यतिबेला माओवादीहरूका बीचमा एकता हुनुपर्छ भन्ने स्वर अलि ठूलो हुन थालेको छ । बृहत् कम्युनिस्ट एकताको कुरा पनि सुनिँदै छ । रूपमा यो कुरा प्रिय लागे पनि सारतः यो कुरा त्यति प्रिय हुँदै होइन ।
यतिबेलाको आवश्यकता माओवादीहरूका बीचमा ‘एकता’ होइन, निर्मम ध्वंस हो, आदतको सत्ता पल्टाउनु हो । ‘एकताका लागि एकता’ गर्दाको हविगत डबल नेकपा (एमाले र माओवादी केन्द्रबीचको एकता) ले देखाइसकेको छ । पछिल्लो समयमा क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) का बीचको एकता पनि सत्रुतापूर्ण अन्तर्विरोधमा बदलिएर विघटन हुन पुग्यो । अरु पार्टीका ‘एकता’ पनि टिकिरहेका छैनन् ।
सबैलाई थाहा छ– एकता, सङ्घर्ष र रूपान्तरण तथा नयाँ अधारमा नयाँ एकता मालेमावादी मान्यता हो । रुसमा बोल्सेभिक र मेन्सेभिकहरूले छुट्टाछुट्टै पार्टी बनाएका र चीनमा चरम अन्तर्विरोधको बीचमा समेत पार्टी विभाजन नभएको कुरा दस्तावेजहरूमा पढ्न पाइन्छ । तर, नेपालमा अनेक प्रकृति र प्रवृत्ति देख्न सकिन्छ ।
नेपालका कम्युनिस्टरूलाई दर्जनौं चिरामा विभाजन गर्ने ‘श्रेय’ तत्कालीन राजा महेन्द्रमा जान्छ । नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्था उनै महेन्द्रीय उत्तरदान हो । २०२५ मा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गर्न पहल गरेका थिए । मोहनविक्रम र मनमोहनहरूद्वारा गरिएको पुष्पलालको नेतृत्व अस्वीकृतिले अवस्था झन् बिग्रन पुगेको थियो । ‘संयुक्त जनआन्दोलन’ नारा दिएवापत पुष्पलालले ‘गद्दार’ को आरोप खेप्नुपरेको थियो ।
पञ्चायती संसदवादका विरुद्ध २०३१ सालमा क्रान्तिको रातो झन्डासँगै चौथो महाधिवेशन जन्मियो । आजको माओवादी धारा त्यही चौमको विकसित र विस्तारित रूप हो । जनयुद्ध त्यही माओवादी धाराको उत्कर्ष थियो ।
यसर्थ, माओवादी पार्टीहरूको ध्वंस (मूलतः सांस्कृतिक क्रान्ति ‘आदतको सत्ता पल्टाउनु’ एवम् दलाल संसदीय राजनीतिसितको निर्णायक सम्बन्ध–विच्छेद), निर्माण (सुस्पष्ट राजनीतिक कार्यदिशा र कार्यनीतिक शृङ्खला) र पुनर्निर्माण (नीति, नेतृत्व, सङ्गठन, सङ्घर्ष, सञ्चार, कुटनीति र प्रविधि) नै आजको आवश्यकता हो ।