गाउँमा नै डिजिटल भिडियो एक्स–रे सेवा पाएपछि सोलुखुम्बुको अत्यन्तै दुर्गम क्षेत्रका स्थानीयवासीलाई सहज भएको छ ।
सोताङबाट पहिलोपटक एक्स–रे सेवा पाएपछि सोताङ–४ सोलुखुम्बुकी अनिता राईले निकै सहज भएको बताइन् । “सधैँ सदरमुकाम जानुपथ्र्याे तर यसपालि मेरो समस्या सोताङमै समाधान भएको छ ।” राईका अनुसार गाउमै सेवा पाएपछि नजिक भएकाले छिटो, सस्तो र सहज भएको छ ।
खोटाङ जिल्लाको एँैसेलुखर्कबाट विक्रम विक पनि सेवा लिन प्राथमिक उपचार केन्द्र सोताङमा आएका छन् । उनका अनुसार आफ्नो जिल्लाको सदरमुकाम दिक्तेल पुग्न पूरै एकदिन खर्चनु पर्ने भएकाले सोताङमा सेवा लिन आएको बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र सोताङका अनुसार सांसद कोषको सहयोगमा जिल्लाको विकट तथा सदरमुकामदेखि टाढाको गाविस सोताङमा पहिलोपटक डिजिटल एक्स–रे सेवा सुरु गरिएको हो ।
त्यस्तै, छातीमा समस्या भएपछि उपचारका लागि सदरमुकाम हिँड्नुभएका छेस्कामका दिलबहादुर राईले पनि सोताङमै सेवा लिएको बताए। सोताङबाटै सेवा सुरु भएको रहेछ । नजिक भएको र अब सदरमुकाम धाउनु नपरेकाले सहज भएको बताए ।
जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद बल बहादुर केसीको सांसद विकास कोषको ९ लाख ५७ हजार र स्थानीयवासीको १ लाख १७ हजार लगानीमा एक्स–रे सेवा सञ्चालनमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका सिनियर अहेव श्रीध्वज राईले बताए ।
उनका अनुसार सोताङमा सेवा सुरु भएपछि जिल्लाको विकट क्षेत्रका छेस्काम, गुदेल, बुङ, सोताङ, पावै, देउसा, वाकु, लोखिम गरी ८ गाविस र छिमेकी जिल्लाका स्थानीयवासीलाई सहज भएको छ ।