
पार्टीभित्र तेस्रो वरियतामा रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमै सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन् र पार्टीको निर्णय–प्रक्रियामा समेत विरोध जनाइरहेका छन् ।
संसदमा पनि उनले भने– ‘देश डुब्नै आँट्यो ।’ तर, उनी आफैंचाहिँ ४ महिनामा ६ पटक विदेश पुगिसके । उनी आफैं सम्मिलित केन्द्रीय सचिवालयले नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल भनेविदेशमै थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेशमोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ । नेकपाका एक नेताले प्रश्न गरे– ‘संकटको घडीमा किन घरीघरी विदेश जाने ? महिनामा कति दिन विदेश बस्ने ? भ्रमणका उपलब्धि के हुने ? त्यसबाट मुलुक र पार्टीले के–कति इज्जत–प्रतिष्ठा कमाए ? यसबारेमा अब उहाँ (नेपाल) ले सोच्नुपर्छ ।’
नेपालले पार्टीभित्र प्रश्न मात्रै उठाएको भन्दै उनले भने– ‘पार्टीमा बहस उठाउने मात्रै होइन, समाधानको खोजीमा पनि उहाँ (नेपाल) गम्भीर भएर लाग्नुपर्छ ।’ नेपाल आइतबार मात्रै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका छन् ।
जेठ ३ मा पार्टी एकता घोषणा भएयता उनको यो छैटौं विदेश भ्रमण हो । ३ महिनाको बीचमै चीन भ्रमण दोस्रो पटक हो । नेपालले चीनबाहेक ४ महिनामा अमेरिका, ब्राजिल, घाना र कम्बोडियाको भ्रमण गरिसकेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।