भारत प्रशासित काश्मिरमा मङ्गलबार सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा परी २ जना आन्दोलनकारीकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यससँगै भारतीय काश्मिर इलाकामा सरकारी सुरक्षाकर्मी र स्थानीयबीच भएको द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।
काश्मिरका विभिन्न १० जिल्लामा प्रदर्शनमा उत्रेका स्थानीयले आफ्नो आन्दोलनलाई हिंसात्मक बनाएको भन्दै प्रदेश सरकारले उक्त क्षेत्रमा लामो समयदेखि कफ्र्यु लगाउँदै आएको छ । मङ्गलबार पनि ईदको प्रार्थना सकिएलगत्तै बन्दिपुर क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुङ्गामुढा वर्षाएपछि चलाएको जवाफी कारबाहीमा २ जना आन्दोलनकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबारको कारबाहीमा मुर्ताजा अहमद र सहिद अहमदको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस/पीटीआई