झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका १ बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ । मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा. सञ्जयकुमार गुप्ताका अनुसार सुरुङ्गा निवासी ५ वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम भने गोप्य राखिएको छ ।
पेट दुखेर सिकिस्त बिरामी भएपछि बालकलाई २ दिनअघि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको थियो । “उपचारका क्रममा बालकको पेटको भिडियो एक्स–रे गर्दा ठूलो आन्द्राभित्र सानो आन्द्रा फेला पर्यो” –डा. गुप्ताले भन्छन् ।
लाखौँमा १ जनालाई मात्र यस्तो समस्या हुने बताउँदै डा. गुप्ताले भने – “समयमा नै यस्तो समस्याको उपचार नगराउने हो भने मानिसको मृत्यु समेत हुन्छ ।”
बालकको पहिलो चरणमा नै समस्या पत्ता लागेकाले उपचार सम्भव रहेको डा. गुप्ताको भनाइ छ । मेची अञ्चल अस्पतालमा उपकरण अभावका कारण बालकको उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहिबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डा. गुप्ताले जानकारी दिए ।