newskoseli.Com

कुन वैज्ञानिकले के आविष्कार गरे ? [१]

माइकल फेराडे (Michael Faraday) र उनको आविष्कार

फेराडेको जन्म २२ सेप्टेम्बर १७९१ मा बेलायतको न्यूविन्गटनमा भएको थियो। उनले विद्युत चुम्बकीय इन्डक्सनको सिद्धान्त प्रतिपादन गरेका थिए। उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । फेराडेले पाँच वर्षको उमेरमा मेन्चेस्टरको स्कूलमा पढ्न शुरू गरेका थिए। स्कूलको पढाइ त्यति राम्रो थिएन । तेह्र वर्षकै उमेरमा फराडेले स्कूल जान छाडे । त्यसपछि घरको आर्थिक अवस्था कमजोर भएकोले उनी एक पुस्तक पसलमा काम गर्न लागे। यहाँ उनी किताबमा गाता हाल्ने काम गर्नुका साथै किताब पनि पढ्ने गर्थे । विज्ञानका किताबहरू त उनी पाएसम्म पढ्थे। सन् १८१३ मा किताब पसलमा काम गर्दागर्दै उनले प्रसिद्ध रसाइनशास्त्री सर हम्फ्रे डेभीको सहायक भएर काम गर्ने अवसर प्राप्त गरे।  यो अवसरले फेराडेलाई वैज्ञानिक अध्ययन-अनुसन्धानमा ठूलो सहयोग मिल्यो।

फेराडेलाई सबभन्दा महान प्रायोगिक वैज्ञानिक मानिन्छ। उनले आफ्ना प्रयोगद्वारा यति धेरै महत्त्वपूर्ण खोज गरे कि तिनीहरूले संसारको अवस्था नै बदलिदिए। धेरै नपढेर पनि उनले विज्ञानका विभिन्न क्षेत्रमा धेरै महत्त्वपूर्ण कार्य गरे, जसको कारण आज उनलाई संसारका महत्त्वपूर्ण वैज्ञानिकहरूमा गणना गरिन्छ। उनलाई धेरै विश्वविद्यालयले मानार्थ उपाधि दिएका थिए तर उनले स्वीकार गरेनन्। उनले रोयल सोसाइटीको अध्यक्षको पद पनि अस्वीकार गरेका थिए।

आज संसारमा व्यापक परिमाणमा जहाँसुकै विजुली निकालिन्छ, त्यसको पछाडि फेराडेको विद्युत चुम्बकीय इन्डक्सन सिद्धान्तले काम गरेको छ। यो सिद्धान्तानुसार चुम्बकको प्रयोग गरेर बिजुलीको उत्पादन हुन्छ। वर्षौं पहिले कुनै तारलाई बेरेर क्वाइल बनाएपछि र त्यो क्वाइलमा विद्युतधारा प्रभावित गरेपछि त्यो चुम्बक बन्छ भन्ने कुरा ज्ञात थियो। यसलाई हेरेर फेराडेले के सोचे भने यदि बिजुलीबाट चुम्बक बन्छ भने चुम्बकबाट बिजुली किन बन्दैन ?  त्यसको लागि उनले एक प्रयोग गरे, जसमा तारको एक क्वाइल बनाएर चुम्बकमा राखियो। तर उनले क्वाइलमा कुनै विजुली बनेको देखेनन्। उनले धेरै पटक आफ्ना प्रयोगलाई दोहोर्याए तर उनले हरेक पटक असफलता हात पारे। वाक्व भएर एक दिन उनले क्वाइललाई फ्यांक्नको लागि चुम्बकबाट जोडले ताने र त्यहीबेला उनले विद्युत बन्दै गरेको देखे। त्यसपछि उनलाई के थाहा भयो भने यदि क्वाइल तथा चुम्बकको बीचमा सापेक्ष गति भयो भने त्यसबाट बिजुली पैदा हुन्छ। यसैलाई विद्युत-चुम्बकीय इन्डक्सनको सिद्धान्त भनिन्छ। यो खोज फेराडेले सन् १८३१ मा गरेका थिए। आज संसारमा यही तरीका अपनाएर विद्युत निकालिन्छ।

रसायन विज्ञानमा फेराडेले बेन्जिन (benzene) को खोज गरे, जसको आज व्यापक रूपमा प्रयोग हुन्छ। यसको साथै उनले अक्सीकरण संख्या (oxidation number) को अवधारणा दिए, जसको प्रयोग रासाइनिक समीकरणलाई व्यालेन्स गर्नमा हुन्छ। फेराडेले विद्युत विघटनमा पनि धेरै काम गरे। चीजहरूको विद्युत विघटन (decomposition) गर्नमा कति म्याटर प्राप्त हुन्छ भन्ने सन्दर्भमा पनि एक फर्मुला थिए, जसको एक पदलाई फेराडे नियतांक (destiny) भनिन्छ। कोलाइडी कणहरूको बारेमा उनका केही खोजहरू आजको न्यानो टेक्नोलोजीको आधार छन्। चुम्बकीय इन्डक्सनमाथि खोज गर्दा फेराडेले एउटा अर्को खोज गरे, जसानुसार यदि दुई क्वाइललाई निकट राखेर एउटामा एसी विद्युत प्रवाहित गरियो भने अर्कोमा स्वयं एसी विद्युत बन्न लाग्छ। ट्रान्सफर्मरले यही सिद्धान्तमा काम गर्छ। त्यसबेला अलग-अलग स्रोतहरूबाट प्राप्त हुने विद्युत अलग-अलग हुन्छ भन्ने मान्यता राखिन्थ्यो। अर्थात् ब्याट्रीबाट प्राप्त विद्युत, बादलको विजुली र प्राणीमा पाइने विजुली एक-अर्कोबाट भिन्न हुन्छ। तर फेराडेले के निष्कर्ष निकाले भने सबै स्रोतहरूबाट प्राप्त विद्युतको प्रकृति एकै हुन्छ। र, फरक केवल गतिमा मात्र हुन्छ। उनले प्रकाशमा चुम्बकीय क्षेत्रको प्रभाव हुन्छ भन्ने कुरा पनि प्रस्ट पारेका थिए। काँच र इस्पातको क्षेत्रमा उनले धेरै काम गरे। उनले र्काबनको कोक्लोराइड बनाए । यसैबाट सन् १८२५ मा फराडेले वेन्जिन (दागको आषौधी) आविष्कार गरेका थिए । आज पनि डाइनामो,जेनेरेटर तथा टान्सफर्मर फराडे तथा हेनरीको सिद्धान्तमा आधारित छ । इलेक्ट्रोम्याग्नेटिक रोटरी उपकरणको उनको आविष्कारले विद्युतीय मोटर प्रविधिको जग खडा गरेको थियो। २५ अगस्ट १८६७ मा ७५ वर्षको उमेरमा उनको मृत्यु भयो।

अलेक्जेण्डर ग्राहम बेल (Alexander Graham Bell) र उनको आविष्कार

ग्राहम बेलको जन्म ३ मार्च सन १८४७ मा स्कटल्याण्डको एडिनबर्गमा भएको थियो। उनलाई संसारमा सामान्यतया टेलिफोनको आविष्कारकका रूपमा चिनिन्छ। धेरै कम मान्छेलाई मात्र ग्राहम बेलले टेलीफोनको आविष्कार मात्र होइन, कम्युनिकेशन टेक्नोलजीको क्षेत्रमा धेरै उपयोगी आविष्कार गरेका छन् भन्ने कुरा थाहा छ। उनले संचार जगतमा एक नयाँ क्रान्ति ल्याइदिएका थिए। अप्टिकल-फाइबर सिस्टम, फोटोफोन, बेल र डेसिबल यूनिट, मेटल-डिटेक्टर, आदिका आविष्कार पनि ग्राहम बेलले नै गरेका हुन्। यी सबै यस्तो प्रविधिमा आधारित छन्, जस बिना सञ्चार-क्रंतिको कल्पना पनि गर्न सकिंदैन। ग्राहम बेल विलक्षण प्रतिभा धनी थिए। उनले तेह्र वर्षको उमेरमा नैं ग्रेजुएट गरेका थिए। उनी सोह्र वर्षको हुँदा एक राम्रो म्यूजिक शिक्षकका रूपमा प्रसिद्ध भएका थिए। ग्राहम बेलकी आमा बहिरी थिइन्। यही कारणले उनले ध्वनि विज्ञानको मद्दतबाट नसुन्ने मानिसहरूको लागि यस्तो यन्त्र बनाउनमा सफल भए, जुन आज पनि कान नसुन्नेहरूको लागि धेरै उपयोगी छ।  ग्राहम बेल बाल्यकालबाट नैं ध्वनि विज्ञानमा गहिरो रूचि राख्थे, त्यसैले लगभग २३ वर्षको उमेरमा नैं उनले एक यस्तो पियानो बनाए, जसको मधुर आवाज एकदम टाढासम्म सुन्न सकिन्थ्यो। केही समयसम्म उनी ‘स्पीच टेक्नोलजी’ विषयका शिक्षक पनि भएका थिए। यस बेला पनि उनले आफ्नो प्रयास जारी राखे र एक यस्तो यन्त्रलाई बनाउनमा सफल भए, जुन ‘म्यूजिकल नोट्स’ पठाउन मात्र सक्षम थिएन, बरू यसले ‘आर्टिकुलेट स्पीच’ पनि दिन सक्थ्यो। यो नै टेलीफोनको सबै भन्दा पुरानो मोडेल थियो। उनको मृत्यु २ अगस्ट १९२२ मा वेनिनमा भएको थियो।

क्रिश्चियन हाइगेन्स (Christiaan Huygens) र उनको आविष्कार

हाइगेन्सको जन्म १४ अप्रिल १६२९ मा हल्याण्डको हेगमा भएको थियो। उनी गणितज्ञ र प्राकृतिक दार्शनिक थिए। उनलाई विशेषगरी खगोलशास्त्री, भौतिक वैज्ञानिक, अनिश्चिततावादी र समयविज्ञानवेत्ताको रूपमा चिनिन्छ। उनका पिता कंस्टेन्टिन हाइगेन्स एक प्रसिद्ध व्यक्ति थिए, त्यसकारण क्रिश्चियन हाइगेन्स वालककालदेखि नै  राम्रो वातावरणमा हुर्किए। १६ वर्षसम्म उनलाई निजी शिक्षक राखेर पढाइयो। सन् १६४५ मा हाइगेन्स लेडेन विश्वविद्यालयमा पढ्न गए। त्यहाँ उनले गणित र कानूनको अध्ययन गरे । सन् १६४७ मा उनी ब्रेडा विश्वविद्यालयमा अध्ययनको लागि गए। सन् १६५१ मा उनले विज्ञानको क्षेत्रमा अनुसन्धान कार्यको शुरूवात गरे। उनले अनेकौं क्षेत्रमा एकसाथ काम गर्न शुरू गरे । यहीबेला उनले शनीको रिंगलाई देखाएका थिए। सन् १६६१ मा उनले तत्कालीन नवगठित ‘रोयल सोसाइटी’ को विदेशी सदस्यको रूपमा भाग लिए। त्यहीबेला उनले पिण्ड टकराउने नियमहरूको बारेमा बुझाए। सन् १६५५ मा दूरदर्शी निरीक्षण क्षमता बढाउने प्रयत्नमा आफ्नो भाइको सहायताबाट उनले लेन्सको घिसाई वा पोलिस गर्ने नयाँ र उत्कृष्ट विधिको पनि विकास गरे। आफूले बनाएको लेन्सबाट उत्तम प्रकारको दूरबीन तयार गरी उनले शनिको एक नयाँ उपग्रहको खोज गरे। उनले वृत्ताकार गतिमा उत्पन्न हुने केन्द्रीय बलको पनि विशद व्याख्या गरे, जसको आधारमा न्युटनले गुरूत्वाकर्षणको नियमको सफलतापूर्वक प्रतिपादन गरे।  सन् १६६६ मा हाइगेन्स पेरिस गए र लामो समयसम्म त्यही बसे। उनको पेण्डुलम घडी सम्बन्धी अनुसन्धान धेरै महत्त्वपूर्ण र उपयोगी थियो। उनले आफ्नो अनुसन्धानको आधारमा घडी बनाउने मानिससँग एउटा घडी तयार गराए। सन् १६७२ मा उनको भेट लाइब्निजसँग भयो र उनीसँगै रहेर गणित सम्बन्धी उनको कार्यलाई अगाडि बढाए। उनले पेण्डुलम घडीका विभिन्न नियमहरूमा आधारित पुस्तक लेखे, जुन धेरै लोकप्रिय भयो। हाइगेन्सले प्रकाशको प्रकृतिमाथि पनि अनुसन्धान गरे। उनले प्रकाशको स्थानान्तरणलाई तरंग गतिको रूपमा बताए र बुझाए तर उनले ईथरको अस्तित्वलाई स्वीकार गरे। यस सम्बन्धमा न्यूटनसँग उनको मतभिन्नता थियो। न्यूटन प्रकाशको कणिका सिद्धान्तलाई मान्थे र उनले ईथरको अस्तित्वलाई नकारेका थिए।

हाइगेन्सले अरू धेरै क्षेत्रमा पनि अनुसन्धान गरे। उनले आन्तरिक दहनको इन्जिनको डिजाइन गरेका थिए, जसमा इन्धनको स्थानमा बारूदको प्रयोग गर्ने भन्ने थियो। तर त्यसलाई उनले कार्यरूप दिन सकेनन्। उनी एक अद्भुत चिन्तक पनि थिए र के मान्दथे भने अरू ग्रहमा पनि जीवन छ एवम् मानिस पनि रहन्छन्। उनी वृहस्पति र शनि ग्रहको बारेमा तथा जहाज निर्माण र अन्य इन्जिनियरिङ क्रियाकलापहरूको बारेमा पनि लेखेका थिए। हाइगेन्सले आफ्नो समयमा प्रसिद्ध विद्वान लाइब्निजलाई गणित पठाएका थिए। उनले आफ्नो समयको गणितबाट यसरी परिचित गराए कि पछि लाइब्निजको गणना श्रेष्ठ गणितज्ञहरूमा हुनलाग्यो। चन्द्रमाको एक पर्वतको नामाकरण क्रिश्चियन हाइगेन्सको नाममा गरिएको छ। यसको अतिरिक्त उनको नाममा नयाँ वैज्ञानिक उपलब्धिहरूको पनि नामकरण भएको छ। ८ जुलाई १६९५ मा नेदरल्याण्डको हेगमा उनको निधन भयो।

ब्लेइज पास्कल (Blaise Pascal) र उनको आविष्कार

पास्कलको जन्म १९ जुन १६२३ मा फ्रान्सको क्लरमन्ट-फेरान्डमा भएको थियो। उनी गणितज्ञ, भौतिकशास्त्री र धार्मिक दार्शनिक थिए। कम्प्युटरको प्रोग्रामिङ सिक्न प्रयोग गरिने एक भाषालाई पास्कल उनै वैज्ञानिकको नामबाट रहनगएको हो। पास्कलले संसारमा पहिलो यान्त्रिक कम्प्युटर वा क्यालकुलेटरको आविष्कार गरेका थिए। बचपनदेखि नै पास्कल शारीरिक रूपले कमजोर थिए र प्रायः बिरामी भइरहन्थे। पास्कलको शारीरिक अवस्थाले गर्दा उनका पिताले उनलाई गणितभन्दा टाढै राख्न चाहन्थे तर पछि उनको रूचि देखेर उनलाई गणित पढ्ने अनुमति दिइयो। शुरूमा यिनलाई उनको  पिताले नै पढाउने-लेखाउने कार्य गरेका थिए।  १२ वर्षको उमेरमा नै उनले ज्यामितिमाथि कार्य गरेका थिए।  पास्कलले १६ वर्षको उमेरमा नै संभाव्यता सिद्धान्त सम्बन्धमा एक लेख लेखेका थिए। पास्कलले आफ्नो कोनिक सेक्शन सम्बन्धी प्रमेयको आधारमा ४०० प्रस्तुतिहरू तयार गरेका थिए। जुन-जुन विद्वानहरूले उनको जाँच गरे, उनीहरू पास्कलको प्रतिभाबाट अचम्मित भएका थिए।

पास्कलका पिता सरकारी ट्याक्स संकलन गर्ने कर्मचारी थिए। यसको लागि उनलाई कठिन गणना गर्नुपर्दथ्यो। आफ्ना पितालाई अंकसँग लडाइ गरिरहेको देखेर पास्कलको मस्तिस्कमा क्यालकुलेटर बनाउने विचार उत्पन्न भयो। त्यसपछि उनले सन् १६४२ पास्कलीन नामक पहिलो यान्त्रिक क्यालकुलेटर बनाए। यो क्यालकुलेटरले घिर्नी र लिभरद्वारा काम गर्दथ्यो र यसले सामान्य जोड्ने र घटाउने काम गर्न सक्थ्यो। गणितमा पास्कलले वायोनोमिनल गुणांक (binomial coeffcient) हरूको गणनाको लागि पास्कल त्रिभुजको रचना गरे र ती गुणांकहरूको बीचमा एक गणितीय सम्बन्ध स्थापित गरे। पास्कलले ज्यामितिको हेल भनिने वक्र साइक्लोडमाथि धेरै काम गरे र त्यससँग सम्बन्धित केही समाधान नभएका प्रश्नहरूको एक चुनौतिको रूपमा घोषणा गरे। त्यस बेलाका स्थापित गणितज्ञ ती प्रश्नहरूको हल गर्नमा असमर्थ रहे। अन्तमा उनी स्वयंले एक छद्म नामबाट ती प्रश्नहरूको हल प्रस्तुत गरे, जसमाथि पछि धेरै विवाद भयो। त्यसबेलाका वैज्ञानिकहरूको मान्यता भ्याकुमको कुनै अस्तित्व हुँदैन र ब्रम्हाण्डमा कुनै ठाउँ खाली छैन भन्ने थियो। तर पास्कलले वायुमण्डलीय दबावमा प्रयोगको बेला भ्याकुमको अस्तित्व वास्तवमा छ भन्ने पाए। उनले तरल दबावसँग सम्बन्धित एक महत्त्वपूर्ण नियमको खोज गरे, जसानुसार तरलले सबै दिशामा समान दबाव पार्दछ। आज यही नियमको प्रयोग गरी हाडडरोलिक ब्रेक (hydraulic break) बनाइन्छ, जुन मोटर गाडी र भारी बाहनहरूमा प्रयोग हुन्छन्। यसको साथै क्रेन जस्ता उपकरणहरूमा पनि यही नियमको प्रयोग हुन्छ।

पास्कल प्रोबेबिलिटी सिद्धान्त (theory of probability) का पनि संस्थापक हुन्। गणितको यो शाखालाई संभावनाहरूको विज्ञानको नामले पनि जानिन्छ। यो आधुनिक विज्ञानका धेरै शाखाहरूको आधार हो, जसमा क्वान्टम भौतिक विज्ञान, सांख्यिकी, अर्थशास्त्र, बिमारीहरूको गणितीय मोडलिंग, इत्यादि प्रमुख हुन्। त्यतिबेलाको समाजमा पास्कलको धार्मिक दर्शनले पनि धेरै ठूलो प्रभाव पारेको थियो। पास्कलले गणितीय र भौतिकशास्त्रीय विषयमा कम लेखे पनि उनको लेखनमा धेरै मौलिकता थियो। उनले हरेक तरीकामा नयाँपन ल्याउने कोशिस गरे। उनको कार्य गर्ने शैली नवीन र रोचक हुन्थे। पास्कलले पहिलो पटक नाडीमा घडी बाँधेका थिए। उनले नै पहिलो पटक सिरिंज बनाएका थिए र त्यसको सहायताले तरलमा दबाव स्थापित गरेका थिए।  अगस्ट २९,  १६६२ मा ३९ वर्षको उमेरमा फ्रान्सको पेरिसमा उनको निधन भयो।

सर जोसेफ जोन थोमसन (Sir Joseph John Thomson) र उनको आविष्कार

थोमसनको जन्म १८ डिसेम्बर १८५६ मा इंग्ल्यण्डको मेनचेस्टरमा भएको थियो। थोमसनले इलेक्ट्रोनको खोज गरेका थिए। उनले ग्यासको माध्यमबाट विजुलीको डिस्चार्जको अध्ययन गरेका थिए। आफ्नो अध्ययनको क्रममा उनले के पाए भने एउटा ट्यूबको माध्यमबाट विद्युतको प्रवाह गर्दा ऋणात्मक चार्जयुक्त इलेक्ट्रोड (क्याथोड) ले एक विकिरण उत्सर्जन गर्दछ, जसले एक फोटोग्राफिक प्लेटलाई आकर्षित गर्दछ। यी क्याथोड किरण कुनै विद्युत चुम्बकीय विकिरण नभएर कण थिए, किनकि तिनीहरूमा द्रव्यमान (mass) थियो। एक चुम्बकीय क्षेत्रमा तिनीहरूले ऋणात्मक चार्जयुक्त व्यवहार देखाउँथे। थोमसनले तिनीहरूलाई कोर्पुसल्स भने, जसलाई पछि इलेक्ट्रोनहरूको रूपमा जानियो। थोमसनले विभिन्न प्रकारका विद्युत र चुम्बकीय क्षेत्रहरूमा यी किरण कसरी मोडिन्छन् भन्ने कुराको अध्ययन गरे। आफ्ना यी विधिहरूको प्रयोग गरेर उनले द्रव्यमान र आवेश (चार्ज) को अनुपात निर्धारण गरे र इलेक्ट्रोन उपपरमाणु (sub-atomic) कण हुन्छन् भन्ने निष्कर्ष निकाले। थोमसनले यदि इलेक्ट्रोन ऋणात्मक चार्जयुक्त कण हुन्छ भने परमाणुको विद्युत चार्जलाई शून्य बनाउनको लागि यो चार्ज बराबर एक धनात्मक चार्जयुक्त कण पनि हुनुपर्दछ। थोमसनले के बताए भने एउटा परमाणु एक वाटरमेलन जस्तै हुन्छ, जसमा धनात्मक चार्जले वाटरमेलनको आयतनलाई भर्दछ र ऋणात्मक चार्जयुक्त कण इलेक्ट्रोन वाटरमेलनका बीजहरू जसरी यसमा डुबिरहन्छन्। आधुनिक खोजहरूपछि परमाणु संरचनाका यी गलत अवधारणाहरूको बारेमा जानकारी प्राप्त भयो। तर थोमसनको यो खोजले परमाणु संरचनालाई ऋणात्मक र धनात्मक चार्जको सन्दर्भमा अगाडि बढायो।

थोमसनलाई उनको खोजको लागि सन् १९०६ मा नोवेल पुरस्कार प्राप्त भएको थियो। थोमसन सन् १८८२ मा लेक्चरर नियुक्त भएका थिए। सन् १८९० मा उनले एलिजावेथ पेजेटसँग विवाह गरेका थिए। उनका छोरा सर जर्ज पेजेट थोमसनले पनि सन् १९३७ मा नोवेल पुरस्कार प्राप्त गरेका थिए। सन् १८८३ मा उनको पुतक Treatise on The Motion of Vortex Rings प्रकाशित भयो, जसको लागि उनलाई सन् १८८४ मा एडम पुरस्कार प्राप्त भएको थियो। थोमसनले सन् १८८४ मा प्रायोगिक भौतिक विज्ञानमा क्वेन्डिश प्रोफेसरशीप जितेका थिए। उनले नाइट उपाधि पनि प्राप्त गरे भने धेरै विश्वविद्यालयहरूबाट विभिन्न उपाधिले उनलाई समान्नित गरिएको थियो। उनी सन् १९१५ देखि १९२० सम्म ‘रोयल सोसाइटी’ को अध्यक्ष पनि रहे। उनले विद्युत प्रवाह, इलेक्ट्रोनिक्स र रसायन विज्ञानमा इलेक्ट्रोनहरूको महत्त्वको आधार बनाए।  उनले विद्युत र चुम्बकत्व सम्बन्धमा पनि धेरै लेख लेखे। उनले नियोनको आइसोटोपको पनि खोज गरेका थिए। ३० अगस्ट १९४० मा इंग्ल्याण्डको क्याब्रिजमा उनको निधन भयो।

थोमस एल्भा एडिसन (Thomas Alva Edison) र उनको आविष्कार

एडिसनको जन्म ११ फेब्रुअरी १८४७ मा अमेरिकाको ओहायोमा भएको थियो। एडिसनलाई २०औं शताब्दीका संसारका सबभन्दा धेरै आविष्कार गर्ने व्यक्ति थिए। उनले मोशन पिक्चर क्यामेरा, फोनोग्राफ, तापदिप्त प्रकाश बल्ब, टेलिफोन ट्रान्समिटर, आदिजस्ता अन्य धेरै जीवनोपयोगी आविष्कारहरू गरेका थिए। उनी भारी मात्रामा उत्पादनको सिद्धान्त अनुसार विशाल समूह लगाएर अन्वेषण कार्य गर्ने पहिलो अनुसन्धानकर्ता थिए। त्यसकारण एडिसनलाई पहिलो औद्योगिक प्रयोगशाला स्थापना गर्ने श्रेय दिइन्छ। उनी एक्लैले १०९३ आविष्कार गरेका थिए। एडिसन चार वर्षको उमेरसम्म बोल्दैनथे। बोल्न थालेपछि उनी अति धेरै बोल्थे। एडिसनका अनुसार उनकी आमा नै सबभन्दा असल शिक्षिका थिइन् र ६ वर्षसम्म उनकी आमाले घरमा नै पढाइन्। बचपनदेखि नै उनी विभिन्न प्रकारका प्रयोगहरूमा रमाउँथे। शुरूमै उनले कुशाग्रता, जिज्ञासुपना  र व्यवशायको परिचय दिएका थिए। विद्यालयमा उनले धेरै कम समय पढे। यद्यपि एडिसनले १० वर्षको उमेरसम्ममा ह्यूम, गिबन, आदिका ग्रन्थहरू तथा डिक्सनरी अफ साइन्सेजको अध्ययन पूरा गरेका थिए। १२ वर्षको उमेरमा उनले तरकारी, फलफूल र समाचारपत्रको व्यापार गर्थे। उनी रेलमा पत्रिका छापेर वैज्ञानिक प्रयोग गर्थे। टेलिग्राम प्रसारणमा दक्षता हासिल गरी २० वर्षको उमेरसम्ममा उनले टेलिग्राम कर्मचारीको रूपमा काम गरे।

आधुनिक मानव जीवनमा एडिसनको योगदान महत्त्वपूर्ण छ। एडिसनले यति धेरै आविष्कार गरे  र  उनलाई आविष्कारहरूको राजा भनिन्छ।  उनको सबभन्दा प्रसिद्ध आविष्कार बिजुलीको बल्ब (electric bulb) हो। उनले इलेक्ट्रिक पावरलाई घर र उद्योगहरूसम्म पुर्याउने सिस्टम बनाए। उनले पहिलो पटक वस्तुलाई औद्योगिक परिमाणमा बनाउने फ्रेमवर्क बनाए र पहिलो औद्योगिक प्रयोगशालाको आधार तयार गरे। सन् १८५९ मा सर्वप्रथम आविष्कारकको रूपमा एडिसनले इलेक्ट्रिक भोट रेकर्डर बनाएका थिए । सन् १८७० देखि १८७६ सम्म एडिसनले अनेकौं आविष्कारहरू गरे। उनले एकै टेलिग्राममा चार, छ सन्देश अलग-अलग पठाउने विधि खोजे, स्टक एक्सचेन्जको लागि टेलिग्राम छाप्ने स्वचालित मेशिनलाई सुधारे र उनले हार्मोनिक टेलिग्राफको आविष्कार गरे। यसैबाट प्रेरणा पाएर पछि ग्राहमबेलले टेलिफोनको आविष्कार थिए। एडिसनको टेलिग्राफिक सिद्धान्तको आधारमा नै माइक्रोफोन र फ्याक्स मेशिन जस्ता उपकरण अस्तित्वमा आएका हुन्। टेलिफोनको रिसिभरमा प्रयोग हुने कार्बन माइक्रोफोन एडिसनकै आविष्कार थियो। एडिसनको सबभन्दा चर्चित आविष्कार भने विद्युत बल्ब नै हो। उनले यो बल्ब बनाउन उनले दुई वर्षको मेहनत लगाएका थिए। यो बल्बमा कार्बन फिलामेन्टको प्रयोग गरिएको थियो। अहिले टंगस्टनको फिलामेन्ट प्रयोग हुन्छ। एक्स-रे रेडियोग्राफ उतार्नको लागि एडिसनले फ्लोरोस्कोपको आविष्कार गरे। अहिले यही प्रविधि प्रयोग हुन्छ। फिल्म मिडियामा पनि एडिसनले महत्त्वपूर्ण काम गरे। उनले आवाजको रेकर्डिङ र पुनुरूत्पादनको यन्त्र फोनोग्राफको आविष्कार गरे, जुन पछि ग्रामोफोनको नामले प्रसिद्ध भयो। उनले बनाइएको काइनेटोग्राफ संसारको पहिलो मुभी क्यामेरा थियो। सन् १८७५ मा एडिसनले साइन्टिफिक अमेरिकनमा इथरीय बलमाथि खोजपूर्ण लेख प्रकाशित गराएका थिए। सन्  १९७८ मा उनले फोनोग्राफ मेशिन बनाएका थिए। २१ अक्टुबर १८७९ मा  एडिसनले ४० घण्टाभन्दा बढी समयसम्म बिजुलीबाट बल्ने भ्याकुम बल्ब बनाएका हुन्।

सन् १८८३ मा उनले एडिसन प्रभावको खोज गरे, जुन कालान्तरमा रेडियो बल्बको जन्मदाता प्रमाणित भयो। त्यसपछिका वर्षहरूमा एडिसनले प्रकाश, ताप र शक्तिको लागि विद्युतको उत्पादन र तीन-तार वितरण प्रणालीका साधन र विधिमाथि प्रयोग गरे; भूमिमुनि केबलको लागि विद्युतका तारलाई रबर र कपडामा लपेट्ने विधि खोजे; डाइनामो र मोटरको आविष्कारमा सुधार गरे, यात्री र सामान ढुवानी गर्नको लागि विद्युत रेलगाडी बनाए र चलिरहेको जहाजबाट सन्देश पठाउने र प्राप्त गर्ने विधिको आविष्कार गरे। एडिसनले क्षार संचायक ब्याट्री पनि बनाए; फलामलाई चुम्बकीय विधिबाट गहन बनाउने कोशिस गरे। उनले सन् १८९१ मा चलचित्र क्यामरा बनाएका थिए र यी चित्रहरूलाई प्रदर्शित गर्नको लागि  kinetoscope को आविष्कार गरे। पहिलो विश्वयुद्धमा उनले जलसेना सल्लाहकार बोर्डको अध्यक्ष बनेर ४० युद्धउपयोगी आविष्कार गरेका थिए। सन् १९२७ मा एडिसन ‘नेशनल एकेडेमी अफ साइन्सेज’ को सदस्य निर्वाचित भएका थिए। १८ अक्टुबर १९३१ मा अमेरिकाको न्युजर्सीमा उनको देहान्त भयो।

https://narayangiri.wordpress.com बाट

क्रमशः

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर