सरकारले वीरगन्ज उपक्षेत्रीय अस्पतालको स्तरवृद्धि गर्न सरोकारवालासँग छलफल गरेको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ भौतिक पूर्वाधार सल्लाहाकार सुनिल खड्काको नेतृत्वमा आएको एक टोलीले बिहिबार अस्पताल विकास समितिका पदाधिकारीसंग छलफल गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष डा. रामदेव तिवारीको अध्यक्षतामा बसेको बैठकले अस्पताल हातामा निकट भविष्यमा ५ शैययाको महेन्द्र आरोग्य अस्पताल निर्माण गर्ने, पुराना संरचनालाई भत्काइ नयाँ निर्माणका लागि पूर्वाधार तयार पार्ने, अस्पताल हाताभित्रको पुरानो सभाहल पुनर्निर्माणका लागि पनि पहल गर्ने निर्णय भएको छ ।
छलफलमा अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. रामपरीक्षण यादव वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियालगायतका व्यक्तिले अस्पतालको नयाँ संरचना बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । हाल सो अस्पतालमा सरकारको तर्फबाट २ सय ५० तथा अस्पताल विकास समितिको तर्फबाट १ सय गरी ३ सय ५० शैयया प्रयोगमा ल्याइएको छ ।