newskoseli.Com

युट्युबकारिता : के हो, के गर्ने र के नगर्ने ?

स्थापना र विकासक्रम

युट्युब । सुन्दा अनौठो लाग्ने तर नेपाल र संसारभरिकै धेरै नागरिकले सुनेको, चिनेको र जानेको विषयवस्तु हो यो । अझ धेरैका लागि पेशा, व्यवसाय वा जीविकाको माध्यम र कतिपयका लागि त ‘आतङ्क’ समेत नै बनेको छ, युट्युब । एक प्रकारको सोसल मिडिया प्लेटफर्मकै रूपमा सञ्चालित युट्युब श्रब्यदृश्य सामग्री अर्थात् मूलतः भिडियो प्रसारण गर्ने वेबसाइट हो । सुरुमा ‘पेपाल’ नामक अनलाइन वाणिज्य कम्पनीका तीन कर्मचारीहरू– स्टीभ चेन, चाड हुर्ले र जावेद करिमले बनाएर १४ फेब्रुअरी, २००५ मा दर्ता गरेको युट्युबलाई उनीहरूले पारिवारिक भिडियोहरू शेयर गरी सर्वसाधारणले रमाइलो गर्न सकून् भनेर सञ्चालनमा ल्याएका थिए । त्यसबेलैदेखि अमेरिकाको क्यालिफोर्नियास्थित सान ब्रुनोमा स्थापित यसको मुख्यालय अहिले पनि त्यहीं छ ।

युट्युब खोलिएको केही महिनापछि अर्थात् मे, २००५ देखि यसको ‘बेटा’ संस्करण सञ्चालनमा आयो । त्यतिबेला यसमा दैनिक ३० हजारजति दर्शक आकर्षित भएका थिए । १५ डिसेम्बर, २००५ देखि औपचारिक सञ्चालनमा आउँदासम्म युट्युबमा भिडियो हेर्नेको सङ्ख्या दैनिक दुई मिलियन नाघिसकेको थियो । जनवरी, २००६ सम्ममा भने युट्युबमा भिडियो हेर्नेहरूको सङ्ख्या दैनिक २५ मिलियन नाघिसकेको थियो । मार्च, २००६ सम्ममा युट्युबमा उपलब्ध भिडियोको सङ्ख्या पनि २५ मिलियन नाघिसकेको थियो र दैनिक २० हजारजति नयाँ भिडियो अपलोड हुने गरेका थिए । त्यसको केही महिनापछि नै युट्युबमा अपलोड भएका भिडियोहरूको सङ्ख्या सय मिलियन नाघिसकेको थियो र भ्युज पनि सोही अनुपातमा बढिरहेको थियो ।

युट्युब स्थापनाको छोटो अवधिमै भिडियो अपलोड गर्ने र हेर्नेहरूको सङ्ख्या ह्वात्तै बढेपछि त्यसका संस्थापक एवम् सञ्चालकहरू अनेकौं समस्या र चुनौतीहरूको चाङले थिचिए । अत्याधुनिक र अधिकतम क्षमतायुक्त कम्प्युटरजन्य उपकरणहरू पर्याप्त मात्रामा किन्नुपर्ने, इन्टरनेटको क्षमता गुणात्मक रूपमै बढाउनुपर्ने, वेबसाइट र सर्भरको क्षमता अतुलनीय किसिमले वृद्धि गर्नुपर्ने, सर्वसाधारणबाट अपलोड हुन सक्ने गैरकानुनी, अवैध र प्रतिलिपि अधिकार हनन गर्दै चोरी गरिएका भिडियोहरूले सिर्जना गर्ने समस्या तथा मुद्दामामिलाहरूको सामना गर्नुपर्नेजस्ता चुनौतीहरू युट्युब संस्थापकहरूका मुख्य समस्या थिए । व्यावसायिक रूपले सीमित सफलता हासिल गर्दै गए तापनि यी चुनौतीहरूको सामना गर्न सक्ने स्तरमा संस्थापक कम्पनी थिएन । त्यसैकारण युट्युबका संस्थापकहरू कम्पनी बिक्री गर्ने निर्णयमा पुगे र ग्राहक खोज्न थाले ।

अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले पनि सन् २००५ देखि नै श्रब्यदृश्य प्रसारण गर्ने सोसल मिडिया प्लेटफर्म ‘गुगल भिडियो’ सञ्चालन गरिरहेको थियो । तर, त्यसले अपेक्षित ट्राफिक (भिडियो अपलोड र भ्युज) हासिल गर्न सकेन । युट्युबको तुलनामा गुगल भिडियो निकै पछाडि नै रह्यो । गुगलले अन्ततः ९ अक्टोबर, २००६ मा कम्पनी युट्युब आफूले किन्ने घोषणा गर्‍यो र १.६५ बिलियन अमेरिकी डलर तिरेर १३ नोभेम्बरमा विधिवत् रूपमै स्वामित्व हासिल गर्‍यो । युट्युब किनिसकेपछि गुगलले त्यसलाई आफ्ना अन्य साइट वा प्लेटफर्महरूमा मर्ज नगरी पूर्ववत् रूपमै छुट्टै सञ्चालन गरिरह्यो ।

त्यसपछि गुगलले युट्युबका भिडियोहरूमा प्रतिलिपि अधिकारसम्बन्धी झमेला कम गर्न थुप्रै मनोरञ्जनात्मक तथा साङ्गीतिक कम्पनीहरूसँग सम्झौता गर्‍यो । प्रतिलिपि अधिकार हननका कारण पहिल्यै लफडा परेका हजारौं भिडियो हटाउन गुगल राजी भयो । २००८ पछि गुगलले कयौं चलचित्र निर्माता कम्पनी र टेलिभिजन स्टेशनहरूसँग सम्झौता गरी लामो आयामका सिङ्गै चलचित्र तथा टेलिभिजन कार्यक्रमहरू समेत निःशुल्क हेर्न पाइने व्यवस्था मिलायो । युट्युबमै प्रशारित हुने विज्ञापनहरूको आम्दानीबाट यस्ता चलचित्र र कार्यक्रमको उत्पादन र प्रसारणमा लाग्ने खर्च धानिने प्रबन्ध मिलाइयो ।

अहिलेसम्म आइपुग्दा युट्युबका प्राविधिक, आर्थिक, कानुनी र सामाजिक पक्षहरूमा निकै ठूलो विकास, परिमार्जन र परिवर्तन भइसकेको छ । आजभोलि युट्युबलाई शुल्क तिरेर ग्राहक बनेका ‘प्रिमियम’ प्रयोगकर्ताले विज्ञापनरहित भिडियो हेर्न सक्छन् भने निःशुल्क हेर्नेहरूले भिडियोको सुरुदेखि अन्त्यसम्म बारम्बार आइरहने विज्ञापनहरूको सामना गर्नुपर्छ । युट्युबमा कार्यक्रमहरूको लाइभ स्ट्रिमिङ गर्न पाइने सुविधा छ र प्रयोगकर्ताले पनि ‘रियल टाइम’ भिडियो हेर्न सक्दछन् ।

क्याटेगोराइजेसनका आधारमा विषयवस्तु र रुचिअनुरूपका भिडियो अगाडि–अगाडि देखापर्ने, सन्दर्भ र सिजनअनुसारका भिडियो अघि–अघि आउने, एउटै भिडियोलाई आफूसँग भएको डिभाइसको क्षमता र इन्टरनेटको गतिअनुसार विभिन्न फरक–फरक साइज तथा गुणस्तरमा हेर्न पाइने, भिडियो सर्टस्मार्फत ट्रेलर वा हाइलाइट्स् उपलब्ध हुने, दृश्यहरूलाई स्वचालितरूपमै शब्दाङ्कन गराउन र अनेकौं भाषामा अनुवाद गराएर पसारण गर्न तथा हेर्न पाइने आदिजस्ता विशेषता (फिचर्स) युट्युबले उपलब्ध गराइसकेको छ । कपीराइट, आचारसंहिता र सामाजिक शिष्टाचार तथा कानुन पालना गराउन मद्दत गर्ने खालका निकै हदसम्म प्रभावकारी स्वचालित प्रणालीहरू समेत युट्युबमा उपलब्ध छन् ।

युट्युब : ‘सामाजिक सञ्जाल’ कि ‘मिडिया’ ?

हामीकहाँ ‘अनलाइन टिभी’, ‘मिडिया’, ‘डिजिटल टिभी’ इत्यादिका रूपमा प्रचार गर्ने र बुझ्ने गरिए तापनि युट्युब वस्तुतः इन्टरनेटमा आधारित सामाजिक सञ्जाल नै हो । श्रब्यदृश्य (भिडियो) शेयरिङ गर्ने सुविधायुक्त वेबसाइटमा आधारित एक किसिमको सामाजिक सञ्जाल नै युट्युब भएको चर्चा गर्दै दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयको स्कुल अफ सिनेम्याटिक आर्टस्का अध्यापक प्याट्रिसिया जी. लेन्ज (२००८) ले एक अनुसन्धानात्मक आलेखमा लेखेका छन्– “एक भिडियो शेयरिङ प्लेटफर्मका रूपमा सुरु भएको युट्युबले प्रयोगकर्ताहरूलाई व्यक्तिगत प्रोफाइल पृष्ठ समेत उपलब्ध गराउँछ, जसलाई ‘च्यानल पेज’ वा ‘मित्रतास्थल’ का रूपमा समेत लिन सकिन्छ” (लेन्ज, २००८, पृ. ३६१) ।

सामाजिक सञ्जाललाई अर्थ्याउँदै बडी र एल्लिसनलाई उद्धृत गरेर लेन्जले सोही आलेखमा उल्लेख गरेका छन्– “सामाजिक सञ्जाल साइटहरू भनेका त्यस्ता वेबसाइट हुन्, जसले सहभागीहरूलाई प्रणालीभित्र सार्वजनिक वा अर्द्धसार्वजनिक प्रोफाइल निर्माण गर्ने अनुमति दिन्छन् र ती प्रोफाइलमा पहुँच गर्न सक्ने जोसुकैले देख्न र अन्तर्क्रिया सक्ने तरिकाद्वारा अन्य प्रयोगकर्ताहरूसँग त्यस्ता प्रोफाइलवालासँग औपचारिक सम्बन्ध स्थापित गर्न सक्दछन्” (लेन्ज, सन् २००८, पृ. ३६२) ।

सञ्चार तथा सूचना प्रविधिका जुनसुकै साधन वा माध्यम होऊन् या सामाजिक सञ्जाल नै किन नहोऊन्; तिनलाई आमसञ्चारको माध्यमका रूपमा व्यवस्थापन, सञ्चालन र परिचालन गर्न भने सकिन्छ र मिल्दछ । नेपालमा समेत अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ (पहिलो र दोस्रो संशोधन, २०७४ सहित) ले वेबसाइटहरूमा आधारित अनलाइन सञ्चार माध्यमसहित युट्युबमार्फत प्रशारित हुने सामग्रीहरू समेतलाई ‘अनलाइन पत्रकारिता’ र ‘सञ्चार माध्यम’ कै रूपमा परिभाषित गरेको छ ।

यद्यपि यस सन्दर्भमा ध्यान दिनुपर्ने कुरा के हो भने जोसुकैले, जुनसुकै किसिमबाट खोल्ने र चलाउने वेबसाइट, सामाजिक सञ्जालहरू र युट्युब एकाउन्टहरू ‘सञ्चार माध्यम’ होइनन् र तिनले गर्ने कर्म ‘पत्रकारिता’ हुँदैन । यस निर्देशिकाले गरेको व्यवस्था तथा सञ्चार नियामक निकाय प्रेस काउन्सिल नेपालमार्फत जारी आचारसंहिता तथा आत्म–इमानदारिता समेतको परिपालना गरेर सञ्चालन गरिने वेबसाइट र युट्युब एकाउन्टहरू मात्रै सञ्चार माध्यम हुन सक्दछन् र तीमार्फत गरिने सञ्चारकर्म मात्रै पत्रकारिता हुन सक्दछ ।

निर्देशिका र आचारसंहितामा के छ ?

‘अनलाइन पत्रकारिता’ लाई परिभाषित गर्दै अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाको दफा १ (क) मा उल्लेख गरिएको छ– “अनलाइन पत्रकारिता भन्नाले इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गरी समाचार, सूचना, विचार, तस्बिर वा श्रब्य–दृश्यलगायतका समाचारमूलक वा जानकारीमूलक सामग्रीहरूको उत्पादन, प्रकाशन, प्रसारण वा वितरणको प्रयोजनका लागि समाचार लेखन, सूचना तथा दृश्य सङ्कलन एवम् सम्पादनसम्बन्धी प्राविधिक कार्य सम्झनुपर्छ ।”

त्यसैगरी, सोही दफाको उपदफा (ख) मा ‘अनलाइन सञ्चार माध्यम’ लाई परिभाषित गर्दै लेखिएको छ– “अनलाइन सञ्चार माध्यम भन्नाले प्रचलित कानुनबमोजिम स्थापना वा दर्ता भई पत्रकारिता र सम्पादकीय सिद्धान्त अङ्गीकार गरी इन्टरनेटको माध्यममा सङ्केत, चिह्न, अक्षर, आवाज, ग्राफिक्स, गीत, सङ्गीत, भिडियो, एनिमेसन तथा विभिन्न बहुमाध्यम (मल्टिमिडिया) को प्रयोग गरी सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रब्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्नेे विधि, प्रक्रिया र माध्यम सम्झनुपर्छ ।”

त्यसैगरी, सञ्चार नियामक निकाय प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा २ को उपदा (६) मा ‘पत्रकार’, (८) मा ‘प्रसारण’ र (११) मा ‘सञ्चार माध्यम’ शब्दावलीलाई परिभाषित गरिएको छ । यी परिभाषाले को पत्रकार हुन् र को होइनन्; कुन कार्य सञ्चार माध्यमका प्रसारण हुन् र कस्ता कार्य सामाजिक सञ्जालका ‘पोस्ट’ मात्र हुन् अनि कस्ता संस्था सञ्चार माध्यम हुन् र कस्ता संस्था सञ्चार माध्यम होइनन् भन्ने कुरालाई राम्रैसँग प्रष्ट्याएका छन् ।

उपदफा (६) मा लेखिएको छ– “‘पत्रकार’ भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यवसाय वा सेवालाई प्रमुख व्यवसाय अपनाई, पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आङ्शिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिन्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादकजस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनु पर्दछ ।”

त्यसैगरी, उपदफा (८) मा लेखिएको छ– “‘प्रसारण’ भन्नाले, इन्क्रिप्ट गरिएको वा नगरिएको, सर्वसाधारण वा निश्चित क्षेत्र वा वर्गका जनताले जानकारी पाउन सक्ने गरी पठाइने श्रब्य वा दृश्य, श्रब्यदृश्य, कार्यक्रम, डाटा वा सूचनालाई रेडियो फ्रिक्वेन्सी, इन्टरनेट प्रोटोकल वा अन्य विद्युतीय वा विद्युत्–प्रकाशीय (अप्टिकल) माध्यमबाट गरिने प्रसारण सम्झनुपर्छ ।” त्यस्तै, उपदफा (११) मा लेखिएको छ– “‘सञ्चार माध्यम’ भन्नाले नेपालमा सञ्चालित छापा माध्यम, रेडियो, टेलिभिजन, अनलाइन सञ्चार माध्यम र समाचार एजेन्सीलाई सम्झनुपर्छ ।”

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका र पत्रकार आचारसंहितामा उपरोक्तोल्लिखित दफा–उपदफाहरूले सोझै र स्पष्ट भाषामै युट्युबको उल्लेख त गरेका छैनन्; तर, त्यसबाट प्रसारित हुने अन्तर्वस्तु (कन्टेन्ट) हरूलाई अनलाइन पत्रकारितामै समेटेका छन् । र, ती दफा–उपदफा पालना गरेका युट्युबकर्मीहरूलाई समेत पत्रकार नै मानेका छन् । अतः निर्देशिका र आचारसंहिताको परिपालना गरेर युट्युबमार्फत प्रसारण गर्नु सञ्चारकर्म अर्थात् पत्रकारिता नै हो भने तिनको पालनाविना कुनै पनि इन्टरनेट प्लेटफर्ममा पाठ्य, श्रब्य वा श्रब्यदृश्य सामग्री– जेसुकै प्रकाशन–प्रसारण गरिए तापनि ती कर्मचाहिँ केवल सामाजिक सञ्लालका ‘पोस्टिङ’ मात्रै हुन्; पत्रकारिता होइनन्/हुँदैनन् ।

आचारसंहिताको दफा ४ अन्तर्गत उपदफा (१) देखि (१४) सम्म ‘पत्रकार र सञ्चार माध्यमले पालना गर्नुपर्ने कर्तव्य’ सम्बन्धी व्यवस्था गरिएको छ । त्यसैगरी, दफा ५ अन्तर्गत उपदफा (१) देखि (१४) सम्म ‘पत्रकार र सञ्चार माध्यमले गर्नु नहुने कार्यहरू’ सम्बन्धी व्यवस्था गरिएको छ । युट्युबकारिता गर्नेहरू सवैले आचारसंहितामा उल्लिखित ‘पालना गर्नुपर्ने’ र ‘गर्नै नहुने’ यी चौध–चौधवटा बुँदाहरूको गम्भीर अध्ययन गरी तिनको मर्मलाई आत्मसात् गरेर काम गर्नु पर्दछ । यसरी काम गरेपछि कानुनी तथा सामाजिक एवम् व्यावसायिक झमेला, विवाद आदिबाट मुक्त भई राष्ट्र र नागरिकप्रति सञ्चारकर्मी र सञ्चार माध्यमको दायित्व पूरा गर्न सकिन्छ; मर्यादित सञ्चारकर्मीका रूपमा प्रतिष्ठा हासिल गर्न सकिन्छ ।

युट्युबकारिता र पत्रकारिताका बीचको अन्तर्सम्बन्ध र अन्तर्विरोधबारे चर्चा गर्दै आफ्नो एक अनुसन्धानात्मक आलेखमा बिडारी (२०८०) ले लेखेका छन्– “क्यामेरा लिएर कुद्न र न्यु मिडिया (फेसबुक, युट्युब इत्यादि) मार्फत प्रचारबाजी गर्न थालेपछि त्यो मान्छे पत्रकार ठानिन थालेको छ । …ठूलो जनसमूहले पनि उनीहरूलाई ‘पत्रकार’ भनेर बुझ्न थालेका छन् । क्यामेरा बोकेर हिँड्दैमा र भिडियो खिँचेर युट्युबमा हाल्दैमा कोही पत्रकार हुँदैन । पत्रकार हुनका लागि त कुनै न कुनै मिडियामा आबद्ध भएको हुनुपर्छ; स्वतन्त्र छ भने पनि ऊ मर्यादामा बस्नुपर्छ; मिडियाका मूल्य–मान्यता र सिद्धान्तलाई हुबहु पालना गरेको हुनुपर्छ ।”

युट्युबकारिताका उपयोगिता र फाइदा

युट्युबका अनेकौं फाइदा र उपयोगिता छन् । राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, सामुदायिक इत्यादि उद्देश्यले प्रयोग गर्नेहरूका निम्ति युट्युब विशाल जनसमुदायबीच स्थापित हुने तथा प्रचारप्रसार र अन्तक्र्रिया गर्ने निकै प्रभावकारी माध्यम हो । आफ्ना उद्योग, व्यवसाय र सेवाको प्रचारप्रसार गरी मुनाफा आर्जन गर्न चाहनेहरूका निम्ति पनि यो उत्तिकै प्रभावकारी, सहयोगी र लाभदायी माध्यम हो । व्यक्तिगत पहल वा साथीभाइबीच सहकार्य गरी स–साना समूहमार्फत सञ्चारकर्म गरी स्वरोजगारमूलक सञ्चार उद्यम गर्न चाहनेहरूका लागि समेत युट्युब निकै प्रभावकारी र सहज माध्यम बनेको छ ।

अखबार, रेडियो, टेलिभिजन, अनलाइन मिडिया इत्यादिमध्ये कुनै वा सवै चलाएर मुलुक र समाजमा राम्रो प्रभाव कायम गर्दै आएका स्थापित सञ्चारगृह वा कर्पोरेट मिडियाहरूका निम्ति समेत युट्युब एकदमै प्रभावकारी सहमाध्यम, साधन वा प्लेटफर्म बनेको छ । प्रविधिको दुरूपयोग गरी कसैको चरित्रहत्या गर्ने, रिसिबी साँध्ने वा निहित स्वार्थसिद्धि गर्ने व्यक्ति र समूहहरूका निम्ति समेत यो प्लेटफर्म प्रभावकारी हतियार बन्दै आएको देखिन्छ ।

युट्युबका फाइदाहरूलाई सातवटा बुँदामा संश्लेषित गर्दै सोनी (सन् २०२३) ले लेखेकी छन्– “(१) यु्युबमा पोस्ट गरेपछि गुगलमा फेला पर्न मद्दत मिल्छ, (२) विशाल दर्शक–श्रोताबीच एक्स्पोज हुन मद्दत मिल्छ, (३) पर्याप्त अनलाइन ट्राफिक प्राप्त गर्न मद्दत मिल्छ, (४) पाठ्य सामग्री पढ्न नजान्ने, नसक्ने र नचाहनेहरूका निम्ति सुविधायुक्त छ । एक अनुसन्धानले देखाएअनुसार पाठ्य सामग्रीको तुलनामा युट्युब भिडियो १२ गुणा बढ्ता हेरिन्छ, (५) युट्युब असाध्यै प्रभावकारी विज्ञापनको साधन हो, जसले एकैसाथ निकै ठूलो जनसमूहबीच प्रचार गर्न सक्दछ, (६) युट्युबमा उपलब्ध भिडियोहरूलाई अनेकौं किसिमले पुनः प्रयोग गर्न सकिन्छ र (७) कसैमाथि कुनै कारबाही गर्नुपरेमा पनि यसबाट एकदमै छिटो, निकै ठूलो र असाध्यै प्रभावकारी सहयोग मिल्दछ ।”

सरकारी संस्थान तथा व्यावसायिक कर्पोरेटद्वारा सञ्चालित ठूला ठानिएका/भनिएका आमसञ्चारका माध्यमहरू प्रायः राज्य, धनी, पहुँचवाला र राजधानी/सदरमुकामकै वरिपरि फन्को मारिरहने अनि मोफसल, पहुँचविहीन र गरिबहरूका आवाजले कहीं–कतै र कहिल्यै खासै स्थान नपाउने विडम्बना नेपाली समाजको यथार्थता हो । अझ, राजनीतिक छिनाझपटी र व्यावसायिक स्वार्थका विषयवस्तुले नै त्यस्ता सञ्चार माध्यमहरूको अधिकाङ्श स्थान र समय ओगटिरहेको अवस्था हामीकहाँको अर्को विडम्बना हो ।

यो स्थितिमा गाउँ–टोलमै अभ्यास गरिरहेका, सहर र राजधानीमा बसे तापनि गाउँठाउँ र जनस्तरसम्म सम्पर्क–समन्वय बनाइरहेका, ‘ठूला मान्छे’ र ‘सेलीब्रिटी’ सँग कमै मात्र पहुँच पुगेका अनि सीमित स्रोत–साधनकै भरमा युट्युबकारिता गरिरहेकाहरू मूलतः जमिनमा टेकेका, जनतातिर फर्केका, निमुखा–निर्धा–निर्धनहरूको नजिक रहेका पाइनु सकारात्मक र सुखद् पक्ष हो । यस अर्थमा युट्युबकारिता ‘आवाजविहीनहरूको आवाज’ समेत बन्न गएको छ । यसलाई अझ बढ्ता जनमुखी, जनपक्षीय र जनहितकारी बनाउन सकिने सम्भावना प्रबल छ ।

युट्युबकारिताका विकृति र चुनौती

नेपाली समाजमा अहिले युट्युबलाई लाभदायी र सकारात्मक साधन वा माध्यम मात्र होइन; नकारात्मक तत्त्व वा आतङ्कका रूपमा समेत बुझ्न र लिन थालिएको छ । यसको पृष्ठभूमि र कारणबारे चर्चा गर्दै अर्याल (२०७७) लेख्छन्– “कतिपय मानिस यो प्लेटफर्मलाई हेर्न मात्र प्रयोग गर्छन् भने कतिपय मानिस, अझ खासगरी युवाहरू, यसमा आफ्ना सामग्री पनि कुनै शुल्क नव्यहोरी प्रसार गरिरहेका छन्; त्यसैबाट वाहवाही र प्रशङ्सा बटुलिरहेका छन् । …धेरैभन्दा धेरै मानिसले हेर्दै गए भने पैसा पनि पाइन्छ । हो, त्यही पैसा पाइने लोभ वा ‘मनिटाइज्ड’ प्रणालीका कारण युवाहरू प्रतिस्पर्धामा कस्सिएका छन् ।”

युट्युबसँग सम्बन्धित सामाजिक र कानुनी समस्याहरूबारे चर्चा गर्दै अर्याल (२०७७) अगाडि लेख्छन्– “युट्युबसँग सम्बन्धित कयौं सामाजिक र कानुनी समस्याहरू पनि छन् । केही समस्या निर्वाध अभिव्यक्तिको अधिकारको दुरूपयोग वा प्रयोगकर्ताहरूको असामाजिक व्यवहारका कारण पनि उत्पन्न भएका छन् । …व्यक्ति–व्यक्तिबीचको कुराकानीजस्तै यस माध्यमबाट व्यक्तिले आफूलाई लागेको कुरा विनारोकतोक अभिव्यक्त गरिरहन सक्छन् ।”

यससम्बन्धी निष्कर्ष प्रस्तुत गर्दै अर्याल (२०७७) अझ अगाडि लेख्छन्– “अपराधलाई दुरुत्साहित गर्ने वा व्यक्तिको निजत्व हनन गर्ने किसिमका सामग्री पनि आउने गरेका कारण नेपाली समाजमा युट्युबप्रति नकारात्मक धारणा समेत बन्न थालेको छ । हामीमा रहेको मिडिया साक्षरताको कमी नै यसको मूल कारण हो ।”

युट्युब प्लेटफर्मको विस्तारसँगै व्याप्त हुँदै गएका विकृति र चुनौतीबारे चर्चा गर्दै बिडारी (२०८०) ले उल्लेख गरेका छन्– “युट्युब सञ्चार माध्यमको प्रभावकारिता त बढेको छ, सँगसँगै विकृति र विसङ्गतिको डङ्गुर भित्रिएर समग्र पत्रकारिता क्षेत्रमा थप चुनौतीहरू समेत देखापरेका छन् । युट्युब प्लेटफर्मका अनियन्त्रित र असम्पादित सामग्रीका कारण नेपालको समग्र पत्रकारिता क्षेत्र बदनाम हुँदै गएको छ । यसलाई थप बदनाम बनाएर राज्यको चौथो अङ्गको औचित्य र प्रभावकारितामा प्रश्नचिह्न उठाउने ठाउँ नदिनु सबैको दायित्व हो ।”

अनगिन्ती सकारात्मक पक्षहरू हुँदाहुँदै युट्युबले आफ्नो उत्थान र विस्तारसँगसँगै अनेकौं नकारात्मक पक्षहरू समेत लिएर आएको तथ्यलाई अन्तर्राष्ट्रियस्तरमा पनि स्वीकार गरिएको छ । युट्युबका ‘अँध्यारा पक्ष’ बारे कयौं प्राज्ञिक अध्ययन–अनुसन्धान भएका छन् । त्यस्ता सवैजसो अध्ययन–अनुसन्धानले युट्युबलाई सरकारले नियमन गर्नुपर्ने र बालबालिकामा हानि पुग्न सक्ने पक्षहरूप्रति अभिभावकहरूले सजगतापूर्ण निगरानी राख्नुपर्ने निष्कर्ष निकालेको पाइन्छ ।

आफ्नो अनुसन्धानात्मक आलेखको निष्कर्षस्वरूप ह्याटिङ (सन् २०२१) ले लेखेका छन्– “युट्युब किशोरकिशोरीहरूका लागि लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म हो । यद्यपि युट्युबमा उपलब्ध हुने सवै सामग्री समस्याग्रस्त छैनन् तापनि यसमा कयौंचाहिँ साँच्चै नै चिन्ताजनक सामग्री पनि छन्, जसमा बालबालिका, कोशोरकिशोरी र युवाहरूको निःशुल्क र सहज पहुँच पुग्दछ ।” आफ्नो अनुसन्धानको सार खिँच्दै उनले लेखेका छन्– “सामाजिक सञ्जालको प्रयोगलाई सामान्यतः नियमन गर्नु आवश्यक छ र आफ्ना किशोरकिशोरीहरूले युट्युबमा उपभोग गर्ने सामग्रीमा अभिभावकले निगरानी राख्नु जरुरी छ किनकि सम्भावित जोखिमहरूबारे बालबालिका र किशोरकिशोरीले बुझ्दैनन् ।”

निष्कर्ष

सब्स्क्राइबर, भ्युज, शेयर, कमेन्ट र लाइक तथा युट्युबबाट हुने आम्दानी बढाउनकै लागि विषयवस्तु एकातिर, शीर्षक अर्कैतिर; भेरिफिकेसन र क्रसचेकविनै अनि न्यूनतम सञ्चार साक्षरतायुक्त सम्पादकको सामान्य रेखदेख एवम् स्वीकृतिविनै; कानुनी प्रबन्ध र आचारसंहिताको न्यूनतम परिपालनाविनै; सञ्चारकर्म र सञ्चार माध्यमको न्यूनतम स्वअनुशासन, जवाफदेहिता र कर्तव्यबोधविनै; भाषाको न्यूनतम ज्ञान र शुद्धताविनै मनलाग्दी किसिमले जे पायो त्यही सामग्री शिष्टाचारविहीन, आक्षेपयुक्त, अप्रमाणित, भद्दा, अश्लील, उटपट्याङपूर्ण र हास्यास्पद किसिमले पस्कने प्रवृत्ति हामीकहाँ मौलाउँदो छ ।

दर्शक–श्रोताले पनि कसले कानुन तथा आचारसंहिताको परिपालना गर्दै र समाजप्रति जवाफदेही हुँदै सत्य–तथ्यमा आधारित रहेर भिडियो प्रसारण गरेका छन् अनि कसले चाहिँ ढाँट्ने, छल्ने, ठग्ने, लुट्ने र समाजलाई दिग्भ्रमित एवम् प्रदूषित तुल्याउने दुष्कर्म गरिरहेका छन् भन्ने कुराको हेक्का नै नराखी युट्युबमा जे भेटिन्छ त्यही सामग्री उपभोग गर्ने प्रवृत्ति बढ्दो छ । अमर्यादित, असभ्य, असत्य र समाजका निम्ति अहितकर हुन् भन्ने जान्दाजान्दै पनि त्यस्ता सामग्री हेर्ने, शेयर गर्ने, लाइक गर्ने र कमेन्ट गर्नेजस्ता काम सचेत नागरिकले गर्नु हुँदैन । दर्शक नै सचेत भइदिए स्तरहीन र हानिकारक भिडियो प्रसारण गर्नेहरू स्वतः निरुत्साहित हुन्छन् र विकृत प्रवृत्ति पनि क्रमशः घट्दै जान्छ ।

सञ्चारसम्बद्ध सरकारी संयन्त्र र नियामक निकायहरूले युट्युबकारिता गर्नेहरूलाई कानुन, आचारसंहिता र सामाजिक उत्तरदायित्व कडाइका साथ पालना गर्न प्रशिक्षित र उत्प्रेरित गराउँदै क्रमशः बाध्य तुल्याउनुपर्छ । चरमसीमा नै नाघेका उदाहरणमूलक केही प्रकरणहरूमा भने कडा कारबाही समेत गरेर सन्देश प्रवाहित गर्नुपर्छ । सञ्चारसम्बद्ध सङ्घसंस्था र यस क्षेत्रको प्रबुद्ध तप्काले पनि अनलाइन पत्रकारिता र मुख्यतः युट्युबकारिता गर्नेहरूलाई सही मार्ग, दिशा र लक्ष्यतर्फ डोर्‍याउन प्रशिक्षित र प्रोत्साहित गर्नुपर्छ; नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्न योगदान गर्नुपर्छ । प्रसारण र उपभोग दुवै हिसाबले सुलभ, सरल र सर्वव्यापी किसिमबाट सर्वसाधारणको पहुँचमा पुगिरहेको युट्युब माध्यमबाट अधिकाधिक लाभ उठाउनेतर्फ समुचित योगदान सवैले गर्नुपर्छ ।

सन्दर्भ–सामग्री सूची

  • अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ (पहिलो र दोस्रो संशोधन, २०७४ सहित) । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (२०७३) ।
  • अर्याल, कुन्दन (२०७७) । ‘युट्युबे’ होइन, ‘युट्युबर’ बनौं । https://beta.gorkhapatraonline.com/opinion/2020-08-15-20529.
  • पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ सहित) । प्रेस काउन्सिल नेपाल ।
  • बिडारी, शन्तराम (२०८०) । युट्युबको लोकप्रियतास“गै पत्रकारिता क्षेत्रमा पेशागत मर्यादा बचाउने चुनौती । ह्युम्यानिटिज एण्ड सोसल साइन्स जर्नल (१५, १–२, पृ. २१७–२३१) । रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौं ।
  • Hattingh, M. (2021). The Dark Side of YouTube: A Systematic Review of Literature. In Massimo Ingrassia and Loredana Benedetto (Ed.), Adolescences. doi: 10.5772/intechopen.99960.
  • Lange, P. G. (2008). Publicly Private and Privately Public: Social Networking on YouTube. In Journal of Computer-Mediated Communication (Vol. 13, pp. 861-380). International Communication Association.
  • Soni, Khushi (2023). 7 Benefits of YouTube for Your Business. In https://www.linkedin.com/pulse/7-benefits-youtube-your-business-khushi-soni-dnfyf.
  • https://www.britannica.com/topic/YouTube.

(लेखक काठमाडौं विश्वविद्यालयबाट सञ्चार विधामा विद्यावारिधि अनुसन्धानरत छन्)
प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित ‘संहिता’ जर्नल (अंक– ६०, चैत, २०८०) बाट साभार ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर