कुखुरापालन व्यवसायमा वार्षिक २० अर्ब रूपैयाँभन्दा बढी रकम विदेशिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा. तिलचन्द्र भट्टराईका अनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक १६ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिने गरेको छ । भटमास, मकै, हड्डीको धुलो, सूर्यमुखीको पिना, ढुटो, तेल निकालेपछिको पीना, क्याल्सियमलगायतका कच्चा पदार्थ भारत र अन्य देशबाट आयात गरिँदै आएको छ । ८० देखि ९० प्रतिशत भारतबाट तथा अरु तेस्रो मुलुकबाट आयात गरिन्छ ।
‘वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी औषधि र भ्याक्सिनका लागि तथा १ अर्ब रुपैयाँ उपकरण खरिद गर्न विदेशिन्छ’– डा. भट्टराईले भने । नेपालमा गत आर्थिक वर्षमा ११ लाखभन्दा बढी ब्वाइलर प्यारेन्ट चल्ला र १ लाख ८ हजार लेयर्स प्यारेन्ट चल्ला आयात गरिएको थियो, जसमा ६४ करोड रुपैयाँभन्दा बढी रकम खर्च हुने गर्दछ । लेयर्स प्यारेन्टका लागि ८ सय रुपैयाँ र ब्वाइलरका लागि ५ रुपैयाँ हाराहारी मूल्य पर्छ । डलरको मूल्य र समयअनुसार मूल्य घटबड हुने गर्छ ।
नेपालमा लेयर्स प्यारेन्ट उत्पादन हुँदैन भने ब्वाइलर प्यारेन्ट न्यून सङ्ख्यामा मात्र उत्पादन हुँदै आएको छ । माग धान्न नसकेपछि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार थाइल्याण्ड, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, जर्मनीलगायतका देशबाट नेपालमा प्यारेन्ट चल्ला आयात गरिन्छ । तिनै प्यारेन्टले पारेको अन्डालाई कोरलेर चल्ला उत्पादन गर्ने गरिन्छ । विस्टका अनुसार वार्षिक ६० अर्ब रूपैयाँभन्दा बढीको पोल्ट्रीजन्य उत्पादन नेपालमा बिक्री हुने गर्दछ । हालसम्म पोल्ट्रीजन्य उत्पादन निर्यात हुन सकेको छैन । राज्यको नीतिगत स्पष्टता नहुँदा आयात बढ्दै गएको र निर्यात हुन नसकेको विष्टले बताए ।
हरेक वर्ष व्यापार घाटा बढ्दै गएको छ । पछिल्ला वर्ष वातावरण अनुकूलित भवन बनाएर कुखुरा पाल्दा अधिकांश सामान विदेशबाट आयात गर्नु परेको बताउँछन् नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल । हाल दाना, भाँडा, अत्याधुनिक खोरमा राखिने उपकरण र चल्ला उत्पादन गर्ने उपकरण आयात गरिँदै आएको छ । दानामा ५० देखि ६० प्रतिशत मकै तथा १८ देखि २४ प्रतिशत भटमास प्रयोग हुन्छ, जुन नेपालमा सहजै उत्पादन गर्न सकिन्छ । नेपालका किसानलाई अनुदान दिएर बाँझो जग्गा प्रयोगमा ल्याउन सके र प्यारेन्ट चल्ला मागअनुसार यहीं उत्पादन गर्न सके पोल्ट्री क्षेत्रको व्यापार घाटा कम गर्न सकिने बताउँछन् अध्यक्ष कँडेल ।
नेपालमा भटमास र मकैको व्यावसायिक खेती गर्न सकेमा ७० प्रतिशत पोल्ट्रीको व्यापार घाटा कम गर्न सकिने बताउँछन् नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल । प्यारेन्ट चल्ला उत्पादन क्षमता स्वदेशमा बढाउन सकेमा थप १० प्रतिशत व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ । सरकारले बीउ मात्रै दिएर होइन, किसानलाई अनुगमनसहित आवश्यक सहयोग गर्न सकेमा बाँझो खेतमा मकै र भटमास लगाएर कृषि क्षेत्रको व्यापार घाटामा कमी ल्याउन सकिने उनले बताए ।
हाल नेपालमा ब्वाइलर चल्ला हप्तामा २५ देखि ३० लाख, लेयर्स चल्ला हप्तामा १ लाख ५० हजार, गिरिराज २ लाखदेखि २ लाख २५ हजार र प्यारेन्ट २० हजार उत्पादन हुँदै आएका छन् । पोल्ट्री क्षेत्रमा ७० अर्ब रूपैयाँभन्दा बढी लगानी भइरहेको छ ।