-
वैचारिक पक्षभन्दा ‘म कहाँ’ र ‘मलाई के’ भन्ने कुरा तलदेखि माथिसम्म प्रभावी ।
-
जनयुद्धकालका हत्याराहरू नै भए पनि ती रातारात ‘श्रद्धेय कमरेड’ मा फेरिँदा रहेछन् ।
-
समस्या कार्यकर्तामा भन्दा पनि नेतृत्वपङ्क्तिमा छ भनेर बुझ्न नसक्नु नै अहिलेको प्रमुख समस्या ।
-
मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर क्रान्ति सम्पन्न गर्न अगाडि सरेकाहरूको राम्रो उपस्थिति तर सङ्गठित रूप, गति र दिशा लिन नसकेको ।
पार्टी एकता र फुट पनि मौसमी हाटबजार जस्तो बनेको छ । अमुक पार्टीमा ‘विद्रोह’, अमुक पार्टीमा फुट, अमुक पार्टीको अमुक पार्टीसित एकता जस्ता रङ्गीविरङ्गी शब्दहरूले सामाजिक सञ्जाल भरिएको पाइन्छ । किन फुट भयो, कसको लहडमा फुट भयो, कसलाई नेता बनाउन फुट भयो र किन फेरि त्यही स्थितिमा ‘एकता’ भयो भन्ने प्रश्नमा उत्तरको कतै छेउटुप्पो पाइँदैन । फुटमा पनि लामो अन्तर्सङ्घर्ष चल्दैन । अनि केका लागि एकता गर्ने, कस्तो सङ्ठन बनाउने ?
यी सन्दर्भहरूसित वैचारिक–राजनीतिक पक्ष, कार्यदिशा, कार्ययोजना र नेतृत्व सबै गाँसिएर आउँछन् । यस विषयमा चाहिँ खासै बहस हुँदैन । नेताका कामकारबाही र क्षमतामाथि अलिकति प्रश्न उठायो भने नेताले आफ्नो कुर्सी खतरामा ठानेर कार्यकर्तामाथि डन्डा बर्साउने र कार्यकर्तालाई पनि केही कुरामा चित्त बुझेन भने वरिपरिका दुईचार जनाको हाहाहुहु टोली बनाएर हिँडिहाल्ने गरेको पाइन्छ । वैचारिक पक्षभन्दा ‘म कहाँ’ र ‘मलाई के’ भन्ने कुरा तलदेखि माथिसम्म प्रभावी बनेको देखिन्छ ।
पार्टी पार्टीजस्तो नभएर गँजेडीहरूको अड्डा बनेको देखिन्छ । न विगतको समीक्षा हुन्छ, न वर्तमानको विश्लेषण र संश्लेषण नै । सबै तदर्थमा चलेका हुन्छन् । समीक्षा र आत्मालोचनाको पाटो भएर अघि बढ्न कोही तयार हुँदैनन् । त्यसपछि रातारात एकता अनि रातारात फुटका शृङ्खलाहरू चल्न थाल्छन् ।
कम्युनिस्ट नाम टाँसेका नवप्रतिक्रियावादी, संशोधनवादी र क्रान्तिकारी प्रवृत्ति बोकेका तीनथरी पार्टीहरू छन् नेपालमा । नेपाली समाजमा दसवर्से महान् जनयुद्धको विरासतसित गाँसिएका र नेपाली समाजको अहिलेको विशिष्ट परिस्थितिमा मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर क्रान्ति सम्पन्न गर्न अगाडि सरेकाहरूको राम्रो उपस्थिति भए पनि यसले सङ्गठित रूपमा गति र दिशा लिन सकेको स्थिति छैन ।
क्रान्तिकारी भनिएका पार्टीहरूभित्र थरीथरीका स्कुलिङका उत्पादन छन् । विभिन्न मुहानबाट आएर आसन जमाएकाहरूको विभिन्न मानसिकताको प्रदूषणले क्रान्तिकारी भनिएका समूहहरू प्रदूषित छन् । कतिपय कार्यकर्ताहरू आफ्नो पार्टीको भताभुङ्ग र लथालिङ्ग स्थितिप्रति चिन्तित र गम्भीर पनि देखिन्छन्; ‘पार्टी बिग्रियो’ भन्ने छटपटी पाइन्छ तिनमा । तर, उनीहरूले समस्याको जड बुझ्न सकेका हुँदैनन् अथवा बुझेर पनि तिनलाई हल गर्ने ‘साहस’ का साथ पाइला चाल्न सकेको पाइँदैन ।
समस्या विचारमा हो कि सङ्गठन परिचालन अथवा नेतृत्वमा हो भन्ने कुरामा प्रस्ट हुनु आवश्यक हुन्छ । समस्या कार्यकर्तामा भन्दा पनि नेतृत्वपङ्क्तिमा छ भनेर बुझ्न नसक्नु नै अहिलेको प्रमुख समस्या बनेको छ । जनयुद्धको विसर्जन गरेर माओवादी पार्टी ‘शान्तिप्रक्रिया’ मा आएपछि थुप्रै फोहोरमैला भित्रिए । आफ्नो अनुकूलता र स्वार्थलाई ध्यान दिँदै नेतृत्वमा रहेकाहरूले एकताका नाममा थरीथरीकालाई मिसाउँदै गए ।
पार्टीमा फुट र विभाजनको स्थिति भएपछि त झन् चारै ढोका खुल्दा रहेछन् र सबै ढोकाबाट ह्वाह्वार्ती पस्तो रहेछ, पसाइँदो रहेछ प्रदूषित हावा । अनि पार्टीमा वैचारिक र भौतिक ढसमस्सताका साथ प्रदूषित हावाहरूकै राइँदाइँ चल्दो रहेछ । जनयुद्धकालका हत्याराहरू नै भए पनि ती रातारात ‘श्रद्धेय कमरेड’ मा फेरिँदा रहेछन् । अनि पार्टीमा बिस्तारै क्रान्तिकारीहरू किनारा लाग्ने स्थिति बन्दो रहेछ । यो हामीले हेर्दै र भोग्दै आएको यथार्थ हो । (जनमेलबाट)