newskoseli.Com

शुक्रबार राति अनलाइनमा शान्तिपाठ : संस्कृत दिवस समारोह र सम्मान कार्यक्रम स्थगित

नवौँ विश्व संस्कृत दिवस आयोजक समितिद्वारा शुक्रबारका पूर्वनिर्धारित ‘नवौँ विश्व संस्कृत दिवस मूल समारोह एवं संस्कृत विशेष सम्मान कार्यक्रम’ स्थगित भएको छ । भोटेकोशी बाढीका कारण राष्ट्रिय विपद् एवं शोकको अवस्था परेकाले उक्त कार्यक्रम स्थगित गरी शुक्रबार नै रातको ८ः३० बजे अनलाइन कार्यक्रममा संस्कृत भाषामा शान्तिपाठ गरिने भएको हो ।

कार्यक्रमका आयोजक संस्थाहरूमध्येको प्रमुख संस्था जरोकिलो प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. निर्मलमणि अधिकारीद्वारा बिहीबार जारी विज्ञप्तिमा ‘तिब्बतबाट आएको भोटेकोशी नदीको बाढीका कारणले नेपालमा राष्ट्रिय विपद् एवं शोकको अवस्था परेको हुनाले नवौँ विश्व संस्कृत दिवसको मूल समारोह एवं ‘संस्कृत विशेष सम्मान’ कार्यक्रम हाललाई स्थगित गरिएको’ उल्लेख छ ।

‘प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि (ऋषितर्पणी) का दिनमा मनाइने विश्व संस्कृत दिवस यो वर्ष भाद्र १२ गते, शुक्रबार मनाउने पूर्वनिर्धारित कार्यक्रम भए तापनि राष्ट्रिय विपद् एवं शोकको अवस्थामा कार्यक्रम गर्नु अनुपयुक्त भएको मनन गर्दै अर्को मितिमा कार्यक्रम गर्ने गरी हाललाई स्थगित गरिएको छ,’ प्रा.डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘दिवंगत व्यक्तिहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न तथा विषम परिस्थितिमा शान्तिको कामना गर्दै शुक्रवार नै रातको ८ः३० बजेदेखि अनलाइन कार्यक्रममा संस्कृत भाषामा शान्तिपाठ गरिनेछ; शान्तिपाठ कार्यक्रममा सहभागिताका लागि संसारभरिबाट जोडिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

‘विश्व संस्कृत दिवसका अवसरमा प्रदान गरिने ‘संस्कृत विशेष सम्मान’ बाट संस्कृतका विशिष्ट विद्वान् प्रा. हरिशरण उपाध्यायलाई सम्मान गर्ने कार्यक्रम अर्को उपयुक्त मितिमा आयोजना गरिनेछ,’ विज्ञप्तिमार्फत प्रष्ट्याइएको छ– ‘अकल्पनीय विपद्को वर्तमान अवस्थामा सत्यतथ्य सूचनाको साझेदारी, खोजी, उद्धार, मद्दत, व्यवस्थित राहत वितरण, स्वास्थ्योपचार, पारिवारिक पुनर्मिलन एवं मानसिक परामर्श आदि प्राथमिक हुन् । उपर्युक्त क्रियाकलापकामा यथाशक्य योगदान गरी सहृदयताको सम्बन्धलाई सार्थक बनाउन हार्दिक अनुरोध गर्दछौँ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर