समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाली बिरामीका लागि तत्काल रक्तसेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा ‘ब्लड फर रोल्पा’ मोबाइल एप्लिकेसनको सुरुआत गरिएको छ ।
रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप्स’ सुरु गरिएको हो । जिल्लामा ब्लडबैंक नहुँदा अप्रेसनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने गरेको देखेर आफूहरूले युवाको सामाजिक दायित्व सम्झँदै अभियान थालनी गरेको अभियन्ताहरूले बताएका छन् ।
रोल्पाका ८ युवाको सहभागितामा सो अवधारणा ल्याइएको हो । आकस्मिक रूपमा रगतको आवश्यक परेको खण्डमा यो मोबाइल एप्समा रहेका व्यक्तिको सम्पर्क नम्बरबाट थप जानकारी लिन सकिन्छ । हालसम्म आकस्मिक रक्तदान गर्न इच्छुक ५० जनाको विवरण एप्समा राखिएको अभियन्ता विनोद डाँगीले बताए ।
एन्ड्रोइड मोबाइलमा यो एप्स डाउनलोड गरी आफूलाई आवश्यक परेको खण्डमा रगत भएको व्यक्तिलाई आफैंले फोन गरेर तुरुन्त बोलाउन सकिने बताइएको छ । उक्त एप्समा रहेका ६ जनाले हालसम्म रक्तदान गरिसकेका छन् ।
रगत नपाएर मर्नुपर्ने अवस्था भोग्दै आएका रोल्पालीका लागि अब त्यस्तो समस्या भोग्नु नपर्ने रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले बताए । जिल्लामा तत्काल ब्लडबैंक स्थापना हुन सक्ने अवस्था नभएकाले युवाको यो कदमले जिल्लावासीलाई ठूलो राहत पुग्ने उनले बताए ।
महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत डेलीभरीपूर्व रगत व्यवस्थापन गर्नुपर्ने भएकाले आफूहरूले सधैं यसको सकस भोग्दै आएकामा मोबाइल एप्लिकेसनपछि आफूहरूलाई पनि राहत भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश बुढाले बताए ।
आफ्नै कर्मचारी, नेपाली सेना आदिको सहयोगबाट रगत सङ्कलन गर्नुपर्ने बाध्यता रहेकामा अब भने केही सहजता हुने प्रतिक्रिया बुढाले दिए । मोबाइल एप्सलाई धेरैभन्दा धेरै नागरिकको पहुँचमा पुर्याइए मात्र अभियानले सार्थकता पाउने डाँगीले बताएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।