
निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठी समेत भयभीत छन्, कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा–जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् ।
भीदत्त नगरपालिका– २, उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् ।
‘हामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं,’ ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्– ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन, स्कुल पनि नआउँजस्तो लाग्छ ।’ जानकी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् ।
कक्षाकोठा अगाडि निर्मलाले बनाएका केही चित्र छन्, भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनकै यादले सताउने सहपाठीहरूको भनाइ छ । निर्मला र जानकीले शिक्षका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरु दुवैको सोच मिल्थ्यो ।
कतिपय विद्यार्थी शव भेटिएको उखुबारी छेउको बाटो हिँड्नै डराउँछन् । ‘त्यहाँ पुग्नेवित्तिकै झसंग भइन्छ’– भीमदत्त नगरपालिका– १८, भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्– ‘एक्लै आउन डर लागेर साथीसँग समूहमा मात्रै आउँछौं ।’
निर्मला मिलनसार थिइन्, शिक्षकमाझ पनि उनी अनुशासित र लगनशील विद्यार्थीमा गनिन्थिन् । ‘एक महिनासम्म त सरहरुले पढाउनै सक्नुभएन,’ लक्ष्मीले भनिन्– ‘जतिबेला पनि त्यही झल्को आएर उत्तरपुस्तिका समेत जाँच गर्न सक्नुभएन ।’
निर्मलाको हत्यापछि उनी पढ्ने स्कुलको त्रासदीपूर्ण वातावरण बारेको यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।