
वर्षात् हटेसँगै बिस्तारै दसैंको रौनकता सुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका– ४, मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दसैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी सेमकुमारी, बुहारी निना र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे ।
दोलही खोलाको किनारामा रातो माटो पाइने भएकाले उनीहरु त्यसैतर्फ लागे । माटो खनेर फर्कने समय भए पनि छोरी, बुहारी र नातिनी नफर्केपछि शिवचरण्को मनमा चिसो पसिसकेको थियो– कुनै दुर्घटना त भएन !
निनाको सानो चार वर्षीय छोराले आमा खोज्न थालिसकेको थियो । तर, उनीहरु फर्केनन् । केही बेरमै उनीहरु माटो खन्ने क्रममा पुरिएको खबर आयो । गाउँलेहरु पुग्दासम्म उनीहरुको निधन भइसकेको थियो ।
दसैंको स्वागत गर्ने तयारीस्वरुप घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको एकैसाथ मृत्यु भएपछि अहिले मौरीघाट शोकमा डुबेको छ । घटनालगत्तै बेहोस भएका शिवचरण र उनकी श्रीमती लामो समयपछि होसमा आए पनि परिवारसहित सिंगो गाउँ शोकमा डुबेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।