अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ ।
हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बिहान १० बजेतिर आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले जानकारी दिए । “दुर्भाग्यवस जौजाङ प्रान्तमा आज भएको अप्रिय घटनामा ६ जना हाम्रा कर्मचारीको मृत्यु भएको छ,” उनले संवाददातासँग भने ।
जौजाङ प्रान्तका गभर्नर लुटफुल्लह अजिजले पनि बुधबार बिहान भएको घटनाको पुष्टि गरेका छन् । “इस्लामिक स्टेट (आईएस) समर्थित लडाकुहरुको समूहले अन्तर्राष्ट्रिय रेडक्रसका ८ जना कर्मचारीलाई अपहरण गरेकोमा ६ जना मृत्यु भएको अवस्थामा भेटिएका थिए भने २ जना अज्ञात अवस्थामा रहेका छन्” गभर्नर अजिजले भने ।
घटनाका पीडित सबै जना अफगानिस्तानकै रहेका छन् । आक्रमणकारीहरुको खोजीका लागि प्रहरीले सुरक्षा कारबाही कडा र तीब्र बनाएको बताइएको छ । घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरतर्फ पर्दछ ।