जिल्ला कृषि विकास कार्यालय सप्तरीले आर्थिक वर्ष २०७२/७३ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार सोमबार वितरण गरेको छ ।
सो कार्यालयले आयोजना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, २०७२’ पुरस्कार वितरण समारोहमा यस जिल्लाभरिबाट प्रथम हुने तरकारी बालीबाट हनुमाननगर–७ निवासी कृष्ण विहारी मेहता, द्वितीय हुने पशुपालनबाट बकधुवा–८ निवासी कृतिप्रकाश तिवारी र तृतीय पुरस्कार प्राप्त गर्ने फलफूलतर्फ कागतीबालीबाट पत्थरगाडा–६ निवासी भागवत यादवसहित ३ जनालाई जनही १० हजारका दरले राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।
त्यस्तै, खाद्यान्न, फलफूल, तरकारी, माछा, बाली उत्पादन र कृषक समूह प्रतियोगितामा प्रत्येक विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने २० जना कृषकलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र ५०० का दरले नगद पुरस्कार तथा प्रमाणपत्रसमेत वितरण गरिएको बाली संरक्षण एवम् सूचना अधिकृत दिनेशप्रसाद यादवले बताए ।
साथै, जिल्ला कृषि विकास कार्यालयमा उत्कृष्ट काम गर्ने प्राविधिक सहायकद्वय अग्निदेव चौधरी र देवनारायण यादवलाई क्रमशः प्रथम र द्वितीय पुरस्कारबापत रु पाँच ५ हजार,३ हजार तथा नाप्रास बेचन सढोक यादवलाई सम्मानपत्र प्रदान गरिएको सूचना अधिकृत यादवले जानकारी दिए ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला वन कार्यालयका प्रमुख धिरेन्द्रप्रसाद सिँह, विशिष्ट अतिथि जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशिनाथ यादव र जिल्ला कृषि विकास कार्यालय सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले सामूहिक रुपमा कृषकलाई फूलमालासहित पुरस्कार वितरण गरेका थिए।