सप्तरीको जमुनी मधेपुरा गाविस– २ स्थित जोमनीटोलमा ४/५ दिनदेखि झाडापखालाको प्रकोप फैलिएको समाचार राससमा प्रकाशन भएपछि सो प्रभावित ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेका छन् ।
फोहोर दिसा, पिसाव र दुषित पानीका कारण हुने झाडापखाला फैलिएको जमुनी मधेपुरा गाउँमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य निरीक्षक राजनारायण ठाकुरको नेतृत्वमा एक टोली त्यहाँ पुगेर उपचार थालेको छ ।
झाडापखाला प्रकोपका कारण त्यहाँका प्रत्येक परिवारका १/२ जनामा यो रोग देखा परेपछि पीडित भएकालाई जिल्ला जनस्वास्थ्य कार्यालयका टोलीले गाउँमै राखेर औषधोपचार थालिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।
झाडापखालाबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारयाण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने तयारी भइरहेको जानकारी जनस्वास्थ्य अधिकृत झाले दिए ।
झाडापखालाका प्रकोपवाट उक्त गाविसका २५ परिवारका करिब ६० जना भन्दा बढी बिरामी परेका छन् । यसैबीच झाडापखालावाट प्रभावित क्षेत्रमा यसवाट बच्ने उपायका वारेमा विभिन्न सङ्घ संस्थाले स्थानीयवासीमा सचेतना अभियान सञ्चालन गरेका छन् ।