
नुवाकोटमा यस वर्ष १ अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७सय मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए। उनका अनुसार गत वर्ष ८७ करोड बराबरको तथा अघिल्लो वर्ष ८५ करोड बराबरको आलु उत्पादन भएको थियो ।
“अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,” डा गैरेले भने – “किसानले व्यावसायिक रुपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रुपमा अवलम्बन गर्दा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छौं ।” जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा अहिले आलुको मूल्य प्रतिकिलो १३ देखि १५ मा कारोबार हुँदा किसान प्रतिकिलो ५ रुपैयाँसम्म नाफा गर्न सफल भएका खानीगाउँका भीमप्रसाद ढकाल बताए । “व्यापारी आलु खरिद गर्न खेतमै आउने गरेकाले बजारको समस्या छैन,” ढकालले भने ।
जिल्लामा दुई याममा गरी ४हजार ३सय हेक्टरमा आलु लगाएको छ । प्रतिहेक्टर करिब १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा. गैरेले बताए। “अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ,” उनले भने । जिल्लाको प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी रहेको छ । जिल्लाको माथिल्लो क्षेत्रका करिब ८ सय हेक्टरमा लगाइएको बर्खे आलु भदौ महिनामा नौ हजार ४सय उत्पादन भएको थियो । फागुन÷चैतमा उत्पादन हुनेगरी ३ हजार ६ सय हेक्टरमा लगाइएको आलु ६३ हजार नौ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । उक्त परिमाण गत वर्षभन्दा ८ हजार मेट्रिक टन बढी हो ।
आलुखेतीका लागि सुहाउँदो हावापानी भएकाले जिल्लामा कार्डिनल, एमएस ४२ (निलो), जनकदेव, कुर्फिज्योति जात बढी लगाइन्छ । शीतभण्डारण (कोल्ड स्टोरेज)को अभावका कारण आफू अनुकूलको मूल्य नपाएको किसानले गुनासो गरेका छन् । व्यापारीले अहिले किसानलाई प्रतिकिलो १५ सम्म खेतबारीमै मूल्य दिने गरेका छन् । तर त्यही आलु उपभोक्ताको घरसम्म पुर्याउँदा किसानले दोब्बर मूल्य पाउने गरेका ढिकुरेका किसान नारायण धमलाले बताए । जिल्लाको चौघडा, खानीगाउँ, गणेशस्थान, नर्जामण्डप, थानसिंह, खरानीटार, बेलकोट, मदानपुरलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लामा उत्पादन भएको आलु खरिद गर्न काठमाडाैँ, तनहुँ, पोखरा, बुटवलका व्यापारी आउने गरेका छन् ।