आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन करिब ६ वर्षअघि उनलाई परिवार, सुझाएका थिए । उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल भएका ३२ वर्षीय विज्ञान ढुङ्गानालाई यस्तो सुझाव दिनेलाई लाग्यो– ‘अब योसँग विदेश जानुको विकल्प छैन ।’
कुखुरापालन, यातायात व्यवसायलगायतबाट घाटा व्यहोरेका उनलाई कता–कता विदेश गर्इ पैसा कमाएर चाँडै उक्सिने चाह नपलाएको पनि होइन । उनले त्यसबारे धेरै सोचे र अन्ततः निष्कर्ष निकाले– “पराधीन भई जिउँदै नुनिला आशुँका ढिका ! जिउनुभन्दा निको हुन्छ तातो गाली कता–कता !”
यही सोचका साथ ढुङ्गानाले उर्लाबारी–५ भिँगाबारीस्थित आफ्नै घर आसपासको २ कठ्ठा जग्गामा गाईपालन व्यवसाय सुरु गरे । कृषि विकास बैंकबाट ५० लाख रूपैयाँ ऋण लिएर सुरु गरेका उनको व्यवसाय छैटौं वर्षमा प्रवेश गरिसकेको छ । ‘श्री माता पार्वतीदेवी एन्ड आविष्कार गोशाला क्याटल फार्मिङ रिसर्च सेन्टर’ नाम दिइएको गोठमा अहिले साना–ठूला गरी ३२ गाई छन्, जसमध्ये १२ वटा दुहुना छन् । गाईले दैनिक १ सय २० लिटर दूध दिन्छन् । दूध प्रतिलिटर ४२ रूपैयाँका दरले बिक्री हुन्छ । मासिक १० केजी घिउ बिक्री हुन्छ । प्रतिकेजी घिउको ६ सय रूपैयाँ पर्छ ।
वार्षिक १ लाख रूपैयाँको त मल मात्रै बिक्री हुने गरेको ढुङ्गाना बताउँछन् । भन्छन्– “मल बिक्री गर्न बजारसम्म धाउनु पर्दैन, तरकारी खेती गर्नेले घरमै लिन आउँछन् ।” उनी गाई किनबेचबाट पनि नाफा कमाउँछन् । ६० हजार रूपैयाँदेखि १ लाख ५० हजारसम्ममा गार्इकाे बेचविखन गरिन्छ । बाच्छाबाच्छीको समेत बिक्री हुन्छ ।
गाईको नश्ल सुधारका लागि भनेर उनी आफैंले ‘अमेरिकन होलेस्टियन फिजिसियन’ जातको गोरु पालेका छन् । त्यो गोरुबाट गाउँघरका करिब २० वटा गाई ब्याउने हुन्छन्, एउटा गाई ब्याउने भएवापत गोरुमालिकलार्इ ७ सय रूपैयाँ आम्दानी हुन्छ । यी सबै जोड्दा मनग्य आम्दानी देखिन्छ । आम्दानीकाे करिव ६० प्रतिशत खर्च गोठ व्यवस्थापनमै लाग्ने गरेको ढुङ्गानाको भनाइ छ । कूल लागतमध्ये ३२ लाख रूपैयाँ खर्च दानापानीलगायत गोठ व्यवस्थापनमा लागेको छ भने वार्षिक ७० देखि ७२ हजार रूपैयाँसम्म औषधोपचारमा लाग्ने गरेको छ । २ जना कामदारलाई लाग्ने खर्च छुट्टै छ ।
आम्दानी र खर्चको हिसाब गरेपछि ढुङ्गानाले भने– “घरकै भात खाएर महिनाको ५०–६० हजार चोखो बच्दोरहेछ ।” त्यसो त कृषि विकास बैंकबाट लिएको ऋणमध्ये ३५ लाख रूपैयाँ चुक्ता भइसकेको छ भने अब तिर्न १५ लाख रूपैयाँ मात्र बाँकी छ । त्यो पनि चाँडै चुक्ता गर्ने लक्ष्य राखेको ढुङ्गानाले सुनाए ।
१ सय गाई पाल्ने दीर्घकालीन योजना बुनेका ढुङ्गानाले भने– “यसै ठाउँमा आधुनिक प्रविधि भित्र्याएर यही पेशालाई परिमार्जन गर्दै अरुलाई पनि रोजगारी दिने मेरो योजना छ ।” उनलाई राजधानी माइती भएर मोफसललाई कर्मथलो बनाएकी श्रीमती भावनासहितका सबै परिवारका सदस्यले साथ दिइरहेका छन् र काममा सघाइरहेका छन् ।
यसबाहेक ढुङ्गानाले केही समययता करिब ३ लाख रूपैयाँको लगानीमा पक्षी व्यवसाय पनि सुरु गरेका छन्, जहाँ २ सय बट्टाई, १ सय ५० चिनी हाँस, ६० हिले हाँस, २४ टर्की, १५ चिनी हाँस र १४ वटा राजहंश छन् । तर, यिनीहरुले अहिलेसम्म बजार पाएका छैनन् । “बिक्री हुँदैन, त्यसैले घरमै काटेर खाने गरेका छौं” उनले भने ।
उनले विभिन्न बोटविरुवा, बिऊबिजन लगाउनाका साथै अन्य किसानका लागि कृषिसम्बन्धी परामर्श समेत सित्तैंमा दिने गरेका छन् । उनी भन्छन्– “१ हजार ५ सय बिरुवा लगाइसकें । मेरो जीवनकालमा यो तीन बिगाहा जग्गा सबैमा ४ हजार बिरुवा लगाउने लक्ष्य छ ।”
व्यवसाय सञ्चालन गरेबापत राज्यलाई वार्षिक २५ हजार रूपैयाँ राजश्व तिर्ने गरेका उनले सरकारी तबरबाट कुनै सुविधा नपाइएको गुनासो गरे । सरकारले आफूजस्ता किसानलाई अनुदान सहयोग गरे सस्तो रोजगारीका लागि विदेश जाने क्रम रोकिने उनको तर्क छ । उनी भन्छन्– “स्वावलम्बी किसानलाई सरकारले गाई निःशुल्क देओस् । त्यसवापत केही लेओस् ।”
ठाउँ हेरेर दूधको दाम फरक फरक हुनाले पनि किसान मारमा परिरहेको उनको गुनासो छ । ढुङ्गाना भन्छन् – “विराटनगरमा सस्तोमा दाना पाइन्छ तर दूध महँगोमा बिक्छ तर यहाँ दाना महँगोमा किन्नुपर्छ र यसको तुलनामा दूध सस्तोमा बेच्नुपर्छ ।” बारम्बार हुने गरेको ‘मिल्क होलिडे’ का कारण पनि किसानहरु मारमा परेको उनको गुनासो छ ।
मदन राई, उपेन्द्रकान्त झाजस्ता कृषिविज्ञले राजधानीका मिडिया हाउसमा बसेर कृषिक्रान्तिका गफ गरेको सुनेका ढुङ्गानालाई उनीहरुसँग प्रत्यक्ष भेटेर परामर्श लिने रहर भए पनि पूरा हुन सकेको छैन । उनले भने– “सरकारी तहका ठूला मान्छे वास्तविक किसानसम्मै नपुगेसम्म कृषिक्रान्ति हुन्न ।”
दीर्घकालीन लक्ष्यका साथ कृषि पेशामा होमिएका ढुङ्गानालाई धेरैले आफ्नो पदचिह्न पछ्याएकामा गर्व छ । उनका अनुसार विदेसिने सोचाइ बुनेका सहित १० भन्दा बढी व्यक्तिले उनको पदचिह्न पछ्याएर कृषि तथा पशुपालन व्यवसाय सुरु गरेका छन् । घरमै उत्पादन भएको दूध खाएमा स्वस्थ र तन्दुरुस्त भइने तर्क राख्दै उनले भने– “जागिर खाँदा तलब लिन महिना दिन कुर्नुपर्छ तर गाई पालेर दूध बेचेमा दिनदिनै आम्दानी हुन्छ ।”
(सबै फोटो फाइल तस्बिर)