newskoseli.Com

धेरैलाई वास्ता हुन छाडेको खुदोको यस्तो छ महिमा !

पहाडी क्षेत्रमा खेतबारीको फसल भित्र्याएर फुर्सदिलो हुने समय भए पनि यहाँको एउटा फाँटका किसानलाई भने यतिखेर खुदो उत्पादन र बिक्री गर्ने चटारो छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ ढोडबेंसी फाँटका कृषकलाई यस याममा उखु काट्ने, पेल्ने, रसेटोमा खुदो पकाउने र बिक्री गर्ने काममा भ्याइनभ्याई छ । सिँचाइको अभावका कारण मकै, भटमास, तोरी, मसुरोलगायतका विभिन्न अन्न तथा दलहन र तेलहन बाली लगाउँदा एक रोपनी जग्गाबाट बढीमा ६ हजार मात्र आम्दानी हुने तर उखुबाट ५० हजार रूपैयाँ मूल्य बराबरको खुदो उत्पादन हुने स्थानीय कृषक विष्णुमाया भुजेल बताउँछिन् । त्यसकारण उखु खेतीमा जोड दिइएको उनको भनाइ छ ।

पानी कम परेका कारण गत वर्षको तुलनामा यस वर्ष कम उत्पादन हुने दुःखेसो सुनाउँदै उनले भनिन्– “पाँच रोपनी जग्गामा लगाएको उखुबाट लगभग ६० टिन खुदो उत्पादन हुने र बिक्रीबाट १ लाख ८० हजार रूपैयाँ आम्दानी हुने अनुमान गरेकी छु ।”

उखुलाई वर्षमा तीन पटक गोडमेल गर्नुपर्ने र गोड्दा उखुको पातले पाछ्ने भएकाले शारीरिक परिश्रम बढी हुने गर्छ । युवा वर्गलाई त्यसतर्फ आकर्षण गर्न नसक्दा व्यवसाय लोप हुने अवस्थामा पुगेको रोजगारको सिलसिलामा एक दशक मलेसियामा सुरक्षागार्ड बसेर नेपाल फर्केका स्थानीयवासी लक्ष्मण ओझा बताउँछन् ।

नेपाली सेनाबाट अवकाश प्राप्त उनी दुई रोपनी जग्गामा लगाइएको उखु खेतीबाट यस वर्ष ८० हजार रूपैयाँभन्दा बढी आम्दानी हुनेमा आशावादी छन् । खेती गर्दा वा काट्दा ज्याला नभई आलोपालो (पर्म) का आधारमा गर्ने गरिन्छ । उखुबाट उत्पादिन खुदो बिक्रीबाट राम्राे आम्दानी हुनुका साथै पशुका लागि घाँस समेत पोषिलो हुने अर्की कृषक रेखा धमलाको धारणा छ ।

प्राचीनकालदेखि खुदो गाउँका रुपमा परिचित ढोडबेंसी फाँटको लगभग १ सय रोपनी क्षेत्रफलमा व्यावसायिक उखु खेती गरिँदै आइएको छ । खुदो बिक्रीबाट सिंगो गाउँमा यस वर्ष ३० लाख रूपैयाँभन्दा बढी आम्दानी हुने स्थानीयवासी अगुवा कृषक लालबहादुर भुजेलले बताए ।

उनका अनुसार बारीमा लगाएपछि दुई वर्षसम्म उत्पादन लिन सकिने उखुलाई खासै मेहनत गर्नु नपर्ने, रोग र कीराले पनि दुःख नदिने अनि खरिदका लागि व्यापारी घरमै आउने हुँदा उत्पादित खुदो बिक्री हुँदैन कि भन्ने चिन्ता छैन । त्यसकारण उखु खेतीले यस क्षेत्रमा परम्परादेखि नै निरन्तरता पाउँदै आएको हो ।

मौसम राम्रो भएको वर्षमा एक रोपनी जग्गामा ५० हजार रूपैयाँ मूल्य बराबरको १५ देखि १८ टिनसम्म खुदो उत्पादन हुने गरेको बताउँदै उनले भने– “३० माना जाने प्रतिटिन ३ हजार तथा १ माना खुदोको १ सय रूपैयाँ बिक्री मूल्य कायम गरिएको छ ।”

पहिला कमलो जातको उखु लगाउँदा भालु, स्याल, बाँदर, कुकुरलगायतका जनावरले खाएर नष्ट गर्ने गरेको र त्यसपछि कडा जातको लगाउँदा उखुको लाँक्रोभित्र रातो देखिएका कारण पुराना दुवै बीउलाई विस्थापित गरी १० वर्षअघिदेखि बाँसकडा जातको उखुको बीउ लगाउन थालिएको हो । यो जातको उखुले राम्रो उत्पादन दिने गरेको भुजेल बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा वि.सं. २०७१ मा वीरगञ्जबाट ल्याइएको बोल्क ९४१८०, सीओ ०२३३, सीओ ९८२३१, जीओ १४१ तथा २०७३ मा ल्याइएको सीओ ०२३८, सीओएक्स १५२, बीओ १५०, सीओएक्स ९६२६८, सीओभी ८५ (गेमरा) हाइब्रिड जातका उखुको बीउ लगाउँदा उत्पादन बढ्नुको सट्टा बारीमै सुकेर ठूलो नोक्सान व्यहोर्नु परेको अनुभव ती कृषकले सुनाए ।

परम्परागतरुपमा गोरुको सहायताले कोलमा उखु पेल्दा ३ घन्टामा एक टिन रस उत्पादन हुने गरेको बताउँदै उनले भने– “ढोडबेंसी फाँटको तल्लो स्यालदुलो र माथिल्लो भेग पन्थेकुनोमा छुट्टाछुट्टै दुई वटा विद्युतीय आधुनिक मेसिन जडान गरेर सञ्चालनमा ल्याइएपछि घन्टामा ५ टिन रस उत्पादन हुने गरेको छ ।”

भारतमा निर्मित दुवै मेसिन कूल ३ लाख रूपैयाँमा खरिद गरिएका हुन् । नेपाल विद्युत् प्राधिकरणले अस्थायी मिटर र थ्री फेज लाइन जडान गरिदिएपछि सुविधा पुगेको छ र मिटरमा उठेको रकम मेसिन प्रयोग गरेको आधारमा दामासाहीले तिर्ने व्यवस्था मिलाइएको छ ।

प्राङ्गारिक रुपमा उत्पादित उखुबाट बनेको तातो खुदो पिउँदा शरीरमा गढेको चिसो बाहिर निस्कने र लगातार लाग्ने रुघाखोकी समेत सन्चो हुने हुँदा मुलुकका विभिन्न स्थानबाट तातो खुदो पिउन मात्र पनि पारखीहरू रसेटोमै आउने गरेको कृषक बताउँछन् ।

विगतमा प्रत्येक घरमा हुने विवाह, व्रतबन्धलगायत शुभकार्य, पुसेपन्ध्र र माघेसङ्क्रान्तिजस्ता चाडपर्वमा बढी प्रयोग हुने खुदोको महत्त्वबारे जानकारी दिन नसक्दा व्यावसायिक उखु खेतीतर्फ कृषकको आकर्षण बढ्न नसकेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी बताउँछन् ।

संघ खुदोबाट अन्य विभिन्न परिकार बनाएर बजारमा ल्याउन कृषकलाई प्रेरित गर्ने सोचमा रहेको छ । सर्वसाधारण जनतामा खुदो खाने बानी पार्न सकिए उखु व्यवसाय फस्टाउने उनी बताउँछन् ।

पर्यटकीय नगरी पोखरामा हुने मेला र महोत्सवमा ग्रामीण क्षेत्रका कृषि उत्पादनले महत्त्व पाउने हो भने यसबाट बजारको सहज उपलब्धताका साथै कृषकको आर्थिकस्तर उकास्न पनि टेवा पुग्ने कुरा निर्विवाद छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर