सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गर्ने ५० प्रकारका औषधिलाई गुड म्यानुफ्याक्चर प्राक्टिस ‘जिएमपी’मा लैजाने तयारी गरेको छ ।
जिएमपीमा जानका लागि औषधि व्यवस्था विभागबाट समितिले स्वीकृति पाइसकेको छ । जिएमपीमा जानका लागि कुनै पनि औषधि उद्योगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको उपकरण प्रयोग गरी उत्पादन गर्नुपर्ने हुन्छ ।
उत्पादन भएको औषधि परीक्षण गर्ने ल्याब पनि सोही अनुसारको हुनुपर्छ । समितिले उत्पादन गरेका पाउडर ‘चूर्ण’, ट्याब्लेट र क्याप्सुलका विभिन्न उत्पादनलाई जिएमपीअनुसार उत्पादन गर्ने तयार सुरु भएको हो ।
समितिले जिएमपीमा लैजान यसै वर्षदेखि नयाँ भवन निर्माण सुरु गर्न लागेको छ । सरकारले त्यसका लागि रु एक करोड रकम छुट्याएको थियो ।
समितिका प्रबन्ध निर्देशक डा राजेन्द्रकुमार गिरीले जिएमपी भएको औषधि विश्वबजारमा बिक्रीका लागि योग्य हुने बताउनुभयो । जिएमपीका लागि अहिले गुणस्तरीय ल्याब नभएकाले गाह्रो भएको निर्देशक डा गिरीको भनाइ छ– ‘सरकारले जिएमपीका लागि मान्यता दिएको छ, अहिले औषधि अनुसन्धान र खोजको प्रक्रियामा जाने भएकाले हामीले प्रविधिमा जोड दिइरहेका छौँ’, उहाँले चूर्ण र ट्याब्लेटका ५० प्रकारका आइटमलाई जिएमपीमा लान लागिएको बताए ।
जिएमपीमा औषधि जाने भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उचित मूल्यमा बिक्री–वितरण भई व्यवसायीलाई फाइदा हुने उनको भनाइ छ । समितिले देशका उपलब्ध प्राकृतिक जडीबुटीको प्रयोग गरी १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्दै आएको छ ।