घरी–घरी घच्घच्याइरहन्छ मलाई यो प्रश्नले । सुरुमा त ममा आफैं आएको होइन यो प्रश्न । मेरा आफन्त भन्ने, चिन्ने र जान्ने–मान्नेहरूले नै हालिदिएका हुन् दिमागमा यो प्रश्न । स्कुल–क्याम्पस पढ्दा पनि सरहरूले मलाई सोझो नै ठान्थे किनकि मैले कहिल्यै चिट् चोरिनँ, कहिल्यै सरहरूलाई अनादार गरिनँ ।
धेरै केटीहरूले त मलाई साह्रै सोझो, ‘नामर्द’ ठाने किनभने मैले उनीहरूलाई कहिल्यै नगरकोट र गोदावरीहरूतिर घुमाउन लगिनँ; रेस्टुरेन्ट र पार्कहरूमा बसेर माया साटिनँ । उनीहरूले लाख बिन्ती गर्दा पनि ‘बोक्रेलभ’ मा फसिनँ ।
साथीभाइहरू त जहिले पनि सोझै देख्छन् मलाई किनकि म उनीहरूले झैं जिब्रो फड्कारी–फड्कारी तरुनीहरूलाई जिस्क्याउन जान्दिनँ; आँखा झिम्क्याउँदिनँ । उनीहरूले झैं राखेर बन्दगी आफ्नै स्वाभिमान, कसैको प्रियपात्र पनि बनेको छैन आजसम्म । मेरो घरपरिवार र छरछिमेकीहरू झन् मलाई असाध्यै सोझो ठान्छन् किनकि मैले उनीहरूको चाहनाअनुसार कहिल्यै पैसा कमाइदिइनँ । उल्टो, आफैंसित भएको पनि बाङ्गाहरूलाई बाँडेर सकें; फटाहाहरूलाई लुटाएँ ।
यसै भएर नै सबै बाङ्गाहरूले सोझो देखेका होलान् मलाई । किनकि, मैले कसैलाई ‘ज्यू’ गर्दै उनीहरूको जिउमा घिउ लगाइनँ । मैले कसैलाई मलमपट्टि लगाइदिएर उनीहरूलाई मसाज गरिदिइनँ । छैन, अनि छैन मैले तिनीहरूले झैं फिटेर तासको पत्ति ‘मार्रा…’ भनेको छैन । न त ‘दाइ ! दाइ !! ए, दाइ !!!’ भन्न नै आउँछ मलाई ।
मलाई यसो भन्न नआउनु स्वाभाविक पनि हो किनभने जिन्दगीमा मैले आजसम्म यसका लागि कुनै पाठशाला पढिनँ । हो, त्यसैले सोझो देख्छन् तिनीहरू मलाई । र, मेरो सोझोपनको फाइदा लिन खोज्छन् । तर, म जाग्नु परेपछि कसरी जाग्छु– अरिङ्गाल बनेर भन्ने ज्ञान छैन उनीहरूमा ।
अर्थात्, त्यस्तो मनोवैज्ञानिक क्षमता छैन तिनीहरूमा । कारण, ती पलासका फूल हुन्, कागजी व्यक्तित्वहरू हुन् । ती आफैं उठ्न नसक्ने, कसैको वैशाखी चढेर र कसैको जिउमा घिउ लगाएर ‘मा…थी’ पुगेका बाँस हुन् । तिनीहरूको आफ्नै धरातल छैन, कसैले टाउकाले पुठोमा धकेलिदिएर वा कसैको टाउकामा पुठो राखेर अनि कसैले टुप्पी तानिदिएर ‘अग्ला’ भएका हुन् ती ।
पुठोमा टेको लगाउनेले टाउको झिकिदिएपछि ती बङ्लङ्ग पछारिनेछन्– यही धर्तीमा । एक झोक्का हावा आउनेबित्तिकै भुईंलाई ‘नमस्ते’ गर्न आइपुग्छन् ती बाँसका टुप्पाहरू, केराका पातहरू । जब ती पछारिन्छन् धर्तीमा, आइपुग्छन् यही भुईंमा । तब बल्ल ब्युँझनेछन् त्यतिबेला । बल्ल चिन्नेछन् मलाई । र, ढल्नेछ तिनीहरूको उचाई ताजमहल र ट्वीन टावर झैं गर्ल्यामगर्लुम । त्यसैले अर्काको बुई र टाउकामा चढेर आफूलाई ‘अग्लो’ र मलाई ‘बाउन्ने’, पुड्के र सोझो देख्ने महासयहरू ! सोझो नदेखे हुन्छ मलाई ।
यद्यपि सोझोको अर्को नाम विद्रोही, इमानदार हो भने म सोझै हुँ । इमानदार पनि म दुई प्रतिशतका लागि होइन, ९८ प्रतिशतका लागि मात्र हुँ । दुई प्रतिशतका लागि त म ‘फटाहा’ र ‘अइमानदार’ नै हुँ । त्यसैले मलाई सोझो भनेर लाटो र लट्ठु ठानिएको हो भने परिणाम गम्भीर आउनेछ एकदिन ।
तथापि जब–जब यो प्रश्नले दिमागमा नारा–जुलुस लगाउँछ, तब–तब आफैंलाई आफ्नै अदालतको कठघरामा उभ्याउन मन लाग्छ । के म साँच्चै सोझो छु त ? आफ्नै बाह्र सयको कोठाको भित्तामा झुन्ड्याइराखेको चारकुने सानो ऐनामा देखाउँछु आफ्नो पूरा शरीरलाई, जहाँ आफ्नो शरीरभन्दा केही देखिंदैन । अनि बाहिर निस्कँदा जहाँ–जहाँ सैलुनहरू भेट्छु, त्यहाँ–त्यहाँ पसेर देखाउँछु आफ्नै सर्वाङ्ग शरीर । नभन्दै मेरा सबै अङ्ग–प्रत्याङ्गहरू त सोझै देख्छु । केवल कुइनो चाहिँ घरी–घरी भाँचिएको जस्तो देखिन्छ । हो त नि ! त्यसैले पो सबैले सोझो भनेका रहेछन् मलाई !
यत्तिले मात्र कहाँ बुझ्छ र यो मन ? सोझोको सही अर्थको खोजीमा ‘प्रयोगात्मक नेपाली शब्दकोष’ हेर्न थाल्छु । त्यहाँ ‘सोझो’ को अर्थ लेखिएको रहेछ– ‘बाङ्गो नभएको, सीधा, छलकपट नभएको, इमानदार, सज्जन, शुद्ध, स्वच्छ, निश्छल, सरल, सुगम’ ।
यो परिभाषा हेरेपछि झन् दिमागीपारो तात्दै जान्छ । भित्र–भित्र झन् जिन्दावाद र मूर्दावादको नारा लाग्छ । जनआन्दोलन– २ लाई बिर्साउने गरी चल्छ हुण्डरी । अनि त्यहीबेला एक्कासि मिस्टर जर्ज डब्लु बुसको याद आउँछ । हो, साँचो हो, मिस्टर बुसले इराकी, अफगानी, इरानी, भियतनामी, क्युबाली जनतामाथि जबर्जस्ती आक्रमण गर्यो; युद्ध थोपर्यो । कारण थियो– इराकी, अफगानी, इरानी, भियतनामी, क्युबाली जनताको सोझोपन, इमानदारीपन, सज्जनपन… । अथवा, उनीहरू सोझो हुनु । सोझो भएकाले नै बुसले इराकी राष्ट्रपति सद्दाम हुसेनलाई फाँसीको तख्तामा चढायो । किनकि, सोझा सद्दामले अमेरिकाको साम्राज्यवादी हैकमको खरो विरोध गर्दै त्यसलाई अटेरी गरे । ती सोझा बूढा सद्दाम बाङ्गो मिस्टर बुसको पाउमा परेनन् । त्यसैले उनी मरेर पनि युग–युगभरि बाँचे ।
हो, सोझो भएकाले नै मैले पनि आजसम्म दुःख पाएको हुँ । किनकि, १०४ वर्षे राणा शासनभर सोझै भएर बाँचें म । तर, तानाशाही राणाशासन फाल्न केही बाँङ्गिएँ; ३० वर्षे पञ्चायत फाल्न पनि केही मानेमा बाङ्गिएँ । दसवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र अढाईवर्षे शान्ति वार्तामा नबाङ्गिएको भए म यो अवस्थासम्म आइपुग्ने नै थिइनँ ।
जतिञ्जेलसम्म म सोझो भएर बसें त्यतिञ्जेलसम्म ममाथि बाङ्गाहरूले आँखा लगाइरहे; ममाथि प्रहार गरिरहे । मलाई कुनोमा अँचेटे, छेउमा धकेले । अझै मलाई कुनो पाउँदा अँचेट्ने र छेउ पाउँदा घचेट्नेहरू थुप्रै छन् । त्यसैले म अब पनि सोझो हुनु बेकार छ ।
हुन त सर्वहारावादीहरू सोझै हुन्छन् किनकि उनीहरू कसैलाई ठग्न जान्दैनन्, जानेर पनि ठग्दैनन् । उनीहरू भष्टाचार गर्न जान्दैनन्, जानेर पनि गर्दैनन् । कसैलाई उचाली–पछारी गर्न आउँदैन उनीहरूलाई । न त आउँछ रामेदुने (गुच्चा) खेल्न नै । न त ‘एक्का–दुवा–तिर्का–चौका–पञ्जा–छक्का… मार्रा !’ गर्न नै आउँछ उनीहरूलाई । त्यसैले उनीहरू सोझा हुन् र छन् ।
म पनि तिनै सर्वहारामध्येकै एक सदस्य हुँ । त्यस अर्थमा म पनि सोझो नै छु । म केही गरे पनि बाङ्गिन सक्दिनँ, जान्दिनँ । घ्यु झिक्नसम्म आउँदैन मलाई । औंलो बङ्ग्याउन नै सक्दिनँ, जसरी सक्दैनन् सर्वहाराहरू । तर, सर्वहाराहरू बाङ्गिएपछि कसैका बाउको केही लाग्दैन; जोर चल्दैन । उनीहरू बाङ्गिएपछि सोझिन नै जान्दैनन् । संसारभर देखाइदिएका छन् सोझोपनको सबुत प्रमाण सर्वहाराहरूले ।
सामन्तवादी र पुँजीवादीहरूले सोझो देखेका थिए, रुसी सर्वहाराहरूलाई । जारशाहीले सोझो देखेर खुब पेलेको थियो उनीहरूलाई । तर, उनीहरूले राम्ररी देखाइदिए सोझोपनको नमूना, सन् १९१७ मा । र, बाङ्गोपनलाई आफ्नो अस्तित्व रक्षा, स्वार्थ र पुरुषार्थ ठान्ने जारको त्यो हालत भो । च्याङ्काइसेकले पनि चीनका सर्वहाराहरूलाई हँसिया जस्तै सोझो देखेको थियो । कामरेड माओत्सेतुङलाई त्यस्तै सोझो ठानेर हेपेको थियो । तर, चिनियाँ सर्वहाराहरू र कामरेड माओले पनि देखाइदिए उसलाई सोझोपन ।
हाम्रै देशमा जहाँनिया राणा शासकहरूले खुब बन्धक बनाउन खोजे मलाई । १०४ वर्षसम्म मेरो सोझोपनको फाइदा उठाए । तर, ढिलै भए पनि त्यसको सवक पाए २००७ सालमा । फेरि शाहवंशले पञ्चायतका नाममा सोझोपनमाथि बुई चढेर सात सालदेखि घोडा चढ्यो मलाई । तर, मैले २०३६ र २०४६ मा केही देखाइदिएँ उसलाई पनि । १२ वर्षसम्म संसदवादी–पुँजीवादीहरूले उसरी नै हेपे–चेपे र खेले ममाथि । र, १२ वर्षसम्म हरियो सर्प बनेर डसिरह्यो सामन्तवादले । सामन्तवादले असोज १८ र माघ १९ को राक्षसी रुप धारण गरेर ममाथि एकोहोरो हमला गरिरह्यो ।
तर म पनि जनयुद्ध र जनआन्दोलन– २ मार्फत् कालभैरवी रुप धारण गरेर प्रकट भएँ । त्यसपछि देख्यो सामन्तवादले मेरो कालभैरवी रुप । जनयुद्ध, जनआन्दोलन– २ र शान्ति प्रक्रिया हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छु । म त अझै अगाडि बढ्नै छ । मैले अझै दुइटा खुड्किला पार गर्नै छ । मेरो गन्तव्य त साम्यवाद हो ।
अतः अझै पनि मेरो सोझोपनको आवरण देखाएर कसैले आफ्नो स्वार्थ पूरा गर्न र अस्तित्व जमाउन खोजिरहेको छ भने त्यही हालत हुनेछ त्यसको । अब पनि कसैले मलाई सोझो ठानेर मेरा अग्रगामी पदचापहरूमा पर्खाल खडा गर्छ र सोझो भनेर गिज्याइरहन्छ भने नराम्ररी पोखिनेछ मेरो ‘लाटो रिस’ तिनीहरूमाथि ।
त्यतिबेला म फेरि कालभैरवी भएर तिनीहरूमाथि जाइलाग्ने छु । आगो भएर बल्ने छु, ज्वालामुखी र ज्वारभाटा भएर फुट्ने छु–उठ्ने छु । त्यतिबेला थाहा पाउनेछन् ती महाशयहरूले– म को रहेछु, तिनीहरू को रहेछन् ! मेरो यात्रा कहाँसम्म रहेछ, तिनीहरूको उचाइ कति रहेछ, म कति सोझो रहेछु, तिनीहरू कति बाङ्गा रहेछन् !
मिरकोट, गोरखा
press_deepak@yahoo.com