जिल्ला अस्पताल इलाममा मुटुरोगसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
शिविरमा मुटुरोगका बिरामीलाई मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालासहित १२ जना चिकित्सकको टोलीले सेवा दिएका थिए ।
शिविरमा २१० जनाको मुटुको इको, १२० जनाको इसिजी, मुटु परीक्षण गरी औषधि वितरण गरिएको थियो ।
शिविरमा इलामसहित पाँचथर र ताप्लेजुङका बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविर समापन अवसरमा बोल्दै डा कोइरालाले पैसाको अभावका कारण कोही पनि नेपालीलाई अकालमै मर्न नदिने र त्यस्ता जटिल किसिमका रोगीलाई काठमाडौँमा बोलाएर निःशुल्क सेवा दिइने बताए ।
करुणा फाउण्डेसन नेपालको आयोजना र मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँ, इलाम अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, इलाम उद्योग वाणिज्य सङ्घ तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा शिविर सञ्चालन भएको शिविरमा ४२६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
सरकारले १५ वर्षमुनिका बालबच्चा र ७५ वर्षमाथिका वृद्धवृद्धालाई मुटुरोगसम्बन्धी निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको छ भने १६ वर्षदेखि ७४ वर्ष उमेर समूहका बिरामीलाई रु एक लाखसम्म निःशुल्क सेवा दिने गरेको छ । शिविरमा आएकामध्ये मुटुरोगसम्बन्धी २० जना रोगीलाई उपचारका लागि काठमाडौँ बोलाइएको छ ।