विशेषज्ञ चिकित्सकको आगमनसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ ।
लामो समयसम्म दरबन्दीका चिकित्सकविहीन अवस्थामा रहेको अञ्चल अस्पतालमा एक महिनाअघि चारजना चिकित्सक दरबन्दीमा आएपछि बिरामीको चाप बढेको महाकाली अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत केशवदत्त अवस्थीले जानकारी दिए ।
चिकित्सक नहुँदा दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आउने गरेका भएपनि चिकित्सक आएपछि दैनिक २०० देखि २५० सम्म बिरामी उपचारका लागि आइरहेको मेडिकल अधिकृत अवस्थीले जानकारी दिए ।
सत्ताइस जना चिकित्सकको दरबन्दीका लागि आवश्यक सबै पूर्वाधार रहेपनि चिकित्सक नहुँदा यहाँका स्थानीयले उपचारका लागि भारतका विभिन्न अस्पतालका साथै अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।
अवस्थीले भने ‘चिकित्सक आएपछि बिरामीलाई निकै सहज भएको महसुस भएको छ ।’ – ‘फेरि पनि दरबन्दीमा चिकित्सक ल्याउने गृहकार्यमा अस्पताल विकास समिति जुटेको छ ।’
अस्पतालका अनुसार हाल यहाँ बालरोग विशेषज्ञ डा सुजन भट्टराई, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा अर्जुनप्रसाद दुम्रे, स्त्रीरोग विशेषज्ञमा डा सलिना खड्का र सर्जन डा घनश्याम थापा कार्यरत रहेका छन् । रासस