भैरहवास्थित भीम अस्पतालले एम्बुलेन्स सेवा सुरु गरेको छ । जिल्लाको सबैभन्दा पुरानो सो अस्पतालमा बिहिबारदेखि एम्बुलेन्स सेवा सुरु भएको हो ।
अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको एक कार्यक्रमका बीच वैदिक विधिमार्फत पूजापाठ गरी अस्पताल विकास समितिका अध्यक्ष हितराज पन्थी र मेडिकल सुपरिटेन्डेन डा अनन्तकुमार शर्माले शुभारम्भ गरे ।
विसं १९९० मा स्थापना भई सञ्चालनमा आएको उक्त अस्पतालले दशकौँदेखि एम्बुलेन्स सञ्चालन गर्न खोजे पनि विभिन्न कारणले सञ्चालन गर्न सकेको थिएन ।
अस्पतालमा दशकौँदेखि चालकको दरबन्दी रही नियमित तलब खाँदै आएका थिए । एम्बुलेन्स सञ्चालनसँगै दशकौंसम्म बेकाम बनेका चालकले पनि काम पाएका छन् ।
भारत सरकारले आफ्नो स्वतन्त्र दिवसको अवसरमा सहयोग स्वरुप उक्त एम्बलेन्स अस्पताललाई प्रदान गरेको थियो । २४सैं घन्टा सञ्चालनमा आउने उक्त एम्बुलेन्सले सरकारबाट राजस्व छुट पाएको छ ।