ ।
जनमेलबाट








