नेपाली इतिहासका एक क्रान्तिकारी एवं जनपक्षीय राजनीतिक नेता, एक आदरणीय एवं अग्रज वरिष्ठ पत्रकार, स्थापित क्रान्तिकारी साहित्यकार हुन् शक्ति लम्साल ।
नेपाली समाजले यी हस्तीलाई गुमाएको तीन वर्ष बित्यो । चिनेजानेका र सहकर्मीहरुले आत्मीयतापूर्वक ‘शक्ति दाइ’ भनी सम्बोधन गर्ने यी निष्कलंक एवं संघर्षशील पात्रको सरल र अत्यन्त नैतिक तथा निष्ठापूर्ण आचरण, आजीवन जनपक्षधरता र निरन्तर लेखन– वर्तमान पुस्ताका लागि सधैं प्रेरणाका स्रोत रहिरहेका छन् ।
होहल्ला र दलाली–चाकडीको भरमा राजनीतिक ‘मौका’ को ‘तर मार्न’ उद्यत् पछिल्लो पुस्ताका धेरैले नचिनेका र चिन्नेहरुमध्येका पनि धेरैले नचिने–नदेखे–नसुने झैं गर्ने शक्ति दाइ वास्तवमा को हुन् त ?
शक्ति लम्सालको संक्षिप्त जीवनी
नामः शक्ति लम्साल
टेकनामः रुख, गुलाब, अजय, आजाद, पथिक
जन्ममितिः १९९३ चैत २२ (७ अप्रिल, १९३६)
जन्मस्थानः चारुमार्ग, चाबहिल, काठमाडौं
बाबुआमाः सु. कृष्णप्रसाद/राधादेवी लम्साल
शिक्षाः मेट्रिक
ठेगानाः कामनपा- ४, चण्डोल (वंशीधरमार्ग)
परिवारः श्रीमती कृष्णा, छोरा सन्तोष र छोरी प्रज्ञा
निधनः २०७२ कात्तिक २४ गते राति ९ बजे (त्रिवि शिक्षण अस्पताल)
शक्ति लम्सालको राजनीतिक-सांगठनिक संलग्नताः
– २००८ सालमा भारतको तेलाङ्गना हतियारबन्द विद्रोहका नेता कृष्णचन्द्र शास्त्रीबाट कम्युनिस्ट राजनीति र विचारधाराप्रति आकर्षित ।
– २००९ मा साहित्यकार रमेश विकलले बुढीऔंलाको रगतले सहीछाप गराई सदस्यता फारम भराएपछि २०१० मा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त । प्रारम्भमा विद्यार्थी र युवक सङ्घमा आबद्ध ।
– नेपाल कम्युनिस्ट पार्टीको प्रथम अधिवेशन (२०१०, पाटन) मा चौतारा (सिन्धुपाल्चोक) बाट प्रतिनिधित्व
– २०१४ मा सम्पन्न दोस्रो महाधिवेशन (फोहरा दरबार, काठमाडौं) मा प्रतिनिधि छानिए पनि प्राविधिक कारणले सहभागी हुन नसकेको ।
– २०१८ मा सम्पन्न प्रशिद्ध दरभंगा प्लेनम (विस्तारित बैठक) मा सहभागी ।
– २०१९ मा सम्पन्न तेस्रो महाधिवेशन (मोतीमहल, वाराणसी) मा सहभागी ।
– २०४१ मा सम्पन्न पाँचौं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी ।
– २०५१ मा सम्पन्न नेकपा (माओवादी) को तेस्रो विस्तारित बैठकमा प्रतिनिधिका रूपमा सहभागी । बैठकद्वारा केन्द्रीय सल्लाहकारमा नियुक्त ।
– सन् १९५७ मा प्रथम समाजवादी देश सोभियत सङ्घको मस्कोमा सम्पन्न सातौं विश्व युवा विद्यार्थीको सम्मेलनमा जानबाट प्राविधिक कारणले वञ्चित ।
– २०३५ देखि ०४६ सम्म नागरिक अधिकार मञ्चको संयोजक ।
– २०१३ मा पश्चिम नेपाल युवक सङ्घको प्रचारमन्त्री ।
– जनअधिकार सुरक्षा समितिका केन्द्रीय सदस्य ।
– सर्वजातीय अधिकार मञ्चका केन्द्रीय सदस्य ।
– प्रगतिशील लेखक सङ्घ (प्रलेस) का केन्द्रीय उपाध्यक्ष ।
– पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य ।
– अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय संयोजक ।
– संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका केन्द्रीय सदस्य ।
– राष्ट्रिय जनआन्दोलन संयोजन समिति (२०५३) का केन्द्रीय सदस्य ।
– संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य (२०४७) ।
– संयुक्त लोकतान्त्रिक मोर्चा नेपालका संस्थापक केन्द्रीय सदस्य ।
– अखिल नेपाल किसान सङ्घ तथा युवक फेडेरेसनमा समेत केही समय आबद्ध भई सक्रिय ।
– शान्ति ऐक्यबद्धता नागरिक आन्दोलन (२०६२-६३) मा संलग्न भई गिरफ्तार ।
– नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ।
– २०५४ मा जनपक्षीय पत्रकार सङ्घका केन्द्रीय संयोजक ।
————————————————————
(तत्कालीन जनजिब्रो मासिक (हाल साप्ताहिक) को अनुरोधमा शक्ति दाइ आफैंले लेखेर जीवनका महत्त्वपूर्ण कार्य र अनुभूतिबारे उपलब्ध गराउनुभएको तथ्य–तथ्यांकमा आधारित)