चर्चित जनवादी कलाकार लक्ष्मी गुरुङ (नीर पवन) ले भदौ २५ गते बिहीबार दिउँसो २ बजे राजधानीको बुद्धनगरस्थित इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा भव्य एकल सांस्कृतिक प्रस्तुति गर्ने भएकी छन् । जनयुद्धकालीन गायिका र जनयुद्धको सहिद परिवार समेत रहेकी गुरुङले अनेकोटमा सामूहिक शहादत प्राप्त ६ जना जनकलाकारहरुको सम्झना र सम्मानमा ‘अनेकोट वलिदान सम्मान’ नाम दिएर कार्यक्रम गर्ने भएकी हुन् ।
लक्ष्मीको प्रस्तुतिलाई राष्ट्रियस्तरमा चर्चित अरु दर्जनौँ गायक–गायिका र बाद्यवादकहरुले समेत साथ दिने भएका छन् । सामना परिवारका चर्चित कलाकार सूवर्ण हमालले उदघोषण गर्ने कार्यक्रममा अशोक राईले संगीत संयोजन गर्नेछन् ।
जनयुद्धमा सहादत प्राप्त गरेकी स्थापित जनकलाकार एवम् नेतृ सहिद चुनु गुरूङकाे सम्मान र स्मृतिमा स्थापित चुनु गुरूङ स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई उद्यमीहरु प्रेमबहादुर मोक्तान तथा सानु गुरुङ र इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले प्रायोजन गरेका छन् । ‘लक्ष्मी गुरुङ एकल साङ्गीतिक प्रस्तुति, २०८३’ नामकरण गरिएको यस कार्यक्रममा बढीभन्दा बढी उपस्थिति र सहभागिता जनाएर साथ दिन गायिका गुरुङले सवैमा अनुरोध गरेकी छन् ।








