बाजुरा जिल्लाका ग्रामीण बस्तीमा सञ्चालित सामुदायीक विद्यालयमा कक्षा ७ मा यस वर्ष उत्कृष्ट नम्बर ल्याई कक्षा ८ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदरमुकाम मार्तडीमा बिहीबार कक्षा ८ मा अध्ययनरत १० जनालाई १ लाख रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ ।
हेल्पिङ नेटवर्क बाजुराले सञ्चालन गरेको छात्रवृत्ति अभियानमा सिपाली–९ काभे्रपलाञ्चोक जिल्ला स्थायी घर भई हाल अमेरिकाको न्युयोर्कबाट विश्वभर रक्तदानसम्बन्धी अभियान सञ्चालन गरेका अर्जुनप्रसाद मैनालीले गरेको १ लाख आर्थिक सहयोग एकजना विद्यार्थीलाई रु.१० हजारका दरले वितरण गरिएको छ भने यस वर्षको प्रवेशिका परीक्षामा गरिब घरपरिवारका विद्यार्थीले सबैभन्दा राम्रो नम्बर ल्याउने एक जनालाई रु. ५० हजार छात्रवृत्ति दिने घोषणासमेत गरिएको छ ।
छात्रवृत्ति पाउनेमा विपन्न तथा गरिब परिवारका जेहेन्दार छात्रछात्रा बडिमालिका उच्च मावि धिमका अजरुप सार्की, मालिका उमावि मार्तडीका गगन नेपाली, पशुपति उमाविकी निर्मलाकुमारी तिमिल्सेना, महादेव निमाविका निर्मलकुमार शाही, स्वामीकार्तिक उमाविका तिलक सिंह कठायत, मालिका मावि जयवागेश्वरीका अनिल बुढा, सत्य मावि पाण्डुसैनका जग्गे दमाईं, अम्लिस माविका अनिशाकुमारी रोकाया, जनता निमावि बाँधुका सपना अधिकारी र पार्वती मावि पैमा कैलाशमाण्डौंकी साधना कुमारी पाध्याय छन् ।
हाल अमेरिकामा रहेर पनि उनले नेपाल र नेपालीका लागि जहिल्यै सहयोग गरिरहेका छन् । उनले बाजुरा जिल्लामा हेल्पिङ नेटवर्कको यो छात्रवृत्ति अभियानजस्तो महान् कार्यमा सरिक हुन र बाजुराका गरिब तथा जेहेन्दार विद्यार्थीको गुणस्तरीय शिक्षामा योगदान पु¥याउन अमेरिकाबाट नै नगद रु एक लाख सहयोग गरेका थिए ।
त्यस्तै, अमेरिकाबाटै पदमबहादुर शाहीले रु. २० हजार ८०० भन्दा बढी रकम उपलव्ध गराइसकेका छन् ।
त्यस्तै, कार्यक्रममा यस वर्षदेखि बाजुराका सामुदायिक विद्यालयबाट एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याई सफल हुने विपन्न परिवारका जेहेन्दार छात्र÷छात्रालाई प्रोत्साहनस्वरुप रु. ५० हजार नगद पुरस्कार दिने हेल्पिङ नेटवर्कले घोषणा गरेको छ ।
बाजुराका सामुदायिक विद्यालयमा अध्ययन गरी एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने विपन्न तथा जेहेन्दार परिवारका एकजना छात्रछात्रालाई प्रोत्साहनस्वरुप पुरस्कार दिन आर्थिक सङ्कलन गर्ने योजना थालेपछि अहिले देशभरिबाट नै दाताले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका र केहीले रकम हेल्पिङ नेटवर्कलाई उपलब्ध गराइसकेको अध्यक्ष अर्जुन शाहले बताए ।
विश्वास र ऐक्यबद्धताका साथ यस अभियान सफलीभूत हुने मात्र नभई समृद्ध हुने विश्वास लिएको शाहले बताए । कार्यक्रममा पूर्वसांसदद्वय नेपाली काँग्रेसका देवराज जोशी र नेकपा (एमाले) का हिक्मतजंग शाहीले बाजुराको शिक्षा क्षेत्रको विकाससँगै हेल्पिङ नेटवर्कको यस अभियानमा आफूले केन्द्रस्तरबाट विभिन्न सरोकारवाला मार्फत सहयोग गराउने बताए । रासस