भेडाको ऊन तथा मासुबाट १० करोड बढी आम्दानी भएको छ । जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २ सय मेट्रिक टन मासु उत्पादन हुन्छ । भेडाको मासु प्रतिकिलो ५ सय का दरले बिक्री हुने गर्छ । “वार्षिक ५ हजार किलो ऊन उत्पादन हुन्छ,” घिमिरेले भने ।
ऊनबाट स्थानीयवासीले राडीपाखीलगायत कपडा बनाएर बिक्री गर्ने गर्दछन् । गोठमा पालिएका बाख्राबाट समेत किसानले मनग्य आम्दानी गर्दैआएका छन् । घुम्ती गोठमा ८ हजार बढी बाख्रा भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । खसी बोकाको मासुबाट मात्रै बर्सेनि ६ करोडभन्दा बढी आम्दानी हुने गरेको छ । जिल्लामा ८ सय ५८ घरधुरीले घुम्ती गोठमा भेडापालन गर्दैआएका छन् । घुम्ती गोठमा पालिएका भेडा अधिकांश पोखरा, काठमाडाैँ लगायत सहरमा बिक्री गर्न लैजाने गरेका पाएको छ ।