अधिकांश समय भारतको पञ्जाबमा रोजगारी गरेका गडराया गाविस– ४ का ६० वर्षीय डबु सार्की यतिबेला घरमै बसेर आम्दानी गरिरहेका छन् ।
घरमा खान लगाउन नपुग्ने भएपछि १० वर्षको उमेरमा बाबुसँगै भारत गएर रोजगारी गरेका सार्कीलाई अहिले पछुतो लागिरहेको छ । “घरमै लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भनेर थाहा पाएको भए भारतमा समय बिताउने थिइन,” उनले भने– “उहिल्यै यस्तो काम गरेको भए मनग्य आम्दानी गर्न सकिने थियो ।”
भारतबाट शरीरमा लगाएको १ जोर लुगा बाहेक केही ल्याउन नसकेको सार्की बताउछन् । उनले आफूसँग भएको ३ रोपनी तथा अरु २ रोपनी जमिन भाडामा लिएर तरकारीखेती गरिरहेका छन् ।
“तरकारीबाट वार्षिक १ लाख ५० हजार रूपैयाँसम्म आम्दानी हुन्छ,” उनले भने । गाउँकै सहकारीबाट मासिक ३ प्रतिशत ब्याजमा २५ हजार रूपैयाँ रकम लिई उनले तरकारीखेती सुरु गरेका हुन । सार्कीले अहिले ‘एक घर एक बारी’ भन्दै बर्सेनि रायो, काउली, प्याज र गोलभेँडाका बिरुवा आफनो टोलमा वितरण गर्दै आएका छन् ।
गाउँले सबै मुला र आलुको तरकारीमा निर्भर थिए । गोलभेंडा, काउली, रायो र प्याज लगाउने चलन थिएन । सार्कीले लगाउन थालेपछि उनकै सिको गरेर गाउँका अरुले पनि तरकारीखेती गर्न थालेका स्थानीयवासी हस्तु सुनार बताउछन् ।
“गाउँमा अहिले युवाको तरकारीखेतीमा आकर्षण बढ्दै गएको छ,” उनले भने । तमैल बजार, कालुखेती र घाँट खोला बजारमा गडरायाका दलित परिवारले तरकारी बिक्री गर्दैैआएका छन् । उनीहरुले तरकारी पिठ्ठ्युमा बोकेर बजारसम्म पुर्याउने गरेका छन् ।
यसैगरी गडराय– ९ गोर्खाली गाउँका ३९ वर्षीय चन्द्रबहादुर सिंहले गाउँमै नर्सरी स्थापना गरी २५ हजार स्याउको तथा २० हजार दाँते ओखरका बिरुवा उत्पादन गरेका छन् । “वार्षिक ५ लाखदेखि ६ लाख रूपैयाँसम्म घरमै बसिबसी आम्दानी गर्दैआएको छु,” उनले भने ।
उनी गाउँकै विद्यालयमा निजी स्रोतबाट शिक्षक समेत छन् । “शिक्षण पेसाबाट ४ वर्षमा कमाउने पैंसो नर्सरीबाट १ वर्षमै कमाउन सकियो,” उनले भने । शिक्षण पेसामा भन्दा कृषि पेसामा भविष्य रहेको उनी बताउछन् ।