newskoseli.Com

कफीखेतीमा रोगको प्रभाव बढ्यो

 जिल्लामा कफीखेती विस्तार गर्न सकिने सम्भावना रहे पनि विभिन्न रोगको प्रकोपका कारण प्रभावित बनेको छ । पहिले गभारोको प्रकोपका कारण कफीखेतीमा संलग्न किसान चिन्तित थिए तर डेढ वर्षयता फेरि सिन्दूरे (कफी रस्ट) रोग देखिन थालेको छ । पातबाट सर्ने यो रोगले सिङ्गो बोटलाई नै नष्ट गर्छ ।

जिल्लामा १ सय ३० हेक्टरमा कफीखेती हुने भए पनि अहिले ९१ हेक्टरमा मात्रै कफीखेती भइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपक शर्माले बताए । उनले भने – ‘‘पहिले कफीमा लाग्ने किसानको सङ्ख्या बढिरहेको भए पनि अहिले त्यस्तो अवस्था छैन ।”

रसायनको प्रयोगबाट रोग नियन्त्रण गर्न सकिने भए पनि अर्गानिक कफीमा रसायनको प्रयोग गर्न मिल्दैन । जिल्लामा अर्गानिक कफी उत्पादन हुने भएकाले विदेशी बजारमा समेत कफी बिक्री भइरहेको छ । प्रमुख शर्माले भने – “रसायनको प्रयोग नभएकाले गर्दा अहिले ललितपुरमा उत्पादित कफी धेरैको रोजाइ बनेको छ ।”

ललितपुरमा गभारोको समस्या सुरु भएको केही वर्ष बिते पनि त्योसमेत नियन्त्रणमा आउन सकेको छैन । कफीको बोट वरपर रुख–बिरुवा रोपेर हरियाली कायम गर्ने, बोट काँटछाँट गर्नेसँगै जैविक औषधिको प्रयोगबाट गभारोको नियन्त्रण गर्न सकिन्छ ।

खुल्लारुपमा रहने कफीका बोटमा लागेको रोग अन्यत्र सर्ने हुँदा जैविक प्रविधिबाट उपचार गर्न एउटाको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै किसान क्रियाशिल हुनुपर्नेमा उनले जोड दिए ।

कफीखेतीमा संलग्न किसानको सङ्ख्या कम नभए पनि रोगका कारण तिनमा आकर्षण कम हुँदै गएको छ । पहिले धेरै क्षेत्रफलमा कफी लगाउने किसानले अहिले कम गरेका छन् ।

नयाँ बिरुवा बिक्रीमा पनि घटन थालेको छ । गैरसरकारी संस्थाले जिल्लाको कफी विकासमा काम गर्न छाडेका छन् । उनले भने – “परियोजना हुँदासम्म उत्साहित भएकाहरु पनि पछि बेवास्ता गर्नेसमेत पाइन्छ ।”

ललितपुरको कफी जर्मनी र जापानमा निर्यात हुने गरेको छ । जर्मनीमा १२ टन र जापानमा २ टन कफी निर्यात हुने गरेको छ । विदेश निर्यात गर्दा किसानले प्रतिकिलो ८ डलर हातमा पाउँछन् ।

ललितपुरको ठूला दुर्लुङ, आश्राङ, गिम्दी, प्युटार, भट्टेडाँडा, माल्टा, बुखेल, चन्दनपुरमा कफीको उत्पादन हुँदै आएको छ । खाद्य बालीसमेत राम्रो उत्पादन नहुने जिल्लाको डाँडापारिका गाविसमा किसानले कफीखेतीबाट राम्रो आम्दानी गर्दै आएका थिए । किसानले कृषि सहकारीमार्फत कफीको सङ्कलन गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर