
काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग ‘प्रेम’ सम्बन्धमा परिन् । उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले । फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो ।
छात्रले ‘प्रेमिका’ लाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदान–प्रदान गर्न थाले ।
एक दिन ती छात्राका बुबाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए । त्यसको कारण थियो– १३ वर्षीया छोरीको ‘ब्वाइफ्रेन्ड’ सँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । त्यसपछि ती बाबुले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालय समेत परिवर्तन गरिदिए ।
अभिभावकका कारण सम्बन्ध तोडिएपछि ती छात्रले ‘प्रेमिका’ सँग भएका अन्तरंग तस्बिर फेसबुकबाट उनको अभिभावकको फेसबुकमा ‘ट्याग’ गरिदिए । तस्बिर सार्वजनिक भएपछि ती छात्राका बुबा छोरीलाई लिएर महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगे । महाशाखाले यस विषयमा आवश्यक छानबिन गरिरहेको जनाएको छ ।
अचेल बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोगका कारण उन्पन्न समस्या लिएर आउने अभिभावकको संख्या बढेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । महाशाखाअन्तर्गतको मुद्दा फाँटका प्रहरी निरीक्षक लीलाराज डाँगी बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताउँछन् ।
‘सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवती भएका छन्,’ उनले भने– ‘सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध न्यूनीकरण नगर्ने हो भने समाजमा भयावह स्थिति आउनेछ ।’
फेसबुककै कारण १३ वर्षीया किशोरीले भोग्नुपरेको तनावबारेको यो खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।