पर्यटकीय क्षेत्र तालतलैयाको बाल उद्यान क्षेत्रभित्र रहेको चिडियाघरमा राखिएका पंक्षीमा बर्डफ्लुको सङ्क्रमण भेटिएको छ ।
क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रीय प्रयोगशालामा मरेका पंक्षीको परीक्षणबाट बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला पशु कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख शिवनारायण महतोले यही फागुन २३ केन्द्रीय प्रयोगशालाले बर्डफ्लु भएको प्रमाणित गरेपछि सतर्कता अपनाइएको बताए।
सङ्क्रमण मानिसमा सर्नबाट रोक्न कम्तिमा एक महिनाका लागि चिडियाघर बन्द गरिएको छ । मरेका पंक्षीलाई सुरक्षित रुपमा गाड्ने काम पनि भइरहेको उनले जानकारी दिए ।
एक सातादेखि लगातार चरा मर्न थालेपछि बर्डफ्लुको आशङ्कामा बालउद्यान बन्द गरिएको थियो । संरक्षण समितिले चरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयमार्फत मरेका पंक्षी परीक्षणका लागि यही फागुन १९ गते क्षेत्रीय र केन्द्रीय प्रयोगशाला पठाएको थियो ।
तालतलैया विकास तथा संरक्षण समितिका महासचिव रमेश अधिकारीका अनुसार एक साताभित्र संरक्षित टर्की, मयुर, हुचिल, राजहाँस, चरी बाघ, वन बिरालो र गिनी पिङ मरेका छन् । उक्त चिडियाघरमा दुर्लभ पंक्षीसहित २२ प्रजातिका पंक्षी संरक्षण गरेर राखिएको छ ।
तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले भने आफूहरुलाई पशु कार्यालयले बर्डफ्लु प्रमाणित भएको जानकारी नदिएको बताए ।