जिल्ला अस्पताल बैतडीमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएयता रगत खोज्न समस्या हुँदै आएको छ ।
रक्त सञ्चार केन्द्र्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छन् । रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।
रक्त सञ्चारको सुविधा नहँुदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको छ । चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । विकल्पमा सेना र प्रहरी कार्यालय जान्छन् । त्यहाँ नपाए अन्य उपाय नै छैन । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा सञ्चय गर्नसक्ने अवस्था छैन । “अस्पताल पुग्ने बित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछौँ ।” जिल्ला अस्पतालका प्रमुख डा. गुणराज अवस्थीले भने, “सेना, प्रहरी, स्वास्थ्कर्मीबाट जुटाउन नसके रिफर गर्नुपर्ने अवस्था छ ।”
पछिल्लो समय अस्पतालको सेवामा सुधार आएपछि दार्चुला, बझाङबाट समेत उपचारका लागि यहाँ आउने गरेका छन् । आकस्मिक रक्त सञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको हो । जिल्ला अस्पतालमा जटिल प्रसूति सेवा सुरु भएपछि रगतको आवश्यकता बढेको हो । शल्यक्रिया गरेर प्रसूति गराएकालाई रगत आवश्यक हुन्छ ।
रगत जुटाउन नसक्दा ग्रामीण क्षेत्रबाट उपचारका लागि आएका बिचल्लीमा पर्दै आएका छन् । रक्तदाता नपाएर बिरामीलाई रिफर गर्नुपर्ने अवस्था कम गर्न सुत्केरी हुन अस्पताल आउने महिलासँगै श्रीमान् वा जिम्मेवार पुरुष आउनु पर्ने नियम बनाएको छ ।
पटकपटक रक्त सञ्चार केन्द्र बनाउन छलफल गरे पनि अन्य सरोकारवालाले चासो नदेखाउने गरेको स्वास्थ्य कार्यालयको आरोप रहेको छ । स्वास्थ्य कार्यालयले रगतको व्यवस्था गर्न गत वर्ष जिल्लास्थित सरोकारवालासँगको अन्तक्र्रियामा राजनीतिक दल, कर्मचारी र अगुवाले आफ्नो संस्थाको तर्फबाट रक्तदान गर्न चाहनेको विवरण दिने प्रतिबद्धता जनाएका थिए । अहिलेसम्म कसैले चासो नदिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीयमा रक्तदान गरे शारीरिक रुपमा कमजोर हुने अन्धविश्वास छ ।
आफन्तलाई आवश्यक भएका अवस्थामा समेत रगत दिन तयार नहुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । समुदाय र विद्यालय तहमा रक्तदानसम्बन्धी चेतनामूलक कार्यक्रमसँगै रक्तदाताको सूची अति आवश्यक भएको डा. अवस्थीको भनाइ रहेको छ । रासस